काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले बैंकको एटीएम फोडेको आरोपमा एक जना युवकलाई पक्राउ गर्यो । शुक्रबार राति २ बजे पोखरा महानगरपालिका वडा नम्बर ८ न्यूरोडस्थित एनआईसी एसिया बैंकको एटीएम फोडेको आरोपमा १९ वर्षिय किशोर नरेश मगर पुन शनिबार पक्राउ परे ।
उनले हातमा गैंटी लिएर धमाधम एटीएम फोड्ने प्रयास गरिरहे । तर, एनएआईसी एसिया बैंकको ‘इन्ट्रनल कन्ट्रोल सिस्टम’ले त्यसको सुइको समेत पाएन । सामान्यतः आफ्ना देशभरका बैंकका एटीएमलाई निगरानी गर्नका लागि बैंकहरूले इन्ट्रनल कन्ट्रोल सिस्टमको व्यवस्था गरेका हुन्छन् ।
२४सै घण्टा बैंकहरुले एटीएम निगरानीका लागि कर्मचारी खटाएका हुन्छन् । तर, एनआईसी एसिया बैंकले भने शुक्रबारको घटना थाहा नै पाएन । एटीएम फोडेको घटना शनिबार बिहान एकाएक बाहिरियो । एनआईसी एसिया बैंकले प्रहरीलाई खबर गर्यो ।
एनआईसी एसिया बैंकले कास्की प्रहरीलाई सीसीटीभी फुटेज र एटीएम फाेड्नेको तस्वीर उपलब्ध गराएपछि प्रहरी सो व्यक्तिको खोजतलासमा प्रहरीको टोली लाग्यो । शनिबार नै एटीएम फोर्ने पोखरा महानगरपालिका वडा नम्बर ९ पृथ्वी चोक बस्ने १९ वर्षीय नरेश पुन मगरलाई पक्राउ गर्यो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक (डीएसपी) सन्तोष तिवारीले बैंकले सीसीटीभी फुटेज र तस्वीर उपलब्ध गराएपछि अभियुक्तलाई पक्राउ गर्न सफल भएको बताए ।
उनका अनुसार एटीएम फोड्ने पुन मगर यसअघि पनि चोरीको घटनामा समातिएका थिए । उनको विषयमा थप अनुसन्धान भइरहेको तिवारीको भनाइ छ ।
‘हामीले उनलाई शनिवार नै नियन्त्रणमा लियौं, अदालतबाट चोरी उद्योगमा पाँच दिनको म्याद थप गरे र अनुसन्धान भइरहेको छ, यसअघि पनि आपराधिक क्रियाकलापमा संलग्न भएको अनुसन्धानले देखाएको छ,’ तिवारीले विकासन्युजसँग भने ।
उनका अनुसार पछिल्लो समय पोखरामा एटीएम फोड्न खोज्ने गिरोह सक्रिय बनेको छ ।
‘हामीलाई कुन एटीएममा के भइरहेको छ थाहा हुन्न तर, बैंकले सबै गतिविधि नियालिरहेको हुन्छ तर, कतिपय अवस्थामा थाहा हुँदैन, एनआइसी एसिया बैंकको सोही एटीएम दुई पटक फोड्ने प्रयास हुँदा पनि बैंकले खबर नै गरेन, तर पनि हामीले पछि सूचनाको आधारमा संलग्नलाई पक्राउ गर्न सफल भएका छौं,’ उनले भने ।
उनका अनुसार मे १२ मा पनि पृथ्वीचोकमै रहेको कृषि विकास बैंकको एटीएम फोड्ने प्रयास भएको थियो । तर, बैंकले लगत्तै प्रहरीलाई जानकारी गराएपछि एटीएम फोड्न खोज्ने व्यक्ति एटीएमभन्दा केही दूरी पर हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
डीएसपी तिवारीले यस्तो काममा धेरैजसो मानसिक सन्तुलन गुमेका व्यक्तिबाट हुने गरेको बताए ।
केही दिनअघि मात्रै विराटनगर महानगरपालिका ३ कंचनबारीस्थित माछापुच्छ्रे बैंकको एटीएम मेसिन तोडफोड गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो ।
रतुवामाई नगरपालिका पाँच बस्ने २१ वर्षीय पारस कालिकोटेलाई आइतबार राति प्रहरीले पक्राउ गरेको थियो । माछापुच्छ्रे बैंकबाट एटीएम मेसिन तोडफोड भइरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सीआरभी पोष्ट भट्टाचोकबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनलाई पक्राउ थियो ।
अहिले उनीउपर जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।