काठमाडौं । कुनै बेला अब्बल र अग्रणी बैंकका रुपमा परिचित बैंक अफ काठमाण्डू (बिओके) अब सदाका लागि नसुनिने नाम बनेको छ । सोमबार ग्लोबल आइएमई बैंककै नामबाट दुई बैंकबीच एकीकृत कारोबार भएपछि बैंक अफ काठमाण्डू सदाका लागि नसुनिने नाम बनेको हो ।
मुलुकमा ८/१० वटा मात्रै बैंक थिए । जतिखेर बैंक खोल्नु भनेको ठूलो जोखिम मोल्नुको विषयका रुपमा लिइन्थ्यो । भएका बैंकहरुमा पनि विदेशी लगानी थियो । कतिपय बैंकको उच्च व्यवस्थापन नै विदेशबाट ल्याइन्थ्यो । त्यतिखेरै स्वदेशी पूर्ण लगानीमा स्थापना भएको बैंकमध्ये एक हो बैंक अफ काठमाण्डू ।
पूर्व अर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका चौथो गभर्नर स्वर्गीय यादवप्रसाद पन्तको नेतृत्वमा स्थापना भएको थियो बिओके । त्यतिखेर पन्तसँगै डम्बर बहादुर मल्ल, दिपक बोहरा लगायत चार/पाँच जना मिलेर बैंक अफ काठमाण्डू खोलेका थिए । त्यतिखेर थाइल्याण्डको सियाम कमर्सियल बैंकसँग ज्वाइन्ट भेन्चरका रुपमा सुरु भएको बिओकेको सुरुवाती दिनहरु निकै सुखद रहे । बिजनेसमा सर्वोत्कृष्ट नै रह्यो । टीम व्यवसायिक थियो । फरक–फरक क्षेत्रमा कार्यानुभव भएकाहरुको संलग्नता बैंकमा थियो । सञ्चालक सबै नीति निर्माण तहमा काम गरेकाहरु थिए । त्यसैले पनि बैंक अफ काठमाण्डू एक अब्बल बैंकका रुपमा परिचित थियो ।
वि.स २०५६ देखि २०६६ सालसम्म बैंकको बिजनेस राम्रै भयो । तर, पछि राष्ट्र बैंकले एकपछि अर्को बैंकलाई लाइसेन्स दियो । बैंकिङ बजार अस्वस्थ रुपमा अगाडि बढ्यो । व्यवसायिक रुपमा चलेको बैंक अफ काठमाण्डूलाई च्याउ जस्ता उम्रेका बैंकहरुका अगाडि केही लागेन । बैंकले खासै बिजनेस गर्न सकेन । बैंक स्थीर बन्दै अगाडि बढ्यो ।
त्यही बीचमा बैंक अफ काठमाण्डूका सञ्चालकहरुबीच विवाद बल्झियो । विवाद राष्ट्र बैंकसम्म पुग्यो । अकिकांश सञ्चालकको माग बैंकमा सीईओका रुमा काम गरिरहेका राधेश पन्तलाई हटाउनु थियो । १० वर्षसम्म बिओकेको प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशकको रुपमा राधेश पन्तले पनि काम गरेका थिए । जो यादवप्रसाद पन्तका छोरा हुन् । उनले सन् २००० देखि २००९ सम्म बिओकेको सीईओका रुपमा काम गरे । अहिले उनै पन्तले दुई बैंकबीच मर्जर सफल पार्नका लागि मर्जर समितिको संयोजक नै भएर काम गरे ।
बैंकमा सञ्चालकहरुबीच विवाद बढेको विषयले राष्ट्र बैंकसम्म प्रवेश पायो । राष्ट्र बैंकले मिल्न भन्यो । तर, बैंक सञ्चालकहरु नमिलेपछि राष्ट्र बैंकले सञ्चालक समिति विघटन गर्यो । र, आफ्नो पकडमा बैंकलाई लियो । ६ महिनापछि वार्षिक साधारणसभा गरेर नयाँ समिति आयो । राधेश पन्त बैंकको सीईओबाट बाहिरिए । बैंकले राम्रो नेतृत्व पाएन । सन् २०१० देखि नै हो बैंकले खासै प्रगति गर्न नसकेको ।
बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढेपछि राष्ट्र बैंकले मर्जरको नीति अगाडि सार्यो । त्यो नीतिको अनुसरण गर्दै बिओकेले २०७३ सालमा लुम्बिनी बैंकसँग मर्जर गर्यो । नाम बैंक अफ काठमाण्डू लुम्बिनी रह्यो । पछि लुम्बिनी हटाएर बैंक अफ काठमाण्डू मात्रै राखियो । लुम्बिनीसँग मर्जर गरेपछि पनि बिओकेका लागि सुखद रहेन । न लुम्बिनीबाट आएका सञ्चालकहरुले बैंकप्रति अपनत्व अपनाए नत बिओकेकै सञ्चालकले आफ्नो बैंक भएको महसुस गरे । बैंक झन-झन कमजोर बन्दै गयो । तर, बिओकेसँग तीन दशककको इतिहास छ । लामो अनुभव छ । र, विभिन्न समयमा भोगेका विभिन्न आरोह र अवरोहहरु छन् ।
