काठमाडौं, ४ असोज । गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सले निस्कासन गर्न लागेको ५० प्रतिशत हकप्रद सेयर आगामी २१ असोजदेखि विक्री खुल्ला हुने भएको छ । विक्री खुल्ला हुने भनिएको दिन शुक्रवार परेको छ भने दशै विदाको अन्तिम दिन पनि सोही दिन परेको छ ।
कम्पनीले १४ लाख ६८ हजार ६ सय ९७ कित्ता हकप्रद निस्कासन गर्न लागेको हो । हकप्रद विक्री बन्द अगामी २५ कात्तिकमा हुनेछ ।
हकप्रद सेयर निस्कासनको लागि कम्पनीले एनआइबिएल क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ भने कम्पनीका शाखा कार्यालय, एनआइविलको कार्यालय तथा उसले तोकेका संकलन केन्द्रहरुवाट पनि हकप्रद भर्न पाइने भएको छ ।
यस्तै मुक्तिनाथ विकास बैंकले दिन लागेको ५० प्रतिशत हकप्रद सेयर निस्कासन पनि २१ असोजदेखि नै हुदैछ । सो बैंकको हकप्रद भर्ने अन्तिम म्याद पनि आगामी २५ कात्तिक तोकिएको छ ।
बैंकको विक्री प्रबन्धक एनआइविएल क्यापिटल छ । हकप्रद भर्नको लागि एनआइविएल क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाट वा मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरुवाट सकिने जानकारी दिइएको छ ।
मुक्तिनाथले ४१ लाख ९२ हजार १ सय ६३ कित्ता हकप्रद सेयर निस्कासन गर्न लागेको हो ।
मितेरी डेभलपमेन्ट बैंकले पनि ५० प्रतिशत हकप्रद सेयर निस्कासन गर्न लागेको छ । सो बैंकको हकप्रद विक्री आगामी १ कात्तिकदेखि खुल्ला हुनेछ भने विक्री बन्द आगामी ५ मंसिरमा हुदैछ ।
मितेरीको हकप्रद सेयर विक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । बैंकले १० लाख ५६ हजार ३ सय ६९ कित्ता हकप्रद सेयर निस्कासन गर्न लागेको हो । हकप्रद भर्नको लागि प्रभु क्यापिटलको कार्यालय कमलादी तथा बैंकका शाखा कार्यालयहरु तोकिएका छन् ।