काठमाडौं, २० भदौ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका बैंक तथा वित्तीय संस्थामा निक्षेपभन्दा कर्जाको अंश करिब दोब्बर छ । तर कर्जाको अवस्था खराब छ ।
गत असार मसान्तसम्ममा समस्याग्रस्त ३ अर्ब ३ करोड ७३ लाख रुपैयाँ निक्षेप रहेको छ । जवकि सोही अवधिसम्ममा यस्ता संस्थाले प्रवाह गरेको कर्जा भने ६ अर्ब ४२ करोड ३५ लाख रुपैयाँ छ ।
नेपाल राष्ट्र बैंकका अनुसार समस्याग्रस्त संस्थाले प्रवाह गरेको अधिकांश कर्जा खराब बर्गमा परिसकेको छ । सवै संस्थाहरुको गरेर समग्रमा ९७ दशमलब ३ प्रतिशत कर्जा खराब बर्गमा परेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यस्ता संस्थामा अझै पनि ७३ हजार ३ सय ८१ जनाको निक्षेप खाता छ । समस्याग्रस्त संस्थामा अझै पनि ७७ करोड १० लाख रुपैयाँ ब्यक्तिगत निक्षेप छ ।
नेपाल राष्ट्र बैंकले नेपाल सेयर मार्केटस् फाइनान्स, क्रिस्टल फाइनान्स, कुबेर मर्चेन्ट फाइनान्स, क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, जनरल फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, कर्पाेरेट डेभलपमेन्ट बैंक, अरुण फाइनान्स र ललितपूर फाइनान्सलाई समस्याग्रस्त घोषणा गरेको छ ।