काठमाडौं । फोहोरबाट मोहर भनेजस्तै भक्तपुरको एउटा स्कुलका विद्यार्थीले खेर गएको सामान वस्तुहरुको उपयोगबाट नयाँं सामानहरु तयार पारेका छन् । तयार सामानहरुको शुक्रबार प्रदर्शन गरिएको छ ।
भक्तपुरको एभरेष्ट इगलिश स्कुलका विद्यार्थीले जाडो विदामा गृहकार्यको रुपमा दिएको खेर जाने सामान वस्तुहरुबाट बनेको सामानहरुको प्रदर्शनी गरिएको हो । विद्यार्थीले खेर जाने कागज, प्लाष्टिक, प्लाष्टिकका बोटल, सिसालगायतबाट नयाँं प्रयोग गर्न सकिने र सजावटका लागि राखिने सामानहरुको प्रदर्शनी गरेका छन् ।
उनीहरुले जुता, सामान राख्ने बक्स, नाइट लाइन (राति बाल्ने बती), कलम, पेन्सिल राख्ने कपलगायतका प्रयोग हुने सामानहरुका साथै सजावटमा राखिने विभिन्न सामानहरु बनाई प्रदर्शन गरेका हुन् । तीन वटा आर अर्थात् रिड्युस, रियुज र रिसाइकल भन्ने मन्त्रका साथ कार्यक्रम गर्दै आएको स्कुलले जनाएको छ ।
स्कुलको आयोजनामा भएको यस कार्यक्रमलाई वेष्ट फ्रम वेष्ट इक्जिविशन नामाकरण गरिएको छ । स्कुलमा अध्ययनरत छात्रछात्राहरुले खेर जाने वस्तुहरुबाट बनाइएका विभिन्न सामानहरुको एकदिने प्रदर्शनी भएको हो । स्कुलमा अध्ययनरत एक हजार भन्दा वढी विद्यार्थीले एक हजार भन्दा वढी प्रकारका सामानहरु बनाई प्रदर्शन गरिएको हो । आआफूले बनाएका सामानहरु स्कुलका सवै विद्यार्थीलाई लहरै लगिएर प्रदर्शनीको अवलोकन गराइएको थियो । विहान साढे दस बजेदेखि दुई बजेसम्म विद्यार्थीलाई पालैपालै प्रदर्शनीस्थलमा लगेर अवलोकन गराइएको थियो ।
छात्रछात्राहरुलाई क्रियटिभ बनाउन सहयोग गर्नुका साथै खेर जाने सामानलाई पनि उपयोग गर्न सकिन्छ भन्ने सन्देश दिन प्रत्येक वर्ष वर्षमा एक पटक यस्तो कार्यक्रम गर्दै आएको स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले बताए ।