काठमाडौं । पुरातत्व विभागले टुकुचालाई भूमिगत गर्न बनाइएको सुरुङ कम्तिमा १३० वर्षअघि राणा प्रधानमन्त्री वीरशमशेरको पालमा बनेको पुष्टि हुने थप प्रमाणहरु पत्ता लगाएको छ ।
महानगरले टुकुचा खोला मिचेर अनधिकृत संरचना बनाएको भन्दै जय नेपाल हलदेखि कमलादी मोडसम्मको संरचनामा डोजर चलाएपछि उनीविरुद्ध सम्बन्धित घरधनीहरु अदालत गएका थिए । महानगरले जयनेपाल हलदेखि कमलादी मोडसम्मको टुकुचा खोला रेखांकन गरिदिन नापी विभागलाई पत्राचार गरेको थियो ।
मन्त्रालयले त्यसपछि सहसचिव जनकराज जोशीको संयोजकत्वमा यसबारे अध्ययन गर्ने समिति गठन गरेको थियो । जसले अध्यन गर्दै जाने क्रममा महानगरले सुरुङ खोतलेको क्षेत्रमा निस्किएका कतिपय इँटामा ‘श्री(३ वीर’ लेखेको भेटाएको समितिका एक सदस्यले बताएका छन् ।
यसअघि नै टुकुचा सुरुङमार्ग करिब १३० वर्षअघि नै वीर शम्शेरले बनाउन लगाएको कागजी प्रमाणहरु सार्वजनिक भएका थिए । तर, महानगरपालिकाले खोला अतिक्रमण गरेर बनाइएको भन्दै त्यसलाई खुला गर्न ठाउँ(ठाउँमा डोजर चलाएको थियो ।