
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएको झण्डै १ महिना समय हुनलाग्दा उनले मन्त्रीपरिषदको विस्तार गरेका छन् । आज मंगलबार प्रधानमन्त्री प्रचण्डले १६ जना मन्त्रीहरु थप गर्दै मन्त्रीपरिषद विस्तार गरेका हुन् । नयाँ विस्तारित मन्त्रीमण्डलमा अधिकांश नयाँ अनुहार आएका छन् । जसमध्ये शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको जिम्मेवारी राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले पाएका छन् ।
नवनियुक्त शिक्षामन्त्री खनाल तनहुँमा जन्मिएका हुन् । बुवा सरकारी जागिरे भएका कारण उनको बाल्यकालको उमेर बुवासँगै धेरै जिल्लामा अध्ययन गर्दै वितेको थियो । खनालले काठमाडौंको बनस्थलीबाट एसएलसी परीक्षा उत्तिर्ण गरेका थिए । उनले काठमाडौंको त्रिचन्द्र कलेजबाट आइएस्सी, अमेरिकाको ब्रिजपोर्ट युनिभर्सिटी विश्वविद्यालयबाट राजनैतिक अर्थशास्त्रमा स्नातक र अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका छन्। अहिले उनी टोखा १० काठमाडौंका स्थायी बासिन्दा हुन् ।
गत मंसिरमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट खनाल निर्वाचित भएका हुन् । विद्यार्थी जीवनदेखि नै विभिन्न सामाजिक तथा अतिरिक्त क्रियाकलापमा रुची राख्ने खनाल सामाजिक र शैक्षिक क्षेत्रका अभियन्ता र उद्यमीको रुपमा समेत परिचित छन् ।
खनालसँग सर्वोदय अभियानअन्तर्गत विश्वका केही मुलुकमा सामाजिक विकास र प्राकृतिक प्रकोप व्यवस्थापन सम्बन्धी काम गरेको अनुभव छ । उनले नेपालमा ‘टिच फर नेपाल’ संस्थाको सहसंस्थापक भएर सरकारी विद्यालयको क्षेत्रमा हजारौं विद्यार्थीहरुसँग काम गरेका थिए । जसले गर्दा उनी नेपालको शिक्षा क्षेत्रसँग पनि नजिकबाट परिचित रहेका छन् । ०७४ मा स्थानीय तहको निर्वाचन पश्चात उनले तुल्सीपुर उपमहानगरपालिका दाङको शिक्षा सल्लाहकार भएर पनि काम गरेका थिए । कोरोना महामारीको समयमा उनले साथीहरुसँग मिलेर ‘पिक एण्ड ड्रप’ नामको कम्पनी समेत स्थापना गरेर काम गरेका छन् ।
समयमा नै शिक्षा ऐन नबन्दा लाखौं विद्यार्थीहरुको भविष्यमा खेलबाड भइरहेको विषय उठाउँदै आएका खनालले नयाँ सरकारसँगै आँफैले सो जिम्मेवारी पाएका छन् । संघीय तहमा शिक्षा ऐन नबन्दा प्रदेश र स्थानीय तहमा समेत अन्यौलता भइरहेको छ । संसदमा बोल्न पाउँदा पहिलो दिन नै शिक्षाको विषयमा बोल्ने बताएका खनालले नेपालको शैक्षिक क्षेत्रमा रहेको भिमकाय समस्यालाई कसरी समाधान गर्छन, त्यो भने व्यवहारबाट नै हेर्नुपर्ने हुन्छ ।