
काठमाडौं । एसईई र कक्षा १२ को नतिजाले नेपालको शिक्षा क्षेत्र पछिल्ला दिनमा थप खस्कँदै गएको देखाएकोले यसको सुधारका निम्ति यथाशिघ्र पहल गर्नुपर्ने शिक्षाविद्हरुले धारणा राखेका छन् ।
शिक्षाविद्हरुका अनुसार विद्यालय तहको शिक्षामा पाठ्यक्रम, पाठ्यपुस्तक, शिक्षकको गुणस्तर, शैक्षिक क्यालेन्डर र परीक्षा प्रणाली लगायत धेरै विषयहरुमा समस्या रहेका छन्, जसलाई जिम्मेवार तहबाट सम्बोधन गर्न आवश्यक रहेको छ ।
ग्रेडिङमाथि प्रश्न
विद्यालय तहको परीक्षामा राष्ट्रिय परीक्षा बोर्डले लागु गरेको ग्रेडिङ प्रणालीमाथि शिक्षा क्षेत्रका विज्ञहरुले फरक–फरक धारणा राखेका छन् । कतिपयले ग्रेडिङ सही नभएको बताएका छन भने कतिपयले सही भएको तर्क गरेका छन् ।
शिक्षाविद् डा। विद्यानाथ कोइरालाले कक्षा १२ को परीक्षाको नतिजाअनुसार नन ग्रेडिङको संख्या ठूलो देखिएकोले सो विषय चूनौतिपूर्ण भएको बताएका थिए । विद्यालय शिक्षा सुधारका लागि शिक्षकहरुलाई ग्रेडिङ गर्नुपर्ने डा. कोइरालाको धारणा छ ।
अर्का शिक्षाविद् मनप्रसाद वाग्लेले विद्यालय तहको परीक्षाको नतिजामा गरिएको ग्रेडिङ उपयुक्त रहेको बताए । विद्यार्थीलाई विद्यार्थीलाई टेकस्टबुक पढाएर ग्रेडिङ गरिएकोले उनीहरुको उनीहरुको क्षमता नाप्ने काम नभएको बताउँछन्, विद्यालय तहको शिक्षामा निश्चित विषयमा कम्पिटेन्स टेस्ट गर्नुपर्ने र सोही आधारमा नतिजाको ग्रेडिङ गर्नुपर्ने वाग्लेको धारणा छ ।
उलेन्स स्कुल ललितपुरका प्रधानाध्यापक मेदिन लामिछानेले राष्ट्रिय परीक्षा बोर्डले कस्ता सामग्रीहरुमा विद्यार्थीमाथि टेस्ट गरेर विद्यार्थीले अहिलेको ग्रेड हासिल गरेको हो भन्ने कुरा नभन्ने गरेको बताए । विद्यार्थीहरुले के कुरा नजानेर उच्च ग्रेड हासिल भएन भन्ने कुरा थाहा पाउन नसकिएको भन्दै उनले अहिलेको ग्रेडको मापदण्डहरु सही नभएको उनको भनाइ छ । विद्यार्थीले कुन विषयमा कति नम्बर ल्यायो भन्ने आधारमा ग्रेड दिने पद्दती लागु गर्नुपर्ने भन्दै उनले विद्यार्थीले साँच्चिकै जानेबुझेको कुरामा मार्किङ गर्ने काम भएको विषयमा उनको प्रश्न उठाए ।
विद्यालय तहमा परीक्षा घटाउनुपर्ने
विद्यालय तहमा प्रत्येक कक्षामा परीक्षा गर्ने तरिका सही नभएको कुरामा धेरै शिक्षाविद्हरुको समान धारणा रहेको छ । विद्यालय क्षेत्र सुधारको विषयमा बोल्दै उनीहरुले सो कुरा बताएका छन् । संख्यात्मक रुपमा भिन्न मत भएता पनि परीक्षा धेरै भएको र यसलाई घटाउनुपर्ने कुरामा उनीहरुको समान मत रहेको छ ।
शिक्षाविद् प्रा।डा। बालकृण लुईंटेलले शिक्षा क्षेत्रलाई सामान्य अवस्थामा सुधार गर्ने की एक्सिलेन्स खोज्ने भन्ने प्रश्न उठाएका छन् । परीक्षालाई जोड दिने हो की सिकाई रु सबै कक्षामा परीक्षा गर्ने प्रणालीप्रति असहमति जनाउँदै उनले आफ्नो विचारमा कक्षा १२ मात्रै परीक्षा भए हुने बताए । विद्यालय तहमा परीक्षा धरैपटक गर्ने कुरा राम्रो नभएको भन्दै प्राडा। लुईंटेलले ‘बाघको अगाडि बाख्रा डराउने’ भन्दै धेरै मुलुकहरुले परीक्षालाई हटाएको बताएका छन् । त्यस्तै, उलेन्स स्कुलका प्रधानाध्यापक मेदिन लामिछानेले कन्सेप्ट बेस अध्यापन पद्दती लागु गर्नुपर्ने र निश्चित कक्षामा मात्रै जाँच लिने व्यवस्था हुनुपर्ने बताएका छन् ।
शिक्षक र विद्यालयलाई जिम्मेवार बनाउनुपर्ने
