काठमाडौंमा विद्यालयको नामाकरण अंग्रेजी राख्ने अभ्यास बढ्दो, बालेनको पहिचानको मुद्दा छायामा

<p>काठमाडौं । बालेन्द्र शाह ‘बालेन’ काठमाडौंको मेयरमा निर्वाचित भइसकेपछि सोही महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ५ वटा शैक्षिक संस्थाहरुले नाम परिवर्तन गरेका छन् । जसमध्ये सबै स्कुलहरुले अंग्रेजी शब्दबाट उच्चारण गरिने विद्यालयको नाम परिवर्तन गरेर नै अंग्रेजी नाम कायम गरेका छन् । त्यस्तै गत मंसिर २० गते काठमाडौं महानगरले ३ वटा निजी विद्यालयको नाम परिवर्तनको लागि [&hellip;]</p>

काठमाडौं । बालेन्द्र शाह ‘बालेन’ काठमाडौंको मेयरमा निर्वाचित भइसकेपछि सोही महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ५ वटा शैक्षिक संस्थाहरुले नाम परिवर्तन गरेका छन् । जसमध्ये सबै स्कुलहरुले अंग्रेजी शब्दबाट उच्चारण गरिने विद्यालयको नाम परिवर्तन गरेर नै अंग्रेजी नाम कायम गरेका छन् ।

त्यस्तै गत मंसिर २० गते काठमाडौं महानगरले ३ वटा निजी विद्यालयको नाम परिवर्तनको लागि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको छ । सो प्रकाशित सूचनामा २ वटा विद्यालयले नेपाली नामबाट अंग्रेजी नामको प्रस्ताव गरेका छन् भने अर्को एउटा विद्यालयले अंग्रेजी शब्द उच्चारण हुने नामबाट अंग्रजी नाम नै प्रस्ताव गरेको छ ।

काठमाडौं महानगरपालिका शिक्षा विभागले विकासन्युजलाई उपलब्ध गराएको सूचनाअनुसार शिक्षा सम्बन्धी अधिकार सो महानगरमा आइसकेपछि १७ वटा शैक्षिक संस्थाहरुले नाम परिवर्तन गरिसकेको छ । जसमध्ये ९ वटा शैक्षिक संस्थाले अंग्रेजीबाट नेपाली, ४ वटा शैक्षिक संस्थाले नेपालीबाट नेपाली र ४ वटा शैक्षिक संस्थाले अंग्रेजीबाट अंग्रेजीमा नाम परिवर्तन गरेका छन् । त्यस्तै अन्य शैक्षिक संस्थाहरुले पनि कम्पनी रजिस्टारको कार्यालयबाट नाम परिवर्तन गरिरहेको विभागका अधिकारीले बताएका छन् ।

बालेनको पहिचानको मुद्दा र विद्यालयहरुको नाम

काठमाडौंमा मेयर बालेनको उदय हुनुको एउटा कारण उनले उठाएको पहिचानको मुद्दा पनि हो । मेयर बालेनले आफ्नो चुनावी घोषणापत्रमा ४ वटा विषयलाई काठमाडौंको पहिचानसँग जोडेका थिए । घोषणापत्रमा मात्रै नभएर मेयर बालेनले स्थानीय तहको निर्वाचन पूर्व भएका अधिकांश सार्वजनिक कार्यक्रम, अन्र्तक्रिया तथा छलफलहरुमा समेत काठमाडौंको ऐतिहासिकताको संरक्षणलाई निकै जोड दिएर विषयवस्तु राख्ने गर्दथे ।

काठमाडौंको पहिचानसँग इतिहास, सम्पदा, कला संस्कृति, समुदाय, भाषा, सार्वजनिक क्षेत्र, विकासक्रम लगायत धेरै विषयहरु जोडिएका हुन्छन् । यी मध्ये आम मानिससँग जोडिएको शैक्षिक क्षेत्र पनि एक हो । तर, काठमाडौंमा बालेनको आगमनपछि नै निजी क्षेत्रबाट सञ्चालित विद्यालयहरुको नामाकरण अंग्रेजीकरण गर्ने पहल बढ्न लागेको प्राप्त तथ्यांकले देखाएको छ ।

मेयर बालेनले काठमाडौंलाई नेपाः उपत्यकाका रुपमा विकास गर्ने विषयको उठान घोषणापत्रमार्फत गरेका थिए । त्यस्तै, स्थानीय संस्कृति, भाषाको पवद्र्धन, पुराना स्तुप, गुम्बा र मन्दिरहरुलाई लिच्छबी तथा मल्लकाल अनुसार पुनर्निमाण गरिने विषयलाई उनले आफ्नो घोषणापत्रमा प्राथमिकता दिएर उठान गरेका थिए ।

शैक्षिक संस्थाहरु कम्पनीमा दर्ता भएको कारणले गर्दा उनीहरुको नाम परिवर्तनको विषयसँग महानगर नजोडिने शिक्षा विभाग बोर्डिङ शाखाका प्रमुख मोतीराज खनालले बताए । ‘विद्यालयहरु कम्पनीमा दर्ता भएर सञ्चालन भएका छन्, उतैबाट नाम परिवर्तन गरेर आउँछन्, हामीले सो संस्थासँग जोडिएको कुनै विषय कसैको केही छ की भनेर मात्रै सूचना प्रकाशित गर्ने हो’, खनालले भने ।

कम्पनीको कार्यक्षेत्र राष्ट्रिय स्तरमा हुने भएको र महानगरसँग नजोडिएर नै शैक्षिक संस्थाहरुले आफ्नो नाम हेरफेर गर्न सक्ने भएकाले महानगरले सो विषयमा केही गर्न नसक्ने प्रमुख खनालले बताए । तर, विद्यालयहरुका नामहरुको सन्दर्भमा महानगरको धारणाको विषयमा भने उनले केही बताउन चाहेनन् ।

शैक्षिक संस्थाहरुको अंग्रेजी नामाकरण नै गर्न नहुने भन्ने नभएको तर मुलुकको पहिचानसँग नै नजोडिएको विदेशी ठाउँ र पहिचानको नाम भने उपयुक्त नहुने प्याब्सनका अध्यक्ष डिके ढुंगाना बताउँछन् । ‘अंग्रेजी नाम नै राख्न हुन्न भन्ने हुँदैन, एउटा राम्रो अर्थ बोकेको अंग्रेजी नाम राख्न सकिन्छ तर विदेशी ठाउँको पहिचान दिने नाम राख्ने विषय भने उपयुक्त हुँदैन’, उनले भने ।

काठमाडौं महानगरपालिका क्षेत्र भित्र पर्ने १७ वटा शैक्षिक संस्थाले पछिल्लो ३ वर्षमा महानगरबाट स्वीकृति लिएर नाम परिवर्तन गरेका छन् र अरु पनि कम्पनीमार्फत प्रकृयामा रहेको देखिएको छ । शैक्षिक क्षेत्र भनेको स्थायी क्षेत्र हो, जहाँ विद्यार्थीको सर्टिफिकेटको नाता सँधै जोडिएको हुन्छ तर पनि काठमाडौं महानगर क्षेत्रभित्र पर्ने निजी क्षेत्रमार्फत सञ्चालित शैक्षिक संस्थाहरुले नाम परिवर्तन गरिरहेका छन् ।

केही समयअगाडि विद्यालयहरुको नामको सन्दर्भमा प्रश्न उठेको र पछिल्लो समयमा धेरै नेपाली नामाकरण गर्ने होडबाजी देखिएको प्याब्सनका अध्यक्ष डिके ढुंगानाले बताए । उनले नाम परिवर्तन गर्दा विद्यालयको पुरानो अस्तित्वलाई पनि ख्याल गरेर कहिँ न कहिँ जोडिनेगरी गर्दा राम्रो हुने बताए ।

काठमाडौं महानगरले शैक्षिक क्षेत्रमा पहिचानसँग सम्बन्धित पुस्तकको विकास गरेतापनि नामसँग जोडेर अन्य कुनै पहल नभइरहेको सम्बन्धित अधिकारीहरुले बताएका छन् ।

पछिल्लो ३ वर्षमा नाम परिवर्तन गरेका शैक्षिक संस्थाहरुको नामावली
१. ब्लुमिङ फ्लावर प्राइमरी इङ्लिस स्कुल, कामपा–२९ – शिक्षार्थी पाठशाला
२. मर्टियन्स मेमोरियल बोर्डिङ, कामपा–३० – शहीद स्मारक आवासीय विद्यालय
३. लिटिल जेनियस इङ्लिस स्कुल, कामपा–१५ – हार्दिक एकेडेमी
४. किण्डरपिलर एकेडेमी, कामपा–४ – शिब नर्सिङ शिक्षालय
५. गोल्डेन होराइजन, कामपा–१६ – बैदिक विद्यापिठ
६. दिव्यतारा बोर्डिङ स्कुल, कामपा–१४ – बोधिसत्व स्कुल
७. शताब्दि बोर्डिङ स्कुल, कामपा–३१ – काठमाडौं निष्ट
८. आशा इङ्लिस बोर्डिङ स्कुल, कामपा–३१ – दिव्य वाणी स्कुल
९. ब्राइट ल्यान्ड स्कुल, कामपा–१६ – ब्रुकलिन एकेडेमी
१०. पूर्व पश्चिम मा.वि., कामपा–१४ – दक्षता इन्टरनेशनल स्कुल
११. प्याराडाइज इन्टरनेशनल स्कुल, कामपा–७ – सुनौलो क्षितिज
१२. श्री रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, कामपा–३ – श्री रिपुमर्दिनी सैनिक महाविद्यालय
१३. एमिटि विट्स को–एजुकेसन इङ्लिस स्कुल, कामपा–३ – सुप्रिम स्कुल
१४. प्राक्सिस इन्टरनेसनल एकेडेमी, कामपा–७ – मनास्लु वर्ड स्कुल
१५. ड्रिमल्यान्ड पब्लिक एकेडेमी, कामपा– २८ – लिबर्टी सेकेन्डरी स्कुल
१६ . भ्याली भ्यू इङ्लिस स्कुल, कामपा–३१ – भ्याली भ्यू स्कुल
१७. लोयोला मा.वि., कामपा–३१ – अर्वाना स्कुल अफ साइन्स

Share News