महानगरमै पुगेर काठमाडौं फनपार्कले बुझ्यो कर तिर्ने पत्र, २४ घण्टाभित्र नतिरे बन्द गरिने

<p>काठमाडौं । बुधबार कर तिर्ने पत्र बुझ्न नमानेको फनपार्कले बिहीबार काठमाडाैं महानगरमै पुगेर पत्र बुझेको छ । बिहीबार बिहान ११ बजे महानगरमा पुगेर काठमाडौं फनपार्क प्रालिको सञ्चालक समूहले कर तिर्न ताकेता गरेको पत्र बुझेको हो । काठमाडौं महानगरपालिका राजश्व विभागका प्रमुख शिवराज अधिकाका अनुसार काठमाडौं फन पार्कले व्यवसाय कर वर्षको २० हजार रुपैयाँ तिर्नु पर्ने [&hellip;]</p>

काठमाडौं । बुधबार कर तिर्ने पत्र बुझ्न नमानेको फनपार्कले बिहीबार काठमाडाैं महानगरमै पुगेर पत्र बुझेको छ । बिहीबार बिहान ११ बजे महानगरमा पुगेर काठमाडौं फनपार्क प्रालिको सञ्चालक समूहले कर तिर्न ताकेता गरेको पत्र बुझेको हो ।

काठमाडौं महानगरपालिका राजश्व विभागका प्रमुख शिवराज अधिकाका अनुसार काठमाडौं फन पार्कले व्यवसाय कर वर्षको २० हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । सो कर पनि ६/७ वर्ष देखि पार्कले तिरको छैन । उनीहरूले बहाल कर कति लिन्छन् भन्ने विषयको सम्झौता महानगरलाई नदिएको पनि उनले बताए ।

‘सञ्चालक टिमले हिजो चिठी बुझ्न मानेको थिएन, चिठी बुझेको २४ घण्टा भित्र कर बुझाउनु पर्ने हुन्छ, आज महानगरमै आएर पत्र बुझेको छ, त्यो समय भित्र कर नतिरे महानगरले फन पार्क बन्द गर्नेछ,’ उनले भने ।

काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपस्थित ‘काठमाडौं फन पार्क प्रालि’लाई कर तिर्न ताकेता गरेको थियो । हिजो अर्थात् बुधबार काठमाडौं महानगरको राजस्व विभागले पत्राचार गर्दै २४ घण्टाभित्र व्यवसाय कर, बहाल कर, मनोरञ्जन कर र विज्ञापन कर तिर्नका लागि फन पार्कलाई ताकेता गरेको थियो ।

पत्राचारमा तोकिएको अल्टिमेटमभित्र कर नतिरे फन पार्क सिलबन्दी गरी असुल उपर गरिने चेतावनी दिइएको छ । तोकिएको समयभित्र नबुझाएमा त्यस फन पार्क सिलबन्दी गरी तिर्नुपर्ने राजश्व सरकारी बाँकी सरह असुल उपर गरिने पनि जानकारी गराइएको छ ।

समाजकल्याण परिषद्को स्वामित्वमा रहेको उक्त क्षेत्रमा काठमाडौं फन पार्क पार्क प्रालिले भाडामा भौतिक संरचनाहरू निर्माण गरी विभिन्न खेल गतिविधि सञ्चालन गर्दै आएको छ । काठमाडौं फन पार्क नेपाली कांग्रेसका नेता एवं पूर्वश्रमराज्य मन्त्री टेकबहादुर गुरुङको कम्पनी हो ।

Share News