रुपन्देहीमा अटिजम विशेष विद्यालय सञ्चालनको तयारी

<p>बुटवल । रुपन्देहीको तिलोत्तमामा अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय सञ्चालनको तयारी थालिएको छ । सिकलसेल र अटिजमविरुद्ध अभियान सञ्चालन गरेको रोटरी क्लब अफ तिलोत्तमा अटिजम विशेष विद्यालय सञ्चालनका लागि आवश्यक अध्ययन गरिरहेको क्लबका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए । अटिजम बालबालिकामा देखिने एक प्रकारको मानसिक जस्तै समस्या हो । अटिजम भएका बालकालिकामा उनीहरुले गर्ने [&hellip;]</p>

बुटवल । रुपन्देहीको तिलोत्तमामा अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय सञ्चालनको तयारी थालिएको छ । सिकलसेल र अटिजमविरुद्ध अभियान सञ्चालन गरेको रोटरी क्लब अफ तिलोत्तमा अटिजम विशेष विद्यालय सञ्चालनका लागि आवश्यक अध्ययन गरिरहेको क्लबका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए ।

अटिजम बालबालिकामा देखिने एक प्रकारको मानसिक जस्तै समस्या हो । अटिजम भएका बालकालिकामा उनीहरुले गर्ने संवाद, क्रियाकलाप अस्वभाविक व्यवहार देखापर्ने अटिजम केयर सोसाइटी लुम्बिनीका अध्यक्ष डा सतिस रुपाखेती बताउँछन् । ‘यो जन्मजात समस्या हो, तर के कारणले हुन्छ यस विषयमा अहिलेसम्म केही पत्ता लागेको छैन’, उनले भने, ‘यद्यपि वैज्ञानिकले वंशाणुगत समस्या भएको अनुमान गरेका छन् ।’

डा रुपाखेतीका अनुसार नेपालमा कूल जनसङ्ख्याको १ प्रतिशतमा यो समस्या रहेको अनुमान गरिएको छ । जसअनुसार नेपालमा तीन लाखमा र लुम्बिनी प्रदेशमा आठदेखि १० हजारमा यो समस्या रहेको अनुमान गर्न सकिन्छ । रुपन्देही जिल्लामा करिब दुई सय ५० जना अटिजम केयर सोसाइटीको सम्पर्कमा आएका छन् ।

रुपन्देही जिल्लामा अटिजम विद्यालय सञ्चालनका लागि रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले एक चरणमा तिलोत्तमाको शान्ति नमूना माध्यमिक विद्यालय र अटिजम केयर सोसाइटी लुम्बिनीसँग छलफल गरेको छ । लुम्बिनी प्रदेश सरकार, तिलोत्तमा नगरपालिका, शान्ति नमूना माध्यमिक विद्यालय र अटिजम केयर सोसाइटीबाट सहयोगको प्रतिबद्धता प्राप्त भएको अध्यक्ष भण्डारीले बताए ।

त्यस्तैगरी अटिजम र सिकलसेस एनिमिया दुई वटा परियोजनामा सहयोग गर्नका लागि क्लबले जापानको ‘रोटरी सेटेलाइट क्लब अफ बाको २१ साकितामा’ लाई प्रस्ताव गरेको छ । रासस

Share News