काठमाडौं ५ असोज। दक्षिण कोरियाको सबैभन्दा ठूलो टेलिकम कम्पनी एसके टेलिकम र नोकिया नेटवर्कले टेलिकम्युनिकेसन क्षेत्रमा ‘फाइभ जी’ सञ्चालन गर्ने तयारीमा जुटेको छ। विश्वका धेरै मुलुकमा फोर जी सञ्चालन हुन नपाउँदै कोरिया भने एक स्टेप अघि बढेर पाँचौँ पुस्तामा जान लागेको हे । यी कम्पनीले ‘फाइभ जीको विकास तथा डिजाइनका लागि १५.६ अर्ब युरो खर्च गर्दैछन् ।
दुवै कम्पनीले फाइभ जी टेक्नोलोजीका कम्पोनेन्ट डेभलपमेन्टका लागि युद्धस्तरमा काम अगाडि बढाइरहेको बताइएको छ। फाइभ जीको गिगावाइट लेभलमा डेटा ट्रान्सफर गर्न मिल्ने गरि कोर टेक्नोलोजी र क्लाउड बेस्ड भर्चुअल स्टेसन विकास गरिरहेको जनाएको छ।

‘एउटा फ्लेक्जिवल र प्रोग्रामेवल नेटवर्कको आर्किटेक्ट गर्नु नै फाइभ जी विकास गर्नका लागि पहिलो काम हो’ नोकिया नेटवर्कका रिसर्च अफिसर लाउरी ओक्साननले भने ‘टेलिकम क्षेत्रका लागि देखाउने भन्दा पनि भविष्यमा आउने प्रविधिसँग मेल खाने फरवार्ड कन्टिन्युड कोअपरेसनको आविष्कार गर्ने उद्देश्य हो।’
उनीहरुले इन्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटियू) मार्फत फाइभ जी विकास गर्नका लागि अनुमति, रोडम्याप र डिजाइन लिइसकेको बताएका छन्।
सन् २०२० सम्ममा विश्वभरिमा फाइभ जी प्रविधिको विकस गरिसक्ने लक्ष अनुसार काम भइरहेको कम्पनीले जनाएको छ।
तर दक्षिण कोरियाले विश्वमा सवैभन्दा पहिले फाइभ जी नेटवर्कको प्रयोग गर्नका लागि सन् २०१८ भित्रमा नै स्पेक्ट्रम लिएर सन् २०१८ मा कोरियामा हुन लागेको विन्टर ओलम्पिकमा चलाइसक्ने योजना अनुसार काम भइरहेको जनाएको छ।
‘एसके टेलिकमले सन् २०१८ सम्म विश्वकै उच्च गतिको फाइभ जी इन्टरनेट ल्याउनका लागि आर्किटेक्चरको काम गरिसकेको छ र हाम्रो टार्गेट नै उच्च गतिको इन्टरनेट सहित मल्टिमिडियाको म्यासिभ डेटा फ्लो गर्ने रहेको छ’ एसके टेलिकमका सिटिओ अपरेटर एलेक्स जून सुङ चोईले भने ‘हामी नोकियासँग नेटवर्क विस्तारका र फाइभ जी प्लटको विकासका लागि एकदम नजिक भएका काम गरिरहेका छौ।’

के हो फाइभ जी
फइभ जी भनेको पाँचौं पुस्ताको वायरलेस टेलिकम्युनिकेसन प्रविधि हो। यो विश्वका धेरै देशहरुमा चलिसकेको र नेपालमा चल्न सुरसार भएको फोरजी प्रविधिभन्दा धेरै एडभान्स र तिब्र गतिको इन्टरनेट र डेटा टान्समिटिङ हुने प्रविधि हो।
यो प्रविधिमा डेटा ट्रान्सफर लाखौं प्रयोगकर्ता बीचमा पनि दश मेगावाइटभन्दा धेरै हुनेछ। एकै अफिसमा डेटा ट्रान्सफर गर्दा एक जिवी भन्दा धेरैको स्पिडमा चल्नेछ। फोरजी भन्दा स्पेक्ट्रल इफिसेन्सी धेरै हुनेछ र कभरेज एरिया पनि धेरै हुनेछ।
यो प्रविधिलाई सुपर इफिसियन्ट मोवाइल नेटवर्क, सुपरफास्ट मोवाइल नेटवर्क र फाइवर र वारयलेस कम्युनिकेसनको हाइब्रिडका रुपमा लिन सकिन्छ।
कुनकुन देशले गर्दैछन् फाइभजीको अनुसन्धान
संसारमा सवैभन्दा पहिले सन् २००८ मा दक्षिण कोरियाले फाइभ जी का लागि रिसर्च गर्नका लागि फ्रेमवर्क बनाएको थियो र सोहि धारणा अनुसार विश्वमा नै पहिले कोरियाले फाइभ जी चलाउने प्राय निश्चित रहेको छ।
अप्रिल २००८ मा नै अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले पनि जियोफ ब्राउन र मेसिन टु मेसिन इन्टलिजेन्स(एमटुएमआई) कर्पोरेसनसँग मिलेर फाइभ जी प्रविधिको विकासका लागि काम अगाडि बढाएको थियो।
त्यस्तै सन् २०१२ मा बेलायतले ‘यनिभर्सिटी अफ सुर्रे’मा फाइभ जी आविष्कार केन्द्रको सुरुवात गरेको थियो। केही बर्ष पहिलेसम्म उसले कोरियाको रिसर्च सेन्टरभन्दा धेरै काम अगाडी बढाइसकेको जनाएको थियो तर अहिले कोरियाले उछिनिसकेको छ।
सन् २०१२ मा नै अमेरिकाको न्युयोर्क विश्वविद्यालयले मल्टिडिसिप्लिनरी अनुसन्धान केन्द्र खोलेको थियो, त्यसै भित्र उसले फाइभ जीको पनि रिसर्च गर्ने केन्द्र बनाएको थियो।
त्यस्तै सन् २०१२ मा नै युरोपेली युनियनले पनि ५० मिलियन युरोको लगानीमा सन् २०२० सम्म चलाउनेगरी फाइभ जी मोवाइल टेक्नोलोजीको अनुसन्धान गरिरहेको छ।
चिनिया कम्पनी हुवावेले सन् २०१३ मा फाइभ जी प्रविधिको विकासका लागि दक्षिणी इटालीको मेल्टा टापुमा ६ सय मिलियन अमेरिकी डलरको लगानीमा रिसर्च सेन्टर खोलेको थियो। हाल हुवावे र इरिक्सन कम्पनीले संयुक्त रुपमा फाइभ जी टेक्नोलोजीको परीक्षण गरिरहेका छन्।
त्यस्तै सन् २०१३ मा नै सामसङ इलेक्ट्रोनिक्सले फाइभ जी प्रविधिका लागी १० जिवी प्रतिसेकेन्डमा डेटा ट्रान्सफरको सफलतापुर्वक परिक्षण गरेको थियो। उसले फाइभ जी टेक्नोलोजिवाट दुई किलोमिटर भित्रमा एक जिवी प्रतिसेकेन्डका दरले डेटा ट्रान्सफर गरेको थियो।
रुसको टेलिकम कम्पनी मेगाफोन र चीनको हुवावेले रसियामा फाइभ जी प्रविधको विकासका लागि संयुक्त रुपमा काम गरिरहेका छन्। रुसले पनि सन् २०१८ मा नै त्यहाँ हुने विश्वकप फुटवलको सुरुवातमा सार्वजनिक गर्ने घोषणा गरेको छ।
एजेन्सीहरुको सहयोगमा