काठमाडौं । पछिल्लो एक वर्षमा ९ खर्ब ४ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । जुन अघिल्लो वर्षको तुलनामा ३.८ प्रतिशतले बढी हो ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७९ जेठसम्ममा सो मात्राको रेमिट्यान्स भित्रिएको हो । जुन अघिल्लो वर्षको वृद्धिदर भन्दा कम हो । २०७८ जेठसम्ममा भने विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो ।
त्यस्तै, अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख १३ हजार ३६७ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २०८.३ प्रतिशतले वृद्धि भई २ लाख ५९ हजार ०९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर ३.६ प्रतिशतले वृद्धि भई १० खर्ब ६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११.५ प्रतिशतले बढेको थियो ।