काठमाडौं, ७ असोज । विश्वचर्चित कोरियन प्रविधि कम्पनी सामसङलाई एकपछि अर्को झट्का लाग्न थालेको छ । ग्यालेक्सी नोट सेभेन पड्केर तनावमा आएको सामसङमाथि अब अर्को तनाव आइलागेको छ । उसको विश्वचर्चित उत्पादन ग्यालेक्सी नोट टु मा आगो लागेको खबर आएको छ ।
भारतको चेन्नई विमानस्थलमा अवतरण गर्नै लागेको एउटा जहाजमा सवार यात्रुले बोकेको ग्यालेक्सी नोट टु पड्किएपछि सामसङमाथि अर्को आपत् आइ लागेको हो ।

रिपोर्टका अनुसार एक व्यवसायिक उडान इन्डिगो चेन्नई एयरपोर्टमा अवतरण गर्नै लागेको बेलामा ग्यालेक्सी नोट टु मा आगो लागेको हो । समाचार अनुसार ग्यालेक्सी नोट टु लाई जहाजको ओभरहेड बीनमा राखिएको थियो, जहाँ यात्रुले आफ्नो हेन्ड ब्याग पनि राख्ने गरेका हुन्छन् ।
भारतको नागरिक उड्ययन प्राधिकरणका एक निर्देशकले बताए अनुसार शुक्रबार बिहान ७ बजेर ४५ मिनेटमा फोनबाट आगो र धुँवा निक्लेको पुष्टि गरे । उनका अनुसार ग्यालेक्सी नोट टु पड्किएपछि सामसङका अधिकारीलाई छलफलका लागि बोलाइएको छ । समाचार अनुसार यसबारेमा सामसङका अधिकारीहरुले सोमबार प्राधिकरणसँग छलफल गर्ने जनाएका छन् ।
अधिकारीहरुका अनुसार फोन अन या अफ थियो भन्नेबारेमा अहिलेसम्म केही खुलिसकेको छैन । घटनापछि क्याबिन क्रु मेम्बरले आगो निभाउने मेशीनले सामसङ ग्यालेक्सी नोट टु मा लागेको आगो निभाएका थिए । डीजीसीएका एक प्रवक्ताका अनुसार यस घटनामा जहाजमा सवार कुनै यात्रुलाई कुनै चोटपटक लागेको छैन ।
यसका अलावा प्रवक्ताले उडानका क्रममा यात्रुलाई सामसङ ग्यालेक्सी नोट टु सहितका स्मार्टफोनलाई अफ गर्न भनेको थियो । सामसङले ग्यालेक्सी नोट टु सन् २०१२ अक्टोबरमा लन्च गरेको थियो ।