नेवा सभ्यताको विश्वविद्यालय स्थापना गर्न मेयर बालेन्द्र शाहको प्रस्ताव

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र बागमती नदीको सफाईका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन् । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मेयर शाहले सो प्रस्ताव गर्नु भएको हो । यी दुवै काम काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका एक्लाएक्लैले गर्न [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र बागमती नदीको सफाईका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन् । ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै मेयर शाहले सो प्रस्ताव गर्नु भएको हो ।

यी दुवै काम काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका एक्लाएक्लैले गर्न नसक्ने भएकाले यसमा दुवै महानगरपालिकाको सहकार्य अनिवार्य रहेको उनको तर्क थियो । मेयर शाहले नेवाः सभ्यता सम्बन्धी विश्वविद्यालय र बागमती सफाईको काममा मात्रै दुवै महानगरपालिकाले सहकार्य गरेर गए त्यो काठमाडौं उपत्यकाको विकासको लागि नै राम्रो सन्देश हुने समेत स्पष्ट पारे । मेयर शाहले हाम्रो कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्न र यसलाई अन्तर्राष्ट्रियकरण गर्न पनि नेवाः सम्बन्धी विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै जग्गाको आवश्यक व्यवस्था भने ललितपुर महानगरपालिकालाई मिलाउन सहज हुने धारणा समेत राखे ।

मेयर शाहले भने, ‘ललितपुर महानगरपालिका एकदमै जेठो नगरपालिका भएको हुनाले हाम्रो सम्पदा, संस्कृति अथवा नेवाः सभ्यता सम्बन्धी युनिभर्सिटीका लागि पनि पहल गरिदिन पनि म यहीबाट अनुरोध गर्न चाहन्छु । त्यसका लागि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले सहकार्य गरेर गर्न सक्छ । त्यसका लागि स्थान काठमाडौंमा पनि सक्छ अथवा ललितपुरमा नै हुन पनि सक्छ । ललितपुरमा अलिकति जग्गाको अभाव नभएको हुनाले त्यसका लागि पहल गरिदिनु भयो भने हाम्रो सभ्यताको अभिलेखीकरण पनि हुन्छ । यसलाई हामी अन्तर्राष्ट्रियकरण गर्न सक्छौं ।’

उनले काठमाडौंका कलाकौशलहरु अन्तर्राष्ट्रियकरण गर्न सकिने भन्दै बाजागाजाहरुमा नै डिग्री गर्न सकिने बताए । ‘हाम्रा कलाकौशलहरु त्यसमा अन्तर्राष्ट्रियकरण गर्न सक्छौं । हाम्रा बाजाहरुलाई डिग्रीको कोर्समा समावेश गर्न सक्छौं । नेवाः सभ्यता भित्र धेरै पक्षहरु छन । सम्पूर्णलाई मान्छेले पढुन । हाम्रा पुस्तान्तरण गर्न पाउ । अव आउने नयाँ पुस्ताले त्यो कुरालाई सिक्नु पाउन पाउने अवसर दिन सकियोस् भन्ने चाहना पनि छ’, मेयर शाहले भने ।

मेयर शाहले दुवै महानगरपालिकाले गर्नुपर्ने चिज भनेको बागमतीको स्थायी सरसफाई भएको बताउँदै त्यसको लागि दुबै महानगरले सहकार्य गर्नुपर्छ । ‘हामी दुईटा महानगरपालिका, बागमती सभ्यता एकीकृत परियोजना, सहरी विकास मन्त्रालयले सहकार्य गरेर बागमतीको स्थायी सफाई अभियान । बागमतीको पानीलाई निलो सफा पानी बनाउन हामीले त्यसमा सहकार्य गर्नै पर्दछ । यी दुई वटा कार्यमा मात्रै हामीले हाम्रो कार्यकालमा सहकार्य गरेर अघि बढन सक्यौं भने निकै राम्रो सन्देश जान्छ । काठमाडौं उपत्यकाको तर्फबाट नै एउटा राम्रो सन्देश जान्छ । र, हाम्रो जुन मित्रवत भावना छ । त्यसलाई अझै मधुरता दिन सकिन्छ’, मेयर शाहले भने ।

मेयर शाहले सम्पदाहरुको संरक्षणमा ललितपुर महानगरपालिकाबाट काठमाडौं महानगरपालिकाले धेरै कुराहरु सिक्नुपर्ने बताए । उनले प्राचीन ढुंगेधाराहरुको संरक्षणमा ललितपुर महानगरपालिकाले अघि सारेको अवधारणाबाट सिकेर आफूहरुले पनि सो कामलाई अघि बढाउन पुल्चोक इन्जिनियरिङ कलेजसँग सहकार्य गरेर अघि बढन लागेको जानकारी समेत दिए । उनले ललितपुर महानगरपालिकासँग मित्रतापूर्ण सम्बन्ध रहेको र त्यसलाई अझै सुमधुर बनाउने गरी आपसी सहकार्यका साथ काम गर्न चाहेको पनि पटकपटक दोहो¥याए ।

Share News