काठमाडौं । अमेरिकाको फ्लोरिडा राज्यमा बुधवार बियर बोकेको ठूलो ट्रक पल्टँदा हजारौँ क्यान बियर पोखिएपछि एउटा राजमार्ग नै अवरुद्ध हुनपुगेको छ । बियर बोकेको उक्त सेमी ट्रेलर सडकका छेउमा रहेका ट्रकहरूमा गएर ठोक्किएको थियो। हजारौँ क्यान पोखिएपछि राजमार्गको सबै लेन बन्द भएको बताइएको छ ।
फ्लोरिडाको हाइवे पेट्रोलले लिएको तस्बिरहरूमा छरपस्ट बाकस तथा क्यानहरूका कारण सडक नै पुरिएको देखिन्छ। केही घण्टापश्चात् बल्ल राजमार्ग खुलेको थियो।
घटनामा केही सामान्य घाइते भएका थिए। त्यहाँको स्थानीय सञ्चारमाध्यम ट्याम्पा बे टाइम्सका अनुसार व्यस्त राजमार्गमा दुईवटा सेमी ट्रेलर जुधेका कारण तिनलाई बुधवार बिहानै सडकको किनारामा राखिएको थियो। थप दुईवटा सेमी ट्रेलर तथा एउटा पिकअप ट्रकलाई ती गाडी तान्न त्यहीँनेर राखिएको थियो।
त्यतिनै बेला बियरले भरिएको पाँचौँ सेमी ट्रेलर त्यहीँनेर आइपुग्यो। तीव्र गतिको उक्त गाडी समयमै रोकिन नसक्दा त्यही पार्क गरेर राखिएका गाडीमा ठोक्किन पुग्यो। बियरका साथसाथै अर्को ट्रकमा भएका कंक्रिट पनि सडकभरि पोखिएको थियो। बिबिसी