काठमाडौं, १३ भदौ । बजारमा अमेरिकी डलरको अभाव बढेपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकको नेतृत्वमा ४ बाणिज्य बैंकले सिंगापूरवाट कार्गाे गरेर डलर ल्याउने तयारी थालेका छन् । आफूले विदेशमा राखेको अमेरिकी डलर कार्गाे गरेर नेपाल भित्र्याउनले गृहकार्यमा बैंक जुटेका हुन् ।
स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल सहित नविल, नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले सिंगापूरवाट नगद डलर ल्याउन लागेका हुन् । यसका लागि ती बैंकले नेपाल राष्ट्र बैंकसँग समन्वय गरिरहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक भिष्म ढुंगानाले जानकारी दिए ।
सिंगापूरमा अमेरिकी डलर भए नभएको बारेमा बुझ्ने कार्य भइरहेको र त्यहाँ पनि नगद डलर नभए के विकल्प अपनाउने भन्ने विषयमा छलफल भइरहेको ढुंगानाले जानकारी दिए ।
यी बैंकहरुले विदेशमा रहेका आफ्नो खातावाट झिकेर डलर नेपाल ल्याउन लागेका हुन् । सवै बाणिज्य बैंकको विदेशी बैंकमा खाता हुन्छ । त्यस्तो खातामा बाणिज्य बैंकहरुले विदेशी मुद्रा राख्ने गरेका हुन्छन् । नगद डलरको माग अधिक भएपछि बैंकहरुले आफ्नो खाताको रकम झिकेर नेपाल ल्याउन लागेका हुन् ।
यसअघि बाणिज्य बैंकहरुले यसरी विदेशवाट डलर नेपाल ल्याएका थिएनन् । बजारको माग धान्नको लागि बैंकहरुले डलर ल्याउने प्रस्ताव गरेकोले सोको स्वीकृति प्रदान गर्न लागिएको कार्यकारी निर्देशक ढुंगानाले बताए । कुन बैंकले कति परिमाणमा डलर ल्याउन लागेका हुन भन्ने अझै यकिन नभएको उनको भनाइ छ ।
डलर ल्याउनको लागि नै आवश्यक प्रक्रिया मिलाउन हिमालयन बैंकको उच्च टोली यही साता सिंगापूर जाने तयारी भएको छ ।
बैंकहरुले आफूले विदेशमा राखेको डलर नै नेपाल ल्याउने हुन् । उनीहरुले अन्तराष्ट्रिय ब्यापारको लागि ब्यापारीहरुले खोलेको प्रतितपत्र (एलसी) को २२ प्रतिशत, आफूसँग भएका सवै अमेरिकी डलर र फरवार्ड कन्ट्याक्टको शतप्रतिशत अमेरिकी डलर विदेशी बैंकमा खाता खोलेर राख्न पाउने ब्यवस्था छ ।
बाणिज्य बैंकहरुले सोही रकम नेपाल ल्याउन लागेका हुन् । यसरी विदेशवाट डलर ल्याउदा यहाँको विनिमय दर अनुसार आर्थिक रुपमा सम्भाब्य हुने नहुने बैंक आफैले निक्र्योल गर्नुपर्ने हुन्छ ।