हामी करोडौं रुपैयाँ लगानी गरेर घर बनाउँछौं । तर, भने जस्तो घर भएन भनेर गुनासो गरिरन्छौं । लागत कम । हेर्नमा चिटिक्क । भूकम्प प्रतिरोधी । घर बनाउनेलाई चाहिने विषयहरु यस्ता–यस्तै हुन् । घर बनाउँदा निर्माण सामाग्री नै मजबुद चाहिन्छ । तर, लागत नै बढी भएपछि कतिपयले आकर्षक घर बनाउने सपना पनि सपनामै सीमित राख्छन् । तर, मान्छेहरुका यी र यस्तै समस्याहरुको सम्बोधन गर्ने उद्धेश्यका साथ नेपाल इको प्यानल कम्पनीको स्थापना भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कृष्णभक्त दुवाल बताउँछन् । पेशाले इञ्जिनियर समेत रहेका दुवालसँग विकासन्युजका राजिव न्यौपानेले कम्पनीले गर्दै आएको काम, इको प्यानलबाट बनेका घरको दीगोपन लगायतका विषयमा कुराकानी गरेका छन् ।सुरुमा नेपाल इको प्यानलको विषयमा बुझौं, के हो इको प्यानल ? आम सर्वसाधारणले यसलाई कसरी बुझ्ने ?
नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रूपमा प्रयोग हुने नयाँ निर्माण सामग्री हो । यसलाई परम्परागत निर्माण सामाग्रीको वैकल्पिक उपाय पनि भन्न सकिन्छ । यस प्यानलको निर्माण गर्ने प्रक्रियामा स्वच्छ ऊर्जा प्रयोग हुने भएकाले यसलाई इको प्यानल भन्छौं । हामीले निर्माणको लागि चाहिने आवश्यक सामग्रीहरू उत्पादन गर्दै आएको छौं । यो छिटो निर्माण हुने र कम लागतमा तयार हुन्छ । हेर्दा आकर्षक र सुन्दर देखिने हुँदा प्रयोगकर्ता माझ घर बनाउन यसको माग बढ्दो छदैछ । यो प्यानलको भित्री भागमा राखेको फर्मले तातो चिसो दुवैको अग्रतालाई कायम गर्छ, जसले गर्दा जाडोयाममा न्यानो र गर्मी मौसममा व्यापक गर्मी हुनबाट रोकिन्छ, जुन थर्मल इन्सोलेशन गरेको हुन्छ । प्यानल भनेको निर्माण सामग्री हो । जुन, हलुका र भूकम्प प्रतिरोधी हुन्छ । यसको विशेषता, गुणस्तर र लागतलाई मध्यनजर गर्दै नेपाल इको प्यानललाई रोज्न सकिन्छ ।
इको प्यानल सर्वसाधारणको रोजाइमा कत्तिको परेको छ ? एउटा व्यक्तिले इको प्यानलको घर बनाउँछु भनेर योजना बनायो भने लागत कति पर्छ ?
इको प्यान वाल मेटरियल मात्र हो । तपाईले एक करोड रुपैयाँ लगाए घर बनाउँदै हुनुहुन्छ । त्यसमा लगभग २० लाख रुपैयाँको रकम इँटा खर्च हुन्छ । ८० लाख रुपैयाँ ज्याला, रङ, सिमेन्ट लगायतमा खर्च होला । इँटा राख्ने ठाउँमा नेपाल इको प्यानल राखेर घर बनाउँनु भयो सो रकम भन्दा कम मूल्यमा आकर्षक घर बनाउन सक्नु हुन्छ । आजका दिनमा आरसीसी घर बनाउँदा एक वर्ग फिटको ४ देखि ४२ सयसम्म पर्ला । तर, हामीले नेपाल इको प्यानको प्रयोग गरी एक स्क्वायर फिट ३ हजारसम्ममा बनाउन सक्छौं । यो प्यानलको प्रयोग गरी लगभग १८ देखि १९ लाख रुपैयाँ सम्ममा एउटा घर बनाउन सकिन्छ ।
इको प्यानलको माग कस्तो छ ?
इको प्यानको माग बढ्दो छ । कंक्रिटो संरचनामा पनि किन गह्रुङ्गो इट्टाको वाल लगाउने भन्ने सोचको विकास हुँदै गएको छ । त्यसैले माथिल्लो तलामा कोठा थप्नुपरेमा पनि आम नागरिकलाई इको प्यानको छनोट गरी प्रयोग गरेको पाइन्छ । म आफै पनि इको प्यानको व्यापारमा सन् २०१४ देखि छु । नेपाल इको प्यानलबाट गत वर्ष मात्रै प्रोडक्सन सुरु गरेका हौं । छोटो समयमा नै हामीले पूर्वको कन्यामदेखि पश्चिमा धनगढी लगायतका विभिन्न ठाउँमा पूर्याएका छौं । यस प्यानको माग पनि अहिले मेजर सिटीहरूमा बढी नै छ । सबै ठाउँको लागि यो प्यानल उपयुक्त हुने भएकाले पनि यसको माग बढेको हो । इको प्यानको भाडादर पनि कम छ । मुगुको रारासम्म एउटा इँटा पुर्याउदा प्रति केजी २५ रुपैयाँ भाडा लाग्छ । त्यो ठाउँमा इको प्यानल लाने हो भने भाडा दर कम हुनुका साथै पुर्याउन पनि सहज हुन्छ ।

अहिले सम्म नेपाल इको प्यानलबाट कति वटा घर बने ?
