लाखको लगानीबाट करोडौंको कारोबार, ५० जनालाई रोजगारी, छोरी स्टाफ नर्स

<p>काठमाडौं । सानो लगानीबाट सुरु गरिएको व्यवसायले कुनै बेला नसोचेको परिणाम दिन्छ भन्ने कुरा तपाईं कत्तिको पत्याउनुहुन्छ ? विश्वमा धनाड्य बनेका अर्थात सफल व्यवसायी बनेका अधिकांश मानिसहरुले सानै लगानीबाट व्यवसाय सुरु गरेको इतिहास छ । तर, त्यसको लागि निरन्तरको मेहेनत, लगाव र धैर्यताको भने खाँचो अवश्य नै चाहिन्छ । इलाम नगरपालिका वडा नं. ८ तिल्केनीकी [&hellip;]</p>

काठमाडौं । सानो लगानीबाट सुरु गरिएको व्यवसायले कुनै बेला नसोचेको परिणाम दिन्छ भन्ने कुरा तपाईं कत्तिको पत्याउनुहुन्छ ? विश्वमा धनाड्य बनेका अर्थात सफल व्यवसायी बनेका अधिकांश मानिसहरुले सानै लगानीबाट व्यवसाय सुरु गरेको इतिहास छ । तर, त्यसको लागि निरन्तरको मेहेनत, लगाव र धैर्यताको भने खाँचो अवश्य नै चाहिन्छ । इलाम नगरपालिका वडा नं. ८ तिल्केनीकी दिपा गुरुङले आफु सफल उद्यमीका रुपमा चिनिन्छु भन्ने कहिल्यै सोचेकी थिइनन् ।

घरको आर्थिक अवस्था कमजोर भएपछि दिपाका श्रीमान १५ वर्ष अगाडि वैदेशिक रोजगारीका लागि दुवईतर्फ लागे । श्रीमान् वैदेशिक रोजगारीमा गएपछि आफूले पनि आय आर्जन हुने काम गर्न पाए परिवार चलाउन अझ सहज हुन्छ भन्ने सोच दिपामा पलायो । उनी कामको खोजीमा भौतारिन थालिन् ।

छोराछोरी बढ्दै थिए । उनीहरूको शिक्षा दीक्षाको लागि आर्थिक जुटाउनु पर्ने बाध्यता दिनप्रतिदिन बढ्न थाल्यो । कुनै सीप नभएकी दिपालाई कसैले जागिर दिन मानेनन् । आफ्नो विगतलाई स्मरण गर्दै उनले सुनाइन्, ‘जागिर खोज्नु भन्दा आफै उद्योग खोलेर उद्यमी बन्ने रहर पलायो, तर घरखर्च नै चलाउन गाह्रो भइरहेको बेला उद्योग खोल्ने पो कसरी ? मैले साहस बटुलेँ, जिल्लाकै साना तथा मझौला उद्योगले ललिपप र दूधबाट बनाइने परिकारको बनाउने तालिमम दिदैछ भन्ने थाहा पाएँ, अब त्यहीँ सीप सिकेर पछि काम गर्नु पर्छ भन्ने लागेर सीप सिक्न लागेँ ।’

दिपाको तालिम पनि सकियो । विगतका दिनहरुमा सीप छैन भनेर जागिर नपाएकी दिपालाई अब आफ्नै उद्योग खोल्नु पर्छ भन्ने लाग्यो । उनका श्रीमानले पनि अब विदेशबाट घरखर्च चलाउने पैसा पठाउन थाले दुई छोरा छोरी रहेकी दिपाले उनीहरुको पढाइ र घर खर्च चलाएपछि केही बचत गर्न थालिन् ।

‘बचेको पैसाले घरेलु उद्योग खोल्ने निर्णय गरेँ, वि.स २०६८ सालमा ‘ग्रिन सिटी ललीपप उद्योग’ दर्ता गरेँ, सुरुमा करिब ५ लाख रुपैयाँ खर्च गरेर उद्योग सञ्चालन गरेँ, बिस्तारै ललिपपका आइटम तथा दूधका परिकारहरू बनाएँ, उनले भनिन्,‘ एक दिन अवश्य यसले बजार मूल्य पाउँछ भन्ने विश्वास थियो ।’

उनले उद्योग सुरु गर्दा लगानी पो डुब्ने हो कि भन्ने आशंका परिवारमा रहेको पनि बताइन् । सुरुवाती दिनका समस्या, चुनौती र अवरोधहरू पनि उनले सुनाइन् । तर, ती समस्या र चुनौतिहरूलाई एउटा अवसर र सिकाइका रूपमा लिँदै अगाडि बढ्दै गएको उनको भनाइ छ ।

‘व्यापारबाट आएको आम्दानी भएको रकमबाट छोरा छोरीलाई पढाउँदै ठिक्क हुन्थ्यो, आफ्नो घरमा उद्योग सञ्चालन गरेको भएर परिवारबाट पनि साथ पाइयो, विस्तार व्यापार फस्टाउँदै गयो, बजारमा माग बढ्न थाल्यो, आम्दानी पनि राम्रै हुन थाल्यो, अहिले हामी सन्तुष्ट छौं,’ उनले भनिन् ।

