
फाइल फोटो
काठमाडौं । ट्राफिक प्रहरीले दुई जना चालकलाई अभद्र व्यवहारमा मुद्दा चलाएको छ । नियमित रात्रिकालिन चेकिङ गर्ने क्रममा गए राती मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका भाडा बसका चालक १ जना र ट्याक्सी चालक १ जना गरी २ जनालाई प्रहरीले अभद्र व्यवहारमा मुद्दा चलाएको हो ।
मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका उनीहरुलाई कारबाही गर्न खोज्दा ट्राफिक प्रहरीमाथि नै अभद्र व्यवहार गरेकाले मुद्दा चलाएको प्रहरीले बताएका छन् ।
कीर्तिपुरको त्रिभुवन विश्वबिद्यालय अगाडीको सडकमा बा ३ ख ४३ ८३ नम्बरको भाडा बसका चालक धादिङको बेनिघाट रोराङ गाउँपालिका २ घर भइ हाल काठमाडौंको टोखा बस्दै आएका सरोज श्रेष्ठ, मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा पक्राउ परेका हुन् । पक्राउ परेका श्रेष्ठलाई अभद्र व्यवहार मुद्दामा ५ दिन म्याद थप अनुमति लिइ प्रहरी वृत्त कीर्तिपुरमा राखेर अनुसन्धान भइरहेको छ ।
त्यस्तै, भक्तपुरको जगातीमा गए राती भएको ट्राफिक प्रहरीको चेकिङमा बा २ ज ५६ १५ नम्बरको ट्याक्सी चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका ११ घर भएका ४० वर्षीय अनिल धिताल, मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको अवस्थामा पक्राउ परेका हुन् । पक्राउ परेका धिताल उपर अभद्र व्यवहार मुद्दामा ७ दिन म्याद थप अनुमती लिई प्रहरी वृत्त जगातीमा राखेर अनुसन्धान भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
चालकहरुले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउँदा दुर्घटनाको जोखिम बढेको र सम्भावित दुर्घटनालाई रोक्नको लागी ट्राफिक चेक जाँचलाई तीव्रता दिईएको समेत उनले बताए ।