काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयले आफूलाई एक्काइसौं शताब्दीको एक जीवन्त शैक्षिक संस्थाको रुपमा स्थापित गर्नका लागि चाहिने शैक्षिक गुणस्तरसँगै आधारभूत कक्षाकोठा, अत्याधुनिक फर्निचर, सफा शौचालय, विश्वविद्यालय परिसरभित्र विभिन्न प्रजातिका रुखविरुवा, रंगीविरंगी सुगन्धित फूलहरुले भरिएका सुन्दर बगैंचा निर्माण गरी सबैको आकर्षणको केन्द्रविन्दू बनाउने हेतुले २०७९ साल कार्तिक महिनादेखि हरेक महिनाको दोस्रो र चौथो विहिबार दिउँसो २ : ०० बजेदेखि ०५ : ०० बजेसम्म तीन घण्टा अनिवार्य श्रम गर्ने गरी विश्वविद्यालय अन्तर्गतका प्रत्येक निकाय प्रमुखहरुको नेतृत्वमा ‘मध्यपश्चिम विश्वविद्यालय हरियाली, फलफूल तथा सरसफाई अभियान’ संचालन गर्ने निर्यण गरेको छ ।

सोहि निर्यण अनुरुप आज मिति २०७९ कार्तिक २४ गते कुइनेपानि, सुर्खेत स्थित मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर तथा घण्टाघर लाइन देखि खुलामंच सम्मको फोहोर उठाई सरसफाई अभियानको सुरुवात गरिएको छ ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा। डा। नन्द बहादुर सिंहज्यूको नेतृत्वमा विश्वविद्यालयका रजिष्ट्रार, डीन, कार्यकारी निर्देशक, प्राचार्य, उपकुलपति तथा रजिष्ट्रार सचिवालयका सदस्य र कर्मचारीहरुको सहभागीतामा सरसफाई अभियान सुरु भएको हो ।

सुरुवाती दिनहरुमा विश्वविद्यालय परिवार र त्यसपछि क्रमश मध्यपश्चिम विश्वविद्यालयले थालेको हरियाली, फलफूल तथा सरसफाई अभियानमा स्वयंसेवी श्रमदानकर्ताका रुपमा समाजका विभिन्न सरोकारवाला व्यक्ति, समूह, समुदाय तथा संघ, संस्थाहरुलाई सहभागी गराउन आह्वान गर्ने र यस अभियानमा नियमित योगदान गर्ने संघ, संस्था तथा महानुभावहरुलाई विश्वविद्यालयले विशेष सन्दर्भ पारी कदरपत्रद्वारा सम्मान गर्ने योजना विश्वविद्यालयको रहेको छ ।