काठमाडौं । आज गणेश चौथी । भगवान गणेशको विशेष पूँजा आराधनासहित गणेश चौथी मनाइँदैछ ।
हरेक वर्ष भाद्र शुक्ल चतुर्थी तिथिका दिनलाई गणेश चौथीको नाममा वैदिक सत्य सनातन हिन्दु धर्मावलम्वीहरुले मनाउने गर्छन् । आज देशभरका गणेश मन्दिरमा विशेष मेला लाग्छ । आज उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजासहित भक्तजनको भीड छ ।
गणेशलाई लड्डु (मोदक) चढाएर आफ्नो मनोकामना पुरा हुने विश्वास अनुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरु मोदक बोकेर पुगेका छन् । कुनैपनि धार्मिक कार्य शुरु गर्नुअघि गणेशको पूँजा गर्दा सफल हुने जनविश्वास छ । आजैका दिन गणेशको जन्म भएको शिवपुराणमा उल्लेख छ । हरितालिका तीजको भोलिपल्ट आज गणेश चौथी मनाउने गरिन्छ । हिजो व्रत बसेका महिलाहरुले आज बिहानै गणेशको पूजा गरी दिनभर नाचगान र व्रत बस्ने गर्छन् । यसदिन कसैको हानी नोक्शानी पुर्याए त्यसको पाप नलाग्ने विश्वास गरिन्छ ।
भोलि (बिहीवार) ऋषिपञ्चमी पर्व मनाइएपछि तीज औपचारिक रुपमा समापन हुन्छ । गणेश चौथीको दिन नेवार समुदायले भने चथा पर्व मनाउँदैछन् । आज बेलुका चन्द्रमालाई पूजा गरेर यो पर्व मनाइने गरिन्छ । चन्द्रमालाई आज चोर देवताका रुपमा पूँजा गरिन्छ । कमलको फूल, चथा फूल, फलफूल, अदुवाको बोट लगायत राखेर चन्द्रमाको पूँजा गर्ने चलन छ ।