काठमाडौं, २४ भदौ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले एक अर्ब रुपैंयाँको नबिल इक्विटी फण्ड ल्याएको छ । सात बर्षे अवधीको इक्विटी फण्डमा न्युनतम एक हजारदेखि १० करोड रुपैंयाँसम्म लगानी गर्न सकिने छ । बीज पुँजीका रुपमा नबिल बैंक र नबिल इन्भेष्टमेन्टको १५ प्रतिशत लगानी रहनेछ ।

७ बर्षे अवधीका लागि ल्याइएको फण्डको आवेदन बन्दमुखी हुनेछ भने असोज २ गतेबाट निष्काशन आरम्भ हुँदैछ । चाँडोमा असोज ६ गतेभित्रै निष्काशन बन्द गर्न सकिने कम्पनीले जनाएको छ । लगानी कर्ताले नबिल बैंकको शाखा कार्यालयहरु तथा नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
फण्डको सुपरिवेक्षकमा पुर्व महान्याधिवक्ता प्राध्यापक पवन कुमार ओझा, शिक्षा विद डा. विजय कुमार केसी, सिए पुष्पलाल श्रेष्ठ, प्राध्यापक सुरबिर पौड्याल र बिनोद बाबु काफ्लेलाई राखिएको छ।
हाल कम्पनीले नबिल ब्यालेन्स फण्ड १ सञ्चालन गरिरहेको छ । नेपाल स्टक एक्सचेञ्जमा फण्डको प्रति इकाइ मुल्य २५ रुपैंयाँमा कारोबार भैरहेको छ । नबिल ब्यालेन्स फण्डका लगानी कर्ताले पछिल्लो दुई वर्षदेखि प्रतिवर्ष १४ प्रतिशतका दरले लाभांश प्राप्त गरिरहेका छन् ।