एक वर्षको अवधिमा हामीले थुप्रै पार्टी प्यालेस, हल, आर्मी क्वाटर, स–साना होटल, हस्पिटल, स्कुल आदिका संरचनाहरू यस प्यानलबाट निमार्ण गरिसकेका छौं । कमलादीमा निर्माण भइरहेको स्काईवाक टावरमा पनि यस इको प्यानलको प्रयोग हुँदैछ । गत आर्थिक वर्ष २०७८/७९ मा नेपाल इको प्यानलबाट ४० वटा संरचनाहरू बनायौं । चालू आर्थिक वर्षको अहिलेसम्म १५ वटा संरचनाहरू निर्माण भइसकेका छन् ।
नयाँ संरचनाको कामहरू पनि अहिले विभिन्न ठाउँमा भइरहेको छ । हाम्रो इको प्यानल ५÷६ वटा बिगमार्टमा प्रयोग भइसकेको छ । केही समय अगाडिदेखि कन्याममा सञ्चालन आएकोे स्काईवाक टावरको नजिकै कम्प्लेक्स बनिरहेको छ । सो कम्प्लेक्समा पनि प्यानलको प्रयोगबाट केही संचना बन्दै छन् । प्रोजेक्ट लिँदै काम गर्दै जाने हो । काम निरन्तर छ ।
बजारमा इट्टा तथा कंक्रिटका घर बनाउनेहरुको संख्या बढ्दो छ, कंक्रिटबाट बनेको घर भन्दा प्यानलबाट बनेका घर पनि टिकाउ र गुणस्तर हुन्छ भनेर आम नागगिरकलाई कसरी विस्वत बनाउन सक्नु हुन्छ ?
हामी कंक्रिटका घर पिलर हालेर तयार पार्छौं । २० वटा पिलर हालेर बनाएको आरसीसी घरको एउटा पिलर बिग्रिए भने, घरलाई नै असर पुर्याउन सक्छ । तर, स्टिलको संरचना राखेर प्यानल प्रयोग गरेर बनाएको घर तपाईको आँखाले यसको जडान कस्तो छ भनेर हेर्न सक्नु हुन्छ । यसलाई मजबुद बनाउनको लागि यस इन्जिनियरहरुले निकै डिजाइ गरेर नक्साहरु बनाएका हुन्छन । आवश्यक पर्यो भने घरलाई अन्य ठाउँमा पनि सार्न सकिन्छ । आरसीसी घर जस्तै प्यानलबाट बनेको घर पनि मजबुद हुन्छ ।
नेपाल इको प्यानले बजारमा सेवा गर्न थालेको एक वर्ष भइसकेको छ, कतिपय कम्पनीले भविष्यमा पब्लिकमा जाने पनि इच्छा देखाउँछन्, यस विषयमा केही सोच्नु भएको छ ?
अहिले नै पब्लिकमा जाने सोच बनाएका छैनौं । तर, पब्लिकमा जादैनौं भन्ने पनि हैन । केही वर्षपछि जानु पर्छ । नेपाल इको प्यानलाई एउटा ठूलो कर्पोरेट हाउसको रूपमा विकास गर्ने हो । कुनै दिन पब्लिकमा गएर आइपीओ पनि निकाल्न सक्छौं । त्यसको लागि समय लाग्छ ।
तपाईंसँग इको प्यानलमा काम गरेको लामो अनुभव छ, तपाईं पेशाले इञ्जिनियर, इको प्यानलको घरप्रति सर्वसाधारणको बुझाइ कस्तो पाउनु भएको छ ?
भूकम्प पछि प्रिफेबको घरको बेइज्जत भएको छ । त्यतिखेर सञ्चार माध्यमहरूमा २/३ लाखमा नै घर बन्छ भनेर विज्ञापन आयो । सस्तो हुने बित्तिकै प्रिफेबका घरमा लात्ताले हान्दा पनि प्वाँल पर्छ भन्ने मान्छेमा मनस्थिति भयो । अहिले हामीले त्यो मनस्थितिलाई चिर्दै आएका छौं । इको प्यानलबाट बनेको घर पनि आरसीसी भन्दा कम छैन भन्ने विश्वास आम नागरिकमा दिलाउन सफल भएका छौं । प्यानलले बनाएको घर जस्तै मजबुद हुँदो रहेछ भन्ने कुरा चाहिँ भएको छ । अहिले चाहिँ मान्छेहरूले यसको विषयमा बुझ्न थालेका छन् ।
आगामी दिनमा नेपाल इको प्यानल कसरी अगाडि बढ्छ, भावी योजनाहरू के-के छन् ?
अहिले हामी विभिन्न ठाउँमा काम लिएर प्यानलका संरचनाहरू बनाउने काम गरिरहेका छौं । हाम्रो एउटा फ्याक्ट्रीबाट प्यानलको उत्पादन हुँदै आएको छ । डिलर भने देशका विभिन्न ठाउँमा छन् । यहाँ उत्पादन गरेर मात्र विभिन्न ठाउँमा पुर्याउन सक्दैनौं । सोही कुरालाई मध्यनजर गर्दै अर्को नयाँ फ्याक्ट्रीको स्थापना गर्ने सोच बनाएका छौं । अहिले टुङ्गो नभए पनि चितवन वा सिराहामा सो फ्याक्ट्रीको स्थापना गर्ने योजनामा छौं ।