
काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले किताब छाप्नका लागि भारतबाट नयाँ प्रविधिको मेसिन खरिद गर्ने भएको छ । अहिलेको मेसिनले किताब छाप्न ढिलाइ गरेपछि नयाँ प्रविधिमा आधारित मेसिन खरिद गरेर ल्याउन लागिएको हो ।
जनक शिक्षा सामग्री केन्द्रका महानिर्देशक अनिल कुमार झाले आगामी दिनमा नयाँ छपाइ मेसिन खरिदको लागि केन्द्रले आवश्यक प्रकृया अगाडि बढाइसकेको बताए ।
उनका अनुसार भारतीय कम्पनीका नयाँ प्रविधिमा आधारित मेशिनको आपुर्ति गर्ने प्रकृया अगाडि बढिसकेको र अबको ३÷४ महिनामा सो मेसिन नेपाल आइपुग्छ ।
‘अहिले सबै पाठ्यपुस्तक छपाइ हुन थालेपछि हाम्रो सादा छपाई मेशिन अब काम नहुने भयो, त्यसैले त्यसलाई रिप्लेस गर्दैछौं, अबको १÷२ वर्षमा सबै रंगिन हुन्छ,’ महानिर्देशक झाले भने ।
विगतमा बजेट अभावको कारणले समयमा छपाई नहुने समस्या भएपनि अहिले बजेटको विषयमा केन्द्रलाई कुनै समस्या नभएको महानिर्देशक झाको भनाइ छ ।
शैक्षिक सत्र शुरु भएको एक महिना समय बितिसक्दा पनि किताब छपाउने काम भने अझैं सकिएको छैन । किताब छाप्ने मुख्य निकाय जनक शिक्षा सामग्री केन्द्रले विविध कारणले किताब समयमै छाप्न नसकेको बताएको हो ।
जनक शिक्षा सामग्री केन्द्रका अनुसार हालसम्म ९० प्रतिशत किताब छपाइको काम सकिएको छ । महानिर्देशक झाका अनुसार विद्यार्थीहरुलाई झण्डै १ करोड ९५ लाख थान किताबको आवश्यकