
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीको किसानी चन्द्रकुन्ता माविको स्तरवृद्धिका लागि पूर्व विद्यार्थीले एक करोड बढी सहयोग जुटाएका छन् । दश जोड दुई तहको कक्षा र प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्न धारापानी पूर्व विद्यार्थी संघले अक्षयकोष स्थापना गर्न आर्थिक स्रोत जुटाएको हो । संघका अध्यक्ष भरतबहादुर थापाले स्वदेश तथा विदेशमा रहेका धारापानी र छिमेकी गाउँका बासिन्दाबाट एक करोड तीन लाख सहयोग जुटेको जानकारी दिए।
सामाजिक सञ्जाल फेसबुकबाट अभियानका साथै सांस्कृतिक कार्यक्रम गरेर आर्थिक सङ्कलन गरिएको हो । धारापानीकी सरु पुनले सबैभन्दा बढी सात लाख उपलब्ध गराएकी छन्। विद्यालयको भवन बनाउन स्थानीय चक्रबहादुर थापा, उनका भाइ पूर्ण थापा, बहिनी सुवा र मना खत्रीले बुबा चन्द्रबहादुर थापा र आमा कुन्तादेवी थापाको नाममा सात रोपनी जग्गा उपलब्ध गराएका छन्। जग्गा उपलब्ध गराउने दाताको नाममा विद्यालयको नामाकरण गरिएको छ । यसअघि किसानी मावि नाम थियो । दाताको नाम थपेर किसानी चन्द्रकुन्ता मावि बनाइएको छ ।
धारापानी घर भई हाल अमेरिकामा रहेका मोहन थापाले पाँच लाख दुई सय १५, बेदबहादुर राना र गीता रानाले पाँच लाख एक सय ५५, तेजिन्द्र थापा र विष्णु थापाले तीन लाख एक सय २५, काठमाडौँमा बस्ने पदमजङ्ग थापाले एक लाख पाँच सय ५५, लालबहादुर राना र नरदेवी रानाले र एक लाख एक सय ११ सहयोग गरेका छन् । एक वर्षभित्र जम्मा गरिसक्ने र अक्षयकोष बनाएर विद्यालयको स्तरवृद्धिका लागि परिचालन गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर थापाले बताए। कक्षा १० सम्मको पठनपाठन हुने विद्यालयमा दुई सय २८ जना विद्यार्थी छन् ।