काठमाडौं, ५ असोज । तीन लाख ७५ हजार ७ सय १५ भूकम्प पीडितले निजी आवास निर्माणका लागि १८ अर्ब ७८ करोड ५७ लाख ५० हजार रुपैंयाँ प्राप्त गरेका छन् । उनीहरुलाई सरकारले निजी आवास निर्माणका लागि उपलब्ध गराउने भनिएको २ लाख अनुदानमध्ये पहिलो किस्ता वापतको ५० हजार रुपैंयाँ उपलब्ध गराइएको हो । राष्ट्रिय पुननिर्माण प्राधिकरणले असोज २ गतको अवधीसम्ममा सो मात्रामा रकम वितरण गरिसकिएको जानकारी दिएको हो ।
प्राधिकरणले भदौ १ गतेदेखि एक महिना अनुदान वितरण बिशेष योजना सुरु गरेको थियो । साउन ३१ गते ३१ गते ४२ हजार ८ सय ८२ घरधनीको बैंक खातामा पहिलो किस्ताको रकम पुगेकोमा असोज २ गतेसम्म ३ लाख ७५ हजार ७ सय १५ पुगेको हो । एक महिने विशेष अभियान वर्षायामको बाबजुद पनि उत्साहजनक रुपमा अघि बढेको प्राधिकरण अनुगमन समितिको बैठकले समेत निष्कर्ष निकालेको छ ।
यस्तै साउन २१ गतेसम्म अनुदान सम्झौता गर्ने घरधनीको संख्या २ लाख ९५ हजार ७ सय ७२ रहेकोमा असोज २ गतेसम्म ४ लाख ४७ हजार ३ सय ५९ पुगेको छ । असोज २ गतेसम्म ८४ प्रतिशत घरधनीसँग अनुदान सम्झौता सम्पन्न भएको छ । बैठकले निजी आवास अभियानको दोस्रो चरण अन्तर्गत बाँकी रहेका सबै लाभग्राहीसँग अनुदान सम्झौता हुन नसक्नुका कारणहरु पहिचान गरी कार्यविधि पहिचान गर्ने र सबै घर भत्केका घरधनीहरुको गुनासाहरुको निरुपण गर्दै निर्णय पनि गरेको छ ।
अनुदान सम्झौता कम भएका जिल्लाहरु मकवानपुर, सिन्धुली, नुवाकोट र रसुवा जिल्लामा अनुदान सम्झौता प्रक्रिया र अनुदान रकम बैंक खातामा पु¥याउनका लागि थप पहल गर्ने निर्णय गरेको छ । यस्तै बुढी गण्डकी जलविद्युत आयोजना प्रभावित भूकम्प पीडित जनतालाई अनुदान दिनका लागि छुट्टाइएको, बस्ती स्थानान्तरण गर्नुपर्ने ठाउँमा हाल अनुदान रकम वितरण नगरिएको, वन, गुठी जग्गामा देखा परेको समस्या समाधान प्रक्रिया अघि बढाउनु परेका लगायतका कारणले गर्दा अनुदान सम्झौता र बैंक खातामा अनुदान पुग्न समस्या देखा परेको निष्कर्ष पनि बैठकले निकालेको छ ।
बैठकले गुनासो सुनुवाई सम्बन्धी ४५ दिने कार्य योजना तयार पारी गुनासो फर्छाैट गर्ने गरी कार्य अघि बढाउन पनि निर्देशन दिएको छ ।