आफैले मात्रै काम गरेर बजारको मागलाई धान्न नसक्ने भएपछि कर्मचारीहरू पनि राखेको उनले सुनाइन् । श्रीमानले पठाएको पैसालाई पनि उनले बचत गर्दै गइन् । छोराछोरी पनि पढाइमा अब्बल नै थिए । उच्च शिक्षामा छोरी स्टाफ नर्स बढ्ने बिचार गरिन् । छोरोको कुरामा दिपाले पनि सहमत जनाइन् । छोरी स्टाफ नर्स पढ्न थालिन् । दिपाले आफ्नो पेसालाई निरन्तर दिइन् ।

‘छोरीले पनि स्टाफ नर्स उच्च अंकका साथ उतिर्ण गरिन्, स्टाफ नर्समा पास भएको केही महिनापछि नै छोरीलाई जागिर मिल्यो, मैले ललिपपको व्यापार गरेर नै छोरीलाई स्टाफ नर्स पढाएँ, छोरा पनि अहिले स्नातक पढ्दैछन्,’ उनले भनिन ।

दिपाका अनुसार विराटनगर कोसी अस्पतालमा अहिले छोरी स्टाफ नर्सको रूपमा काम गरिरहेकी छिन् । श्रीमान् विदेश बसाइको केही वर्षपछि नै नेपाल फर्किए । हाल दिपाका श्रीमानले मार्केटिङ गर्न सहयोग पुर्याइरहेका छन् ।

५० जनालाई रोजगारी लाखौं आम्दानी

दिपाले अहिले सो उद्योग सञ्चालन गरेको करिब १२ वर्ष पुगेको छ । यो अवस्थासम्म आइपुग्दा करिब ५० जनालाई रोजगारी दिएको उनले सुनाइन् । उनका अनुसार फुलटाइम काम गर्ने ४० र पार्ट टाइम काम गर्ने १० जना कर्मचारी छन् । उनीहरूले उद्योगमा ललिपपका आइटम र दूधका परिकार बनाउन सहयोग गर्दै आइरहेका छन् ।

‘पहिला विभिन्न समस्या आए, समयसँग लड्दै अगाडि बढे अहिले श्रीमानले पनि साथ दिनु भएको छ, अझै कर्मचारीको संख्यालाइ बढाउने योजना छ, उत्पादनको वृद्धि गर्ने सोच छ,’ उनले भनिन्, पाँच लाखबाट सुरु भएको घरेलु उद्योग ३५ रुपैयाँको बराबरका पुगेको छ ।’

दिपाको उद्योगबाट अहिले मासिक लाखौं रुपैयाँको ललिपपको आइटम बिक्री हुन्छ । कर्मचारीलाई तलब दिएर घर खर्च कटाएर मासिक ६० हजार रुपैयाँ बचत हुने पनि दिपाले बताइन् । दिपाको उद्योगबाट उत्पादन भएको ललिपप नेपालका धेरै जिल्लाहरूसम्म पुग्छ । उनले सुरुदेखि हालसम्म करोडौंको कारोबार गरिसकेकी पनि बताइन् ।

दैनिक १२ सय लिटर दुध खपत

दिपाको उद्योगबाट दैनिक १२ सय लिटर दुध खपत .हुन्छ । सो दूधबाट ललिपपका विभिन्न आइटमहरूको उत्पादन हुन्छ । उनले दूधबाट बन्ने ६ वटा परिकारहरू बनाउँदै आइरहेका छिन् ।

‘इलाम दूधको खानी नै हो भन्दा पनि हुन्छ, वरपरका कृषकहरुले उत्पादन गरेको दूधलाई संकलन गरेर ललिपपहरू बनाउने हो, हामीले उहाँहरूसँग प्रति लिटर ५० रुपैयाँका दरले दूध खरिद गर्दै आइरहेका छौं,’ उनले भनिन्, माग बढेपछि ललिपपको उत्पादन गर्नले बिहानदेखि बेलुकासम्म फुर्सद छैन ।’

उनका अनुसार उत्पादन अनुसारको खपत पनि राम्रो हुन्छ । इलाम पर्यटकीय क्षेत्र भएको कारणले पनि घुन्न आउनेहरूले यहाँ उत्पादन भएको चकलेट कोसेलीको रूपमा लिएर जान्छन् । यसले पनि व्यापारमा धेरै टेवा पुगेको छ । दिपा दूधका परिकारहरूको संख्यालाई बढाउने सोचमा छिन् । व्यापार राम्रो भएका कारण कर्मचारी थप्ने तयारीमा दिपा जुटेकी छिन् । यस प्रोडक्टलाइ ब्रान्डको रुपामा स्थापित गर्ने लक्ष्यमा दिपा छिन् ।

‘इलामको चकलेट खरिद गर्दा महँगो पर्छ भन्छन् तर यस्तो भने होइन, यो यहाँको लोक उत्पादन हो, दुधको लागत, कर्मचारीको लागत हेरेर मूल्य निर्धारण हुन्छ, विदेशी चकलेट चाहिँ महँगो भए पनि नहिचकिचाई किन्छौं, नेपालमा उत्पादन भएको लोकल स्वास्थ्य खानेकुरा चाहिँ महङ्गो भयो भन्छौं, यस्तो खालको मानसिकता हामीले हटाउनु पर्छ,’ उनले भनिनन् ।

Share News