काठमाडाैं । राउण्ड टेबल नेपालले मोरङको बुढीगंगा गाउँपालिकस्थित सरस्वती सदन आधारभुत विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको छ । राउण्ड टेबलले २ करोड बढीको लगानीमा विद्यालयलाई कक्षाकोठा निर्माण गरी हस्तान्तरण गरेको हाे ।
राउण्ड टेबल नेपालले सोही संस्थासँग सहकार्य गर्दै उक्त विद्यालयमा यस अघि नै १६ वटा कोठा निर्माण गरिसकेको छ । थप गरिएको ४ कोठासँगै हालसम्म राउण्ड टेबल नेपालले उक्त विद्यालयमा २० वटा कोठको निर्माण सम्पन्न गरिसकेको छ ।
विराटनगर राउण्ड टेबल नेपालले सन् २००६ यता उक्त विद्यालयको अभिभावकत्व ग्रहण गरेको हाे । अभिभावकत्व ग्रहण गरिएयता विद्यालयमा निरन्तर भौतिक संरचनाको निर्माण गर्दै आएको विराटनगर राउण्ड टेबल प्लाटिनम ११ का अध्यक्ष प्रणव तोदीले बताए ।
आफुहरुले अभिभावकत्व ग्रहण गर्नु अघि उक्त विद्यालय नजिकैको जग्गामा टिनको छानो भएको कोठामा संचालन हुने गरेको राउण्ड टेबल नेपालका पुर्व अध्यक्ष दिवाकर राठीले जानकारी दिए । बिजोग अवस्था देखेर आफ्नो संस्थाले सो विद्यालयको अभिभावकत्व ग्रहण गरेको र त्यसयता निरन्तर विकास निर्माण तथा भौतिक सामग्री जुटाइदिने काम गर्दै आएको राठीले बताए ।
राउण्ड नोपाल ११ ले हालसम्म विद्यालयमा स्वच्छ खानेपानी, शोैचालय, साईकल पार्किङ लगायत आवश्यक सम्पूर्ण भौतिक पुर्वाधार निर्माण गरिदिएको छ । बितेको १५ वर्षमा युरो ११ सँग सहकार्य गर्दै उक्त विद्यालयमा राउण्ड टेबल ११ ले २ करोड बढीको लगानी गरिसकेको छ ।
विद्यालयका लागि आवश्यक सम्पुर्ण भौतिक संरचना राउण्ड टेबलले जुटाई दिएपछि अब आफुहरु विद्यालयको स्तरोन्नती र शैक्षिक गुणस्तर बृद्धि गर्न लागिपरेको विद्यालयका व्यवस्थापन समिति अध्यक्ष हक्मुद्धिनले बताए ।