
विवेक बन्दु न्यौपाने मेगा बैंक प्रदेश १ का प्रमुख र नेपाल बैंकर्स संघका प्रदेश १ अध्यक्ष हुन् । वि.स २०६२ सालदेखि बैंकिङ्ग करियर सुरु गरेका न्यौपानेले बैंकिङ जबको सुरुवात नेपाल बैंकबाट गरेका हुन् । प्रदेश नम्बर १ उद्योगी व्यवसायीहरुको बाहुल्यता भएको प्रदेश हो । बैंकहरुको ध्यान पनि तिनै उद्योग व्यवसायीसँगै रहेर बिजनेस गर्नु पर्ने हुन्छ । प्रदेश प्रमुखको हैसियतमा काम गर्दा भोग्नु परेका समस्या र अनुभवहरु, प्रदेश १ मा बैंकिङ अभ्यास र दुरदराजमा काम गर्दाका चुनौतिहरु लगायतको विषयमा उनै न्यौपानेसँग विकासन्युजका लागि सीआर भण्डारीले कुराकानी गरेका छन् ।
लगानीयोग्य पुँजीको अभावका कारण अहिले बैंकिङ्ग इण्ड्रस्टी शिथिल छ, प्रदेश नम्बर १ मा के-कसरी काम गरिरहनु भएको छ ?
प्रदेश नम्बर १ मा पनि लोनेबल फण्डको अभाव छ । प्रदेश १ मा पनि तरलताको प्रभाव परेको छ । विशेषगरी निक्षेपको ब्याजदर नघट्दा बजारमा उच्च प्रतिस्पर्धा छ । निक्षेपकर्ताको बार्गेनिङ पावर बढेको छ । निक्षेपको ब्याजदर बढेको हुँदा कर्जाको रेट घटाउन सकिएको छैन । प्रदेश १ मा कर्जाको माग कम छ । ‘एक्जिस्टिङ’ ग्राहकहरुलाई कर्जा चाहिने आफ्नो ठाउँमा छँदै छ । तर, नयाँ कर्जाको माग भने एकदमै न्यून छ । नयाँ ऋणीहरु जसलाई नयाँ ऋण र नयाँ काम गर्नेहरु थोरै छन् ।
बैंकहरु नयाँ ऋणी आए वा कर्जाको माग भयो भने ऋण दिन तयार छन् ?
बैंकहरु कर्जा दिन तयार छन् । ब्याजदर मात्रै बढी हो । किनभने इण्डष्ट्रि एभरेज बेसरेट नै १० प्लसको हाराहारीमा पुगेको छ । राष्ट्र बैंकको नियम अनुसार ३/४ प्रतिशत प्रिमियम जोड्दा पनि १४ प्रतिशतमा यदि भायबल प्राजेक्ट आउँछ र १४/१५ प्रतिशत ब्याजदर तिरेर विजनेशलाई सस्टेन गर्न सक्छ भन्ने बैंकलाई विश्वास लाग्यो भने आजको दिनमा कर्जा दिन तयार छन् ।
नयाँ ऋणीहरु र व्यवसायीहरुले त ऋण नै पाएनौं भनेर गुनासो गरिरहन्छन् नी ?
ठूला ऋणीहरुलाई समस्या होला । तर, साना ऋणीहरु जसले २/४ करोड ऋण चहियो भन्छ भने उनीहरुलाई ऋण दिन कुनै समस्या छैन । ब्याजदर महँगो छ । महँगो ब्याजदरमा पैसा उठाउन नचाहेको हुँदा समस्या भएको हुन सक्छ । तर, तरलताको ठूलो समस्या भएर ऋण नै दिन नसक्ने अवस्था भने छैन । ग्राहकहरुलाई कर्जा दिएन भन्दा पनि माग नै कम छ । अधिकांश बैंकहरुले रिकोभरिमा जोड दिएकाले पनि समस्या आएको हुन सक्छ । कोभिडदेखिको असर अहिले देखिँदैछ । विशेषगरी रिकोभरिको प्रभाव परेको छ । ऋणलाई सही ढंगले विजनेशमा प्रयोग गरेर क्यास फ्लो जेनेरेट हुन सक्यो भने विजनेशले प्रोग्रेस गर्न सक्छ भन्ने विश्वास भयो भने आजको दिनमा पनि कर्जा दिन बैंकलाई समस्या छैन ।
यो समस्याका बीचमा काम गर्न कत्तिको चुनौति छ ?
