आर्थिक विकासको लागि युद्धस्तरमा काम गर्नुपर्ने आवश्यकता छः प्रधानमन्त्री

<p>काठमाडौं, २१ भदौं । प्रधानमन्त्री पुस्पकमल दाहालले आर्थिक विकास र समृद्धिको लागि युद्धस्तरमा काम गर्नुपर्ने बताएका छन् । गत बर्षको भूकम्प र भारतको नाकाबन्दीको कारण आर्थिक परिसुचक कमजोर भएको भन्दै उनले यसको सुधारको लागि युद्धस्तरमा काम गर्नुपर्ने आवश्यकता औल्याएका हुन् । ‘राजनीतिक र सामाजिक अधिकार प्राप्तिको लागि हामीले ठूलो उपलब्धी हासिल गरेका छौं, यो अधिकारलाई [&hellip;]</p>

काठमाडौं, २१ भदौं । प्रधानमन्त्री पुस्पकमल दाहालले आर्थिक विकास र समृद्धिको लागि युद्धस्तरमा काम गर्नुपर्ने बताएका छन् । गत बर्षको भूकम्प र भारतको नाकाबन्दीको कारण आर्थिक परिसुचक कमजोर भएको भन्दै उनले यसको सुधारको लागि युद्धस्तरमा काम गर्नुपर्ने आवश्यकता औल्याएका हुन् ।

‘राजनीतिक र सामाजिक अधिकार प्राप्तिको लागि हामीले ठूलो उपलब्धी हासिल गरेका छौं, यो अधिकारलाई संस्थागत गर्नको लागि ‘वार फूटिङ्ग’ (युद्धस्तर) मा काम गर्नुपर्ने आवश्यकता छ,’ नेपाल आर्थिक संघ स्थापनाको रजत जयन्ती कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भने ।

अहिलेको सरकार चुनौतिको विचमा गठन भएको पनि दाहालले बताए । ‘संविधान बने पनि कार्यान्वयनको चुनौति अझै छ, गत बर्षको भूकम्प र सीमा अवरोधको कारण आर्थिक परिसुचक कमजोर बनेका छन्, आर्थिक बृद्धि र समृद्धिको चुनौति हाम्रा सामु छ,’ प्रधानमन्त्री दाहालले भने । उनले गत बर्ष भारतले लगाएको अघोषित नाकाबन्दीलाई सीमा अवरोध भने ।

संघका अध्यक्ष प्राडा विश्वम्भर प्याकुरेलले नेपालको अर्थतन्त्र संरचनागत समस्यामा जेलिएको बताए । ‘कुनै बर्ष आर्थिक बृद्धि राम्रो देखिए पनि त्यसले रोजगारी सिर्जनालाई सहयोग पुर्याएको देखिएन, गरिबीको रेखामुनी रहेका मानिसको संख्या घटेको देखिए पनि आर्थिक असमानता कम भएको देखिदैन, यो अर्थतन्त्रको गम्भीर संरचनागत समस्या हो,’ अध्यक्ष प्राडा प्याकुरेलले भने ।NEA

अहिलेको अर्थतन्त्रले उच्च मूल्य बृद्धि (हाइपर इन्फ्लेसन) को सामना गरिरहेको उनको भनाइ छ । ‘नेपाल राष्ट्र बैंकले प्रवाह गरेको मुद्राले सिर्जना गर्ने भन्दा पनि बढी मूल्य बृद्धि भइरहेको छ, यस्तो हाइपर इन्फ्लेसनको समस्या समाधान गर्नु र अर्थतन्त्रको संरचनागत समस्या समाधान गर्नु अहिलेको चुनौति हो,’ अध्यक्ष प्राडा प्याकुरेलले भने । यस्तै महालेखा परीक्षकको कार्यालयले करिब ३ सय ५० अर्ब रुपैयाँ बेरुजु देखाएपनि त्यस्तो बेरुजु समयमै फछ्र्योट हुन नसक्नु समस्याको रुपमा देखिएको पनि उनको भनाइ छ ।

संघका पूर्वअध्यक्ष प्राडा मदन कुमार दाहालले आर्थिक नीति निर्माणमा संघले महत्वपूर्ण सहयोग गर्दै आएको बताए । ‘बजेट निर्माणको क्रममा आवश्यक सुझाव र राजस्व दरका विषयमा पनि परामर्श दिदै आएका छौं, देशले लिने आर्थिक नीति र दिसाको बारेमा पनि हामीले सक्दो सहयोग गरेका छौं, पूर्वअध्यक्ष प्राडा दाहालले भने ।

संघले विशिष्ट योगदान पुर्याएको भन्दै तीन जना अर्थशास्त्रीलाई सम्मान पनि गरेको छ । यसरी सम्मान गरिएका अर्थशास्त्रीहरुमा पूर्वमन्त्री डा. भेषबहादुर थापा, संघका निवर्तमान अध्यक्ष प्राडा मदनकुमार दाहाल र पूर्वमन्त्री डा. बद्रीप्रसाद श्रेष्ठलाई सम्मान गरेको हो ।

संघको प्राविधिक सत्रमा डा. गोविन्द नेपाल र डा. खिमलाल देबकोटाले अन्तरसरकारी वित्तीय सम्बन्धः कार्यान्वयनका चुनौति र निकास विषयमा कार्यपत्र पेश गरेका छन् ।

Share News