काठमाडौं, १० असोज । राष्ट्रिय पुननिर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले भूकम्प पीडित जनताले घर पुनर्निर्माणका लागि पाउने अनुदान रकम दुई लाखबाट बढाएर तीन लाख रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।
निर्देशक समितिको सोमबार सम्पन्न सातौं बैठकले पहिलो किस्तामा ५० हजार र बाँकी दुई किस्तामा दुई लाख पचास हजार रुपैयाँ गरी तीन लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
तेस्रो किस्ताको रकम मध्येबाट २५ हजार रुपैयाँ शौचालय, बायोग्याँस र सोलरका लागि प्रयोग गर्ने गरी उपलब्ध गराउने निर्णय भएको छ ।
बैठकले प्राधिकरणको आर्थिक वर्ष २०७३/७४ को बजेट तथा कार्यक्रमलाई स्वीकृत गरेको छ । त्यस्तै प्राधिकरणको संगठनात्मक संरचना र कार्य प्रणालीको पुनरावलोकन र जनशक्ति व्यवस्थापनका सम्बन्धमा थप छलफल गर्ने निर्णय गरेको छ ।
बैठकमा प्राधिकरणका निर्देशक समितिका अध्यक्ष रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले क्षेत्रीय स्तरमा रहेका उपक्षेत्रीय कार्यालयहरुलाई जिल्ला समन्वय समितिको सचिवालयमा परिणत गरी पुनर्निर्माणको अनुगमन लगायतका समग्र काममा जिल्ला समन्वय समितिलाई थप प्रभावकारी बनाउन, उपत्यकामा तत्काल अनुदान सम्झौता अघि बढाउन र बाँकी जिल्लामा लाभग्राही सर्भेक्षण गर्न कार्ययोजना अनुसार काम गर्न निर्देशन दिएका छन् ।
उनले बैठकमा उठाएइका विषयका सम्बन्धमा थप गृहकार्य गरी आगामी दश दिनभित्र प्राधिकरणको परामर्श परिषद्को बैठक र एक महिनाभित्र निर्देशक समितिको बैठक राख्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री दाहालले पुनर्निर्माणका कामहरुलाई सबै मिलेर अघि बढाउनका लागि नै परामर्श परिषद् र निर्देशक समितिमा विपक्षी दलका नेता राख्ने व्यवस्था गरिएको जानकारी गराए ।
यस्तै असोज २१ गतेसम्ममा (दसैं अघि) प्राविधिक समस्या नभएका र अनुदान सम्झौता सम्पन्न भइसकेका घरधनीहरुलाई प्राथमिकतामा साथ अनुदान रकम उपलब्ध गराउन पनि उनले सम्बन्धित सबैलाई निर्देशन दिएको प्राधिकरणमा प्रबक्ता रामप्रसाद थपलिया जानकारी दिए ।