करिब तीन दशक इतिहास बोकेको यो बैंकको नाम अब सदाका लागि सकिएको छ । बिओके भनेपछि धेरैले स्वर्गीय यादव प्रसाद पन्तलाई सम्झन्छन् । एक अब्बल र सफल अर्थशास्त्रीका रुपमा परिचित पन्तले नेपाली अर्थतन्त्रमा ठूलो टेवा पुर्याएका छन् । तर, विडम्वना, आज उनै पन्तले स्थापना गरेको बैंकको नाम रहेन तर खुसीको कुरा उनै पन्तले स्थापना गरेको बैंक ग्लोबल आइएमईसँग मर्जर गरेर देशकै ठूलो बैंक बनेको छ ।
ग्लोबल आइएमई बैंकसँग देश विदेशको बिजनेसको आइडिया छ । एग्रेसिभ बिजनेस गर्न सक्ने कौशलता छ । विज्ञ व्यवस्थापन छ । यो बैंकसँग आफ्नै किसिमको छवि छ । यी विषयहरुको समिश्रणमा सिनर्जी सिर्जना गर्ने रणनीति अब नयाँ बनेको ग्लोबल आइएमई बैंकको व्यवस्थापनमा छ ।
स्वर्गीय पन्तका छोरा राधेश पन्त मर्जर कमिटिको संयोजक रहेर काम गरे । उनैले बिओकेलाई ग्लोबल आइएमईसँग मर्ज गराउन महत्वपूर्ण भूमिका खेले । ‘बिओकेको नाम हटेको प्रति कुनै दुःख छैन, बुबाले एक किसिमको दुःख गरेर बैंक स्थापना गर्नु भयो, नाम हट्नु ठूलो कुरा होइन तर काम राम्रो हुनु पर्छ, मेरै सक्रियतामा बैंक आज देशको ठूलो भएको छ, मलाई यसमै गर्व छ,’ पन्तले विकासन्युजसँग भने ।
उनले बिओकेको २८ वर्ष एक महत्वपूर्ण इतिहास भएको बताउँदै त्यो इतिहास नमेटिएको धारणा राखे । ‘हाम्रो नाम मात्रै हटेको हो, सञ्चालकहरु छौं, सेयरधनीहरु छौं, ग्लोबलको आफ्नै किसिमको प्रोफाइल छ, रेमिट्यान्सको बिजनेस पनि छ, नेटवर्क राम्रो छ, बिओकेसँग तीन दशकको इतिहास छ, यसले पनि सिनर्जी आउँछ, त्यसैले पनि हामी नाम हटेकोमा दुखी छैनौं,’ उनले भने ।

नियामकको कारण नै नाम हटेको उनको धारणा छ । मर्जर समितिले ग्लोबल आइएमई बिओके लिमिटेड भनेर पठाए पनि राष्ट्र बैंकले अन्तिम स्वीकृति दिँदा ग्लोबल आइएमई बैंक भनेर पठाउँदा त्यसमै सहमत हुनु पर्ने बाध्यता आएको उनको भनाइ छ ।
यस्तै, बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठ नाम हटेकोमा पक्कै पनि दुखी भएको धारणा राख्छन् । ‘हुन त देशकै ठूलो बैंक बन्दा गर्व लागेको छ, हामीले बिओकेको पनि नाममा आओस् भन्ने सोचका थियौं तर आएन, तीन दशकको इतिहास भएको बैंकको नाम मेटिँदा अवश्य नै दुःख लाग्छ , भोलिदेखि आफ्नै बैंकको नाम सुनिने छैन, ग्लोबल बैंक ठूलो हुनुमा हाम्रो पनि योगदान छ, त्यसमै हामी खुसी छौं,’ उनले भने ।
उनले दुवै बैंक एक भएपछि कर्मचारी व्यवस्थापनमा ठूलो समस्या आउने भएपनि त्यसमा दुवै बैंक सचेत भएको बताए । विभिन्न समयमा विभिन्न किसिमका छलफल गरेर यस विषयमा कुरा भएको बताउँदै ग्लोबल आइएमई बैंकका कर्मचारीको व्यवस्थापनको समस्या नआउने उनको भनाइ छ ।
यस्तै, बिओकेका सञ्चालक गोविन्द्र प्रसाद शर्मा पनि नाम हटेकोमा खासै दुखी नभएको धारणा राख्छन् । ‘बोर्डमा नाम हुँदा अस्तित्व नै मेटिन पुगेको भन्न मिल्दैन, अब साइन बोर्ड रहेन तर यस बैंकको मान-प्रतिष्ठा ग्राहक संस्थापकको लगाव यो बैंकसँग रही रहन्छ, नाम भन्दा पनि कामले हैसियत निर्धारण गर्छ, यसमा हाम्रो चित्त दुखेको छैन,’ उनले भने ।

भिडियो हेर्न यहाँ थिच्नुस् ।