विद्यालय तहको शिक्षाको सुधारका लागि शिक्षक र विद्यालय जिम्मेवार हुनुपर्ने शिक्षा क्षेत्रका विज्ञहरुको धारणा रहेको छ । विद्यार्थीको नतिजा विद्यालय र शिक्षक जिम्मेवार नहुने बेलासम्म राम्रो हुन नसक्ने उनीहरुको भनाइ छ ।
विद्यालय सुधारका लागि शिक्षकलाई ग्रेडिङ गरेर असक्षक शिक्षकहरुलाई विदाई गर्नुपर्ने शिक्षाविद् डा। विद्यानाथ कोइराला बताउँछन् । शिक्षकहरुलाई अब्बल , दोयम, सिम र चार गरेर ग्रेडिङ गर्नुपर्ने भन्दै उनले अब्बल तहले दोयमलाई सिकाउनुनपर्ने, दोयम तहले सिम तहलाई सिकाउनुपर्ने र चार तहलाई बिदाई गर्नुपर्ने बताए । साथै, उनले पछिल्लो समयमा शिक्षकहरुलाई अपडेट गर्ने कुरामा समस्या भएको बताउँदै शिक्षकहरुलाई अपडेट गर्नको लागि ओरेन्टसन कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।
हिसानका अध्यक्ष रमेश सिलवालले विद्यार्थीलाई पास हुन प्रतिशत चाहिने तर विद्यालय र शिक्षकलाई नचाहिने कुरामा प्रश्न उठाए । विद्यालयमा राम्रो पढाउनेलाई प्रोत्साहनको व्यवस्था हुनुपर्ने उनको भनाइ छ । शिक्षकको तलबको विषयमा असतुन्ष्टि जनाउँदै सिलवालले राणाको समयमा पनि अरुकोभन्दा शिक्षकको तलब बढी भएको सुनाए ।
तारकेश्वरस्थित साङ्ला बालकुमारी माविका प्रधानाध्यापक डा। टिकाराम भट्टले विद्यालय तहको शिक्षामा पढाउने काम भएको तर सिकाउने काम नभएको बताए । असाध्यै थोरै विद्यालयमा मात्रै कन्सेप्ट पद्दतीमा आधारित रहेर अध्यापन कार्य भएको भन्दै उनले ९८ प्रतिशत शिक्षकहरु तालिमप्राप्त भएतापनि उनीहरुमा पाठयोजना बनाउने, कक्षाकोठाको ह्यान्डल गर्ने र प्रश्नपत्र बनाउने कुरामा क्षमता भएको विषयमा प्रश्न उठाए । शिक्षकहरुलाई कार्यसम्पादन करार अनिवार्य गर्नुपर्ने उनले बताए ।
सिकाइमा सुधारको आवश्यकता
शिक्षाविद् डा। विद्यानाथ कोइरालाले सिकाईको सुधार गर्ने की परीक्षा सुधार गर्ने भन्ने विषय महत्वपूर्ण देखिएको भन्दै उनले कप्टिसनमा आधारित सिकाई प्रणालीको विकास गर्नुपर्ने धारणा राखेका थिए । कप्टिसनमा आधारित सिकाइको विकास गर्दा स्थानीय विषयलाई लिभरेज दिँदै विद्यार्थीलाई निश्चित अभ्यास गर्नैपर्ने जिम्मेवारी दिनुपर्ने डा। कोइरालाको भनाइ छ ।
प्रा।डा। बालकृष्ण लुईंटेलले जनक शिक्षा सामग्री कम्पनीले उत्पादन गरेको पुस्तक पूर्ण रुपमा सही नभएको र अन्य निजी पब्लिकेसनहरुले प्रकाशन गरेको पाठ्यपुस्तकहरु बजारमा बेच्न नै अयोग्य भएको बताए । किताबको गुणस्तरका लागि नयाँ कानून आवश्यक भएको प्रा।डा। लुईंटेलको भनाइ छ । पाठ्यक्रम विकास केन्द्रले पुस्तकको रिभ्यु गर्ने काम छाप लगाउने कुरामा मात्रै सिमित भएको उनले बताए ।
उलेन्स स्कुल ललितपुरका प्रधानाध्यापक मेदि लामिछानेले विद्यालय तहको शिक्षामा सिकाइमा नै समस्या भएको तर उत्पादनमा समस्या देख्ने गरेको बताए । परीक्षकको जिम्मेवारी तोक्ने प्रणाली सही नभएकोले सो विषयमा पनि सुधार गर्नुपर्ने लामिछानेको भनाइ छ । कतिपय मुलुकमा परीक्षकको लागि भिन्नै लाइसेन्सको व्यवस्था हुनेगरेकोमा नेपालमा पनि त्यसको अभ्यास गर्नुपर्ने उनले बताए । समस्या परीक्षकमा पनि हुन सक्ने विषयमा अनुसन्धान नभएको उनी बताउँछन् ।
राष्ट्रिय परीक्षा बोर्डले ‘विद्यालय तहको परीक्षाको नतिजा, वर्तमान अवस्था र भावी कार्यदिशा’ विषयमा सोमबार काठमाडौंमा आयोजना गरेको एकदिवसीय गोष्ठीमा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्वहरुले आफ्ना प्रतिक्रिया तथा सुझाव राखेका थिए ।