निजामती कर्मचारीका छोराछोरीले पाए साढे १६ करोड छात्रवृत्ति, एक जनालाई ५ लाखसम्म

<p>काठमाडौं । सरकारले निजामती कर्मचारीका छोराछोरीलाई साढे १६ करोड ४९ लाख २९ हजार ८ सय ५० रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक वर्ष ०७८/७९ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् निजामती कर्मचारीका छोराछोरीलाई शैक्षिक प्रोत्साहन वृत्ति स्वरुप सो रकम उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने [&hellip;]</p>

काठमाडौं । सरकारले निजामती कर्मचारीका छोराछोरीलाई साढे १६ करोड ४९ लाख २९ हजार ८ सय ५० रुपैयाँ छात्रवृत्ति प्रदान गरेको छ । आर्थिक वर्ष ०७८/७९ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् निजामती कर्मचारीका छोराछोरीलाई शैक्षिक प्रोत्साहन वृत्ति स्वरुप सो रकम उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका, २०७८ बमोजिम मन्त्रालयले सो छात्रवृत्ति उपलब्ध गराएको हो । निजामती कर्मचारीका ६८० जना छोराछोरीले उक्त छात्रवृत्ति प्रोत्साहन बापतको रकम प्राप्त गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

छात्रवृत्ति प्रोत्साहनको लागि सामान्य प्रशासन मन्त्रालयले गत बैशाख १२ गते अनलाइन आवेदनको लागि आह्वान गरेको थियो । मन्त्रालयले तोकिएको रित पुरा गरी प्राप्त भएका भन्दै गत जेठ ३० गते योग्यताक्रमको आधारमा ६९९ जना विद्यार्थीको सूची प्रकाशन गरी गत असार १७ गते अन्तिम नामावली भन्दै ७०२ जनाको अन्तिम नामावली प्रकाशन गरेको थियो । सो नामावली निर्देशिकाको दफा १५ को व्यवस्था बमोजिम उजुरी लिई गुनासोका सम्बन्धमा दफा १६ बमोजिम सुनुवाई समितिबाट सुनुवाई गरी प्रकाशन गरिएको मन्त्रालयले जनाएको छ ।

निर्देशिकाअनुसार नेपाली शैक्षिक संस्थाहरुमा स्नातक वा सो सरहको अध्ययन गरिरहेको निजामती कर्मचारीका छोराछोरीले सो छात्रवृत्ति प्राप्त गर्न सक्छन् । २० लाख भन्दा धेरै शुल्क लाग्ने विद्यार्थीले ५ लाख, १५ लाखभन्दा धेरै शुल्क लाग्ने विद्यार्थीले ४ लाख र १० लाखभन्दा धेरै शुल्क लाग्ने विद्यार्थीले ३ लाख रुपैयाँ छात्रवृत्ति पाउने व्यवस्था निर्देशिकामा रहेको छ ।

त्यस्तै ५ लाखभन्दा धेरै शिक्षण शुल्क लाग्ने विद्यार्थीले २ लाख, १ लाखभन्दा धेरै शिक्षण शुल्क लाग्ने विद्यार्थीले १ लाख र १ लाख भन्दा कम शिक्षण शुल्क लाग्ने विद्यार्थीले पुरै शुल्क छात्रवृत्तिवापत प्राप्त गर्ने कुरा निर्देशिकामा उल्लेख गरिएको छ ।

मन्त्रालयले छात्रवृत्ति कार्यक्रममा सहभागी हुनको लागि निजामती सेवा ऐन, नेपाल स्वास्थ्य सेवा ऐन र व्यवस्थापिका–संसद सचिवालय सम्बन्धी ऐन अनुसार नेपाल सरकारको कर्मचारी रहेका व्यक्तिका छोराछोरी र संघीय तहबाट प्रदेश र स्थानीय तहमा समायोजन भएर गएका कर्मचारी, निवृत्तिभरण लिएका कर्मचारी लगायतका छोराछोरीहरुलाई लक्षित गरेर आवेदन संकलन गरेको थियो ।

आर्थिक अवस्था कमजोर भएका सर्वसाधारणका छोराछोरी विद्यालय जान नसकिरहेको अवस्थामा कर्मचारीका छोराछोरीलाई भने सुविधा दिने गरी निर्देशिका ल्याइएको हाे ।  २०६८ सालबाट सुरु गरिएको छात्रवृत्ति वितरणमा तल्लो तहका सबै कर्मचारीका छोराछोरीले सुविधा पाउने अवस्था सिर्जना नभएपछि २०७५ सालबाट रोकिएको थियो । गत आर्थिक वर्षको बजेट वक्तव्यमा पुनः बजेटको व्यवस्था गरेर परिमार्जित निर्देशिकाबमोजिम छात्रवृत्ति दिइने भएको हो ।

Share News