जुन उद्देश्यको लागि पैसा लगिएको हुन्छ, त्यो उद्देश्यमा नै त्यो पैसा प्रयोग भयो भने चुनौति केही पनि छैन । त्यसले आकर्षित पनि हुन्छ । तर, उद्देश्य एउटा लिएर लगानी अर्कै ठाउँमा गर्याे भने चुनौति हुन्छ । एकचोटि क्यास फ्लो भएर त्यो पैसा बैंकमा नआइकन अन्त डाइभर्ट गर्ने व्यापारीहरुको प्रवृत्ति चाँहि धेरै ठाउँमा देखिन्छ । त्यसले गर्दा चुनौति छ ।
प्रदेश १ उद्योगी व्यवसायीहरु भएको क्षेत्र पनि हो, त्यहाँका उद्योगी व्यवसायीहरु पछिल्लो समय आन्दोलित छन्, उहाँहरुसँग कसरी सहकार्य गरिरहनु भएको छ ?
ओभरल इण्डष्ट्रिमा निक्षेपको ब्याजदर घटायो भने कर्जाको ब्याजदर घट्ने हो । बेलाबेला व्यपारीहरुसँग छलफल, कुराकानी भइरहेको छ । उहाँहरुलाई वित्तीय साक्षरताको खाँचो छ । राष्ट्र बैंकले अर्थतन्त्र जोगाउन निर्देशन वा सर्कुलर जारी गर्छ । उद्योगी-व्यवसायीहरु त्यो डाइरेक्टिभ्सलाई आफ्नै पारामा ब्याख्या विश्लेषण गरिदिन्छन् । सबैले आ-आफ्नै ब्याख्या विश्लेषण गर्दा समस्या आउँछ । त्यसको वास्तविक प्रभाव के हुन्छ भन्ने कुरा ग्राहक (ब्यापारी/उद्योगी) हरुलाई सिकाउन सक्यौ भने सहज हुने थियो । चार्टर्ड एकाउण्टेट एशोसियसन र नेपाल बैंकर्स संघले विभिन्न कार्यक्रम वा विभिन्न फोरम सञ्चालन गरेर छलफल गरिरहेका छौं ।
प्रदेश १ का व्यवसायी उद्योगीहरुका माग सम्बोधन हुने खालका छन् ?
ब्याजदर घटाउने सबैको माग हो । बैंकर्सहरु पनि ब्याजदर घटोस् भन्ने नै चाहन्छ । हामीलाई पनि बढी ब्याज लिने रहर छैन । ब्याजदर घटाउने माग जायज हो । जहिले पजि जायज हुन्छ । तर, त्यो मार्केटको आवश्यकता हुनु पर्याे । बजारले नै त्यो निर्धारण गर्नुपर्छ । ऋण माथि ऋण थप्ने की नथप्ने भन्ने कुरा हो । उहाँहरुले भनेजति ऋण दिने हो की बैंकले विश्लेषण गरेर यति ऋण ठिक छ, यो भन्दा बढी दिनु हुँदैन भन्ने हो । उसको प्रोजेक्टमा यो भन्दा बढी ऋण चाँहिदैन भन्ने कुराको एसुरेन्स उहाँहरुले गर्ने होइन, त्यो बैंकले गर्ने हो । किनभने उहाँहरुले दिनु भएको फाइनान्सियल रिपोर्ट र प्राजेक्ट रिपोर्ट अध्ययन गरेर बैंकले उहाँलाई यति कर्जा दिँदा ठिक हुन्छ भनेर मूल्याङ्कन गर्ने हो ।
पहुँचको आधारमा सर्वसाधारणलाई महँगो गरेर उद्योगी व्यवसायीलाई सस्तो वा कम गर्ने परिपाटी कस्तो छ ?
पहुँचको आधारमा ब्याजदर निर्धारण गर्ने भन्ने अहिलेसम्म थाहा छैन । किनभने सबै ग्राहकलाई ब्याजदर दिनु पर्दैन वा पर्छ भन्ने बाध्यता कुनै पनि वाणिज्य बैंकलाई छैन । कुनै पनि संस्थालाई हुँदैन पनि । जसले रोजगारी श्रृजना गर्न सक्यो र म्यानुफ्याक्चरिङ काम गरेको छ भने उनीहरुको ब्याजदर कम हुन्छ । जसले ट्रेडिङ बेस नेचर र आयातलाई बढावा दिने व्यवसाय गरेको छ भने उनीहरुको ब्याजदर अटोमेटिक बढी हुन्छ । किनभने बैंकले सबैलाई एउटै रेटमा राखेर वा एउटै पुलमा राखेर ब्याजदर निर्धारण गर्दा बैंकको प्रोफिटाबिलिटी पनि हुन्छ ।
पहाडी जिल्लामा जाँदाखेरि पनि त्यसरी ब्याजदर घटबढ भएको वा कसैले बार्गेनिङ गरेर बढी र कम गरेको भन्ने छैन । प्रिमियम ग्राहकले चाहेर वा ग्राहकले हस्ताक्षर नगरिकन पहिला सम्झौता गरेको प्रिमियम बढाउन पाउँदैन भनेर राष्ट्र बैंकले स्पष्ट रुपमा भनेको छ । हामीले पनि त्यहि गरिरहेका छौं । त्यसैले यहाँनेर बार्गेनिङ हुन्छ जस्तो लाग्दैन ।
प्रदेश १ मा कुन क्षेत्रमा बढी कर्जा प्रवाह हुन्छ ?
तराइतिरका जिल्लामा हेर्ने हो भने उद्योगधन्दामा नै बढी कर्जा जान्छ । धेरै उद्योगहरु छन् । यहाँको उद्योगहरुमा खर्बाै लगानी छ । पहाडी जिल्लाहरुमा सानासाना उद्योगहरु छन् । पहाडमा स-साना उद्योग र ट्रेडिङ नेचरमा बढी कर्जा जान्छ । धनकुटा, भोजपुर, झापा लगायत जिल्लाहरुमा पछिल्लो एक/डेढ वर्षदेखि कृषिमा लगानी बढेको छ ।
केन्द्रमा ठूल्ठूला कर्पाेरेट हाउसहरुमा कर्जा प्रवाह हुन्छ, प्रदेश वा जिल्लाहरुमा स-साना व्यवसायी भएकाले त्यहाँका अधिकांश मानिस वा ऋणीहरु त्यहाँका सहकारी, लघुवित्त, फाइनान्स वा विकास बैंकसँग आवद्ध छन्, यो अवस्थामा वाणिज्य बैंकलाई काम गर्न कति सहज वा चुनौति छ ?
वाणिज्य बैंकहरुलाई चुनौति भन्दा पनि सहज छ । किनभने वाणिज्य बैंक लघुवित्त र विकास बैंकको भन्दा तुलनात्मक रुपमा कम ब्याजदरमा कर्जा दिन्छन् । ऋणीहरुलाई डकुमेन्टेसनमा समस्या हुन सक्छ । लघुवित्त वा अन्य संस्थाले कम डकुमेन्ट वा पर्पर एनालाइसिस कम गरेर लोन दिने भएकाले ऋणीहरुलाई सहज हुन सक्छ । अहिले वाणिज्य बैंकको प्रत्येक पालिकामा पहुँच पुगिसकेको छ । हामी त्यो ठाउँमा जाँदा थप अवसर (एडिसनल अपरच्युनिटि) श्रृजना भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामार्फत् पनि विभिन्न ठाउँमा वित्तीय साक्षरता दिइरहेको हुन्छ, शाखाको पहुँच पुर्याउन पनि जोड दिइरहेको हुन्छ, विभिन्न जिल्ला तथा पालिकाहरुमा शाखा विस्तार गर्न कत्तिको समस्या छ ?
बैंकहरुले एउटा पालिका वा दूरदराजको पालिकामा काम गरिरहेका छन् । जब की सदरमुकामबाट पुग्नको लागि घण्टौ समय लाग्छ । त्यो ठाउँमा काम गर्दा सीमित बजार छन् । तर, त्यही सिमित बजारमा पनि काम गर्दा अझै रमाइलो र त्यहाँको मान्छेलाई शिक्षित गर्न पाउँदा बैंकरहरु अझै खुसी छन् । सहरी क्षेत्रका मान्छेहरुले हामीलाई बैंक भनेको यस्तो उस्तो हो भन्ने गरेका हुन्छन् । तर, हामी गाउँ-गाउँ वा घरघरमा गएर बचत किन गर्नु पर्छ, सानासाना लगानी किन लिनुपर्छ, बैंकबाट थोरै पैसा लिएर काम गर्दा विजनेशलाई कसरी विस्तार गर्न सकिन्छ भन्ने कुरा सिकाउँदा गर्व लाग्छ । त्यस्ता पालिका वा साना गाउँमा पनि बैंकहरुले जीवन स्तरमा परिवर्तन ल्याउन सफल भएका छन् । परिवर्तन ल्याइरहेका पनि छन् ।
मेगा बैंकले ओखलढुंगाको खिज्दीमा शाखा विस्तार गरेको छ । जुन ओखलढुंगा सदरमुकामबाट गाडीमा मात्रै ५ घण्टाको यात्रा गर्नुपर्छ । यस्ता ठाउँमा बैंकको उपस्थिती भएपछि त्यो ठाउँको रहनसहनमा परिवर्तन आएको छ । गाउँका मान्छेहरुले हाम्रो ठाउँमा बैंक आयो, हामीले पनि विजनेश गर्न पाउने भयौं, विजनेश वृद्धि हुने भयो, थोरै थोरै ऋण लिएर साना पसल, चिया पसल, कृषिमा लगानी बढाउन पाउने भयौ भन्ने कुराहरु गर्नुहुन्छ । उहाँहरुले आफ्नो स्तर उकास्दै लैजाँदा खुसी र गर्व लाग्छ ।
ती ठाउँहरुमा कर्जा लगानीका केही नयाँ क्षेत्रहरु छन्, केही सम्भावनाहरु देखिन्छन् वा छैनन् ?
अहिले बैंकहरुले सबै क्षेत्रलाई कभर गरिसकेको छ । प्रदेश १ मात्रै नभएर देशभरि नै सानो परिवारमा लगानी गर्नुपर्छ । सानो परिवारले कमाएर बैंकलाई पनि तिर्ने र आफ्नो पनि जीवनस्तर उकास्न सक्नुपर्छ । जीवनस्तर उकास्ने किसिमका कर्जामा बैंकहरुले जोड दिनुपर्छ । सहरी क्षेत्रमा रोजगारी श्रृजना गर्न सक्ने र आयातलाई सहज गर्ने ठूला इण्ड्रष्टी वा म्यानुफ्याक्चरिङ प्रडक्सन गरिराखेका कम्पनीलाई बढी कर्जा प्रवाह गर्नुपर्छ ।
नयाँ उद्योगी वा नयाँ स्टार्टअप जन्माउन बैंकले के कस्ता काम गरिरहेका छन् ?
नयाँ उद्यमीहरु आइरहनु भएको छ । तर, अहिले आएका उद्यमीहरु पनि रोजगारी श्रृजना गर्ने भन्दा पनि डेभलप समुदायलाई मात्र सुहाउने खालका छन । जस्तो रेष्टुरेन्ट खोल्ने । नयाँ उद्यमी भनेको रेष्टुरेन्ट खोलेर हुँदैन । त्यो विराटनगर, काठमाडौं, पोखरा, नेपालगञ्जको बजारलाई फिट हुन्छ । त्यो उद्यमीले के गर्दैछ भन्ने कुरा हामीले हेर्नुपर्छ । नयाँ उद्यमीहरुलाई बैंकहरुले फाइनान्सिङ पनि गरिरहेको छ । राष्ट्र बैंकको निर्देशनभित्र रहेर राम्रो-राम्रो प्रोजेक्ट आउँछ भने नयाँ उद्यमीहरुको जन्म भइरहेको छ । उहाँहरु सुरुमा ठूलो आवश्यकता वा अवसर देखेर आउनु हुन्छ । आफ्नो पार्टको लगानी सुरक्षित गरेको हुन्छ । पछि त्यो लगानी गर्न नसक्दा समस्या उत्पन्न हुने हो की भन्ने हामीलाई महसुस हुन्छ । पूर्वमा जन्मिरहेका नयाँ उद्यमीहरुलाई बैंकहरुले सहयोग गरिरहेका छन् ।
वित्तीय साक्षरताको सवमालमा प्रदेश १ को स्थिति के छ ?
वित्तीय साक्षरतामा अन्य प्रदेशको तुलनमा बागमति प्रदेशपछि प्रदेश १ नै हो । किनभने सबै ठाउँहरुमा सडक सञ्जाल, विद्युत पहुँच, इन्टरनेट पहुँच पुगेको छ । सबै गाउँपालिकाहरुमा सबै वाणिज्य बैंकहरुको विजनेश भइसकेको हुनाले बागमति प्रदेश पछि वित्तीय साक्षरता र वित्तीय पहुँचमा प्रदेश १ पर्छ । विजनेश साइजको हिसावमा हेर्ने हो भने बागमति प्रदेश र लुम्बिनी (प्रदेश ५) पछि प्रदेश १ हो ।
अहिले बैंकिङ प्रणालीमा देखिएको संकटको सुधार कहिलेसम्म होला ?
अहिले संकटभन्दा पनि सर्टटर्म समस्या आएको हो । यो चाँडै नै सुधारोन्मुख देखिएको छ । चुनावपछि केही सुधारका संकेत देखिएका छन् । सुधार हुँदै गएकाले ६ महिनासम्म पूर्ण सुधार हुन सक्ने अनुमान छ । अबको सरकार कस्तो बन्छ र सरकारले ल्याउने नीतिमा भर पर्छ । सरकार परिवर्तनको समय पनि छ । चालू आर्थिक वर्षको ६ महिना पनि सकिन लागेको छ । स्थानीय तहको चुनाव, संघ र प्रदेशको चुनाव पनि भयो । यो बीचमा सक्रिय भएर काम हुन सकेको छैन । जसले गर्दा विकास निर्माणमा खासै खर्च हुन सकेको छैन । यी सबै विषयमा स्थिर भएपछि चालु आर्थिक वर्षको अन्तिमसम्म सुधारको अपेक्षा गरिएको छ ।
तपाईं सुविधा सम्पन्न बागमति प्रदेशमा जन्मिनु भएको व्यक्ति अहिले प्रदेश एक मा गएर काम गरिरहनु भएको छ, एउटा बैंकरको हिसावले कतिको चुनौति भोग्नु पर्छ ?
यस्ता चुनौति धेरै भोग्नुपर्छ । सबैभन्दा ठूलो चुनौति मान्छेहरुलाई सिकाउनु हो । सिकाउन र सिकाएको मान्छेले बुझ्न सक्यो भने सहज हुन्छ । ३५ किलोमिटर यात्रा गर्न ५ घण्टा समय लाग्ने ठाउँ छ । यस्तो ठाउँमा गएर काम गर्नुपर्ने हुन्छ । कुनै-कुनै गाउँपालिकामा विजुली मात्रै भर्खरै पुगेको छ । यस्तो ठाउँमा गएर काम गर्नुपर्ने हुन्छ । कतिपय मान्छेहरुले बैंक आयो अब बैंकको ब्याज सस्तोमा पाइन्छ, बैंकले सस्तोमा कर्जा दिनुपर्छ भन्ने खालको बुझाइ छ । यस्तो बुझाइलाई हामीले स्पष्ट रुपमा सिकाउन पनि कठिन छ ।
काठमाडौंको तुलनामा दूरदराजको ठाउँमा समस्या छ । अझै गरिबीको रेखामुनी छन् । जीवनस्तर उकास्नको लागि सबै बैंकहरुले गाउँपालिकामा जानुपर्छ । यी सबै काम गर्न कठिन भएपनि मलाई अझै खुसी लाग्छ । म काठमाडौंमा बसेर केही ठूला ब्यापारीलाई खुसी बनाउनेभन्दा पनि एउटा गाउँपालिकामा पुगेर समग्र गाउँको मुहार फेर्न सक्यो भने अझ धेरै खुसी हुन्छु ।
नेपाल राष्ट्र बैंकले जारी गर्ने विभिन्न निर्देशिका वा सर्कुलरमा बैंकरहरुले अपडेट हुनु पर्छ तर बैंकका ग्राहकहरुलाई बुझाउन कति सकस छ ?
हामीले कार्यक्रमको आयोजना गरेर उहाँहरुलाई जानकारी गराइरहेका हुन्छौं । तर, जानकारी मुलक कार्यक्रममा उपस्थिती एकदमै न्यून हुन्छ । हामी एक हप्ता अघिदेखि नै तपाइँहरुलाई वित्तीय साक्षरता दिन्छौ भनेका हुन्छौ तर उपस्थिती कम हुन्छ । बैंकबाट पैसा लिइसकेपछि आफूले भनेको काम भन्दा अरु कुरामा लगानी गर्न पाए हुन्थ्यो भन्ने मनस्थिती छ । ब्यापार भनेर ऋण लैजाने तर एक टुक्रा जग्गा किन्ने पो हो की, वा छोराछोरीको विवाह गर्ने हो की भन्ने कतिपय ग्राहकहरुको मनस्थिती छ ।
यसलाई सच्याउन सकियो भने च्यालेन्जलाई लिएर अगाडि बढ्न सकिन्छ । हाम्रो काम भनेको उहाँहरुलाई सिकाउने हो जस्तो लाग्छ । अहिले बैंकरको सबैभन्दा ठूलो काम भनेको तपाइलाइ जुन उद्देश्यको लागि पैसा चाहिएको हो बैंकलाई नढाँटिकन भन्न लगाउनुपर्ने हुन्छ । त्यो उद्देश्यमा पैसा लिएपछि त्यसैमा खर्च गर्नुपर्छ भनेर सिकाउन सक्यो भने आफै लाइनमा आउँछ ।
एउटा उद्देश्यका लागि कर्जा लिने तर अर्कै ठाउँमा खर्च गर्ने परिपाटी प्रदेश एकमा कस्तो छ ?
कहिँकतै यस्तो देखिन्छ । दुई/चार जनामा यस्तो देखिएर सबैलाई भन्न मिल्दैन । दुई/चार जनामा त्यो अवश्य नै हुन्छ । तर, सुरुमा लगानी गर्ने बेलामा नै त्यो डाइभर्ट हुन्छ भन्ने होइन । एकचोटी व्यवसायमा लगानी गर्छ । जस्तो होलसेलरबाट सामान किनेर ल्याएर बेच्यो भने त्यो पैसा बैंकमा आउनुपर्ने हो । तर, त्यो पैसा बैंकमा आउँदैन । त्यो पैसा उसले डाइभर्ट गरिदिन्छ । त्यो भनेको बैंकले डाइरेक्टली व्यवसायमा दिएको पैसा जग्गा वा सेयरमा लगानी गर्नुपर्छ भनेर दिएको होइन । उहाँहरुलाई विजनेश गर भनेर दिएको हो । तर, उहाँहरुको एकदुई चोटी पैसा टर्नओभर भइसकेपछि ब्यापार भनेको यस्तै रहेछ जग्गा किनेर ६ महिनापछि फाइदा हुन्छ भन्ने केही ग्राहकहरुमा देखिन्छ । तर, यस्तो प्रवृत्ति धेरै हुँदैन । बाँठा ग्राहकले यस्तो गर्ने गरेका छन् । बजारमा उनीहरुको स्वर ठूलो हुने भएकाले हँगामा मच्चिएको हो की जस्तो लाग्छ ।
जिल्ला तथा पालिकाहरुमा पहुँच भएकाहरुसँग बैंकहरुले बचेर बस्नु पर्छ भन्ने सुनिन्छ नी तपाईंले कत्तिको अनुभव गर्नु भएको छ ?
यस्तो हुँदैन । एक जनाले गरेर बैंकहरुलाई त्रसित हुनुपर्ने अवस्था अहिलेसम्म छैन । हामीले सुनेको पनि छैन ।
कर्जा डिफल्टको समस्या कतिको छ ?
डिफल्ट अवश्य हुन्छ । शतप्रतिशत रिकोभरि हुँदैन । एनपीएल वृद्धिदरले पनि यस्तो भएको देखाइ रहेको छ । सबै बैंकको आफ्नै एनपीएल रेट छ । तर, त्यो डिफल्ट दीर्घकाल उठिहाल्छ । अहिले पनि जग्गा धितो राखेर कर्जा दिने भएकाले उहाँहरुलाई आफ्नो सम्पत्तिको माया पनि लाग्छ । अन्तत्वतः उहाँहरुले त्यो सम्पत्ति बिक्री गरेर होस् वा अन्य काँहीबाट भएपनि लोन तिरिहाल्नु हुन्छ । डिफल्ट भएपनि धेरै छैन ।
मेगा बैंकले प्रदेश १ मा कसरी काम गरिरहेको छ ?
मेगा बैंकले प्रदेश १ मा २५ वटा शाखामार्फत सेवा प्रदान गरिरहेको छ । जसमा ६ वटा शाखा स्थानीय तहमा छन् । समग्र बैंकिङ्ग इण्डष्ट्रिले दिने सबै सेवा सुविधाहरु हामीले दिइरहेका छौं । चाँडै नै मर्जर पनि हुँदै छौ । मर्जरपश्चात् अझै ठूलो बैंक भएर काम गर्ने तयारी छ । अहिले २५ वटा शाखा छन् । मर्जरपश्चात् अरु शाखा थप हुँदा ४० वटा शाखा पुग्छन् । जसले गर्दा अझै प्रभावकारी सेवा दिन्छौं ।