काठमाडौं । मंगलबार बाह्र बजेसम्मको मतगणनामा नेकपा (एमाले)का अधिकांश पदाधिकारीहरु ‘रेड जोन’मा देखिएका छन् । उपाध्यक्ष अस्टलक्ष्मी शाक्य र रामबहादुर थापा बाहेक १५ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । चुनावी मैदानमा भएकामध्ये अधिकांश उम्मेदवारहरुको क्षेत्रको नतिजा आइरहेको छ ।
दिउसो १२ बजेसम्मको मतपरिणाम अनुसार झापा ५ मा उम्मेदवार रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले २४ हजार ४ सय २१ मत गणना गर्दा १२ हजार एक सय ८६ मत ल्याएका छन्। अध्यक्षको ओलीसँग प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले ७ हजार एक सय ३ मत ल्याएका छन्। ओली पाँच हजार बढी मतान्तरले अघि छन्।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा उम्मेदवार रहेका एमाले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल नेपाली कांग्रेसका उम्मेदवार प्रदिप पौडेलभन्दा पछाडि परेका छन् । १२ बजे सम्मको मतगणनामा पोखरलेलाई पौडेलले २५ सय ४० मतले पछाडी पारेका छन् । जसमा पौडेलले ८ हजार २२० मत प्राप्त गरेर अग्रस्थानमा छन् भने पोखरेलले ५ हजार ६८० मत ल्याएका छन् ।
रुपन्देही २ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका विष्णु पौडेल पछिल्लो मतगणनाको रिपोर्ट सार्वजनिक हुनेबेलासम्म पछाडि परेका छन् । पछिल्लो मतपरिणामअनुसार विष्णु पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलभन्दा पछि परेका छन् । स्वतन्त्र पार्टीका गणेश पौडेलले ३ हजार ३१९ मत पाएका छन भने विष्णु पौडेलले २ हजार ८९१ मत पाएका छन् ।
पछिल्लो मतपरिणामअनुसार इलाम निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार रहेका सुवासचन्द्र नेम्वाङ झिनाे मतान्तरसहित अगाडि देखिएका छन् । प्रारम्भिक मतपरिणामअनुसार उपाध्यक्ष नेम्वाङले २८ सय १५ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्प्रर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २७ सय १७ मत प्राप्त गरेका छन् ।
दाङ २ मा उम्मेदवार रहेका एमाले महासचिव शंकर पोखरेल माओवादी उम्मेदवार रेखा शर्मा भन्दा पछाडि परेका छन् । पछिल्लो मतपरिणामअनुसार महासचिव पोखरेल शर्माभन्दा १ हजार ५ सय ७४ मतले पछाडि परेका छन् । १८ हजार ३ सय ८० मत गणना गर्दा शर्माले ७ हजार ५ सय १३ मत प्राप्त गरेकी छिन् भने पोखरेलले ५ हजार ९ सय ३९ मत प्राप्त गरेका छन् ।
चितवन १ बाट उम्मेदवार रहेका एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि मतगणनामा निरन्तर रुपमा पछाडि परेका छन् । पछिल्लो मतपरिणामअनुसार एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे तेस्रो स्थानमा रहेका छन् । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ६ हजार ७६ मतका साथ अग्रता लिइरहेका छन् भने कांग्रेसका विश्वनाथ पौडेलले ५ हजार ८० मत प्राप्त गरेका छन् । एमाले उपाध्यक्ष पाण्डेले भने ४ हजार ५ सय २३ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।
लमजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका एमाले सचिव पृथ्वी सुब्बा गुरुङ र गुल्मी २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका गोकर्ण विष्ट भने अगाडि देखिएका छन् । २० हजार ९०५ मतगणना हुँदा पृथ्वीले १० हजार ३३२ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार देव गुरुङले ८ हजार ५६७ मत पाएका छन् । त्यस्तै गुल्मी २ को पछिल्लो मतपरिणमअनुसार विष्टले १० हजार १ सय २५ प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एकीकृत समाजवादीकी उम्मेदवार राम कुमारी झाँक्रीले ८ हजार ७ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै अर्घाखाँचीबाट उम्मेदवार बनेका एमाले सचिव टोपबहादुर रायमाझी र कैलाली ४ बाट उम्मेदवार बनेका एमाले सचिव लेखराज भट्टले अग्रता लिइरहेका छन् । एमाले सचिव पद्मा अर्याल, प्रदिप ज्ञवाली र योगेश भट्टराई उम्मेदवार रहेको जिल्ला क्रमशः स्याङ्जा २, गुल्मी १ र ताप्लेजुङमा को भने मतगणना शुरु भैसकेको छैन् ।
एमालेका चर्चित नेता तथा भक्तपुर १ का उम्मेदवार पनि पछिल्लो मतगणनासम्म आइपुग्दा रेडजोनमा परेका छन् । पछिल्लो मतपरिणामअनुसार सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा क्षेत्रीले १४ हजार ९६ मत ल्याएका छन् भने बस्नेतले १३ हजार ४३ मत प्राप्त गरेका छन् । त्यस्तै एमालेका अर्का चर्चित तथा विवादास्पद नेता गोकुल बास्कोटा पनि पछिल्लो मतपरिणामअनुसार रेडजोनमा परेका छन् । काभ्रेपलाञ्चोक २ मा उम्मेदवार रहेका बास्कोटालाई नेपाली कांग्रेसका उम्मेदवार शिबप्रसाद हुमागाईंले १३ सय ८० मतले पछाडि पारेका छन् । जसमा पछिल्लो मतपरिणामअनुसार हुमागाईंले ५ हजार ३ सय ८६ मत ल्याएका छन् भने बास्कोटाले ४ हजार ६ मत मात्रै प्राप्त गरेका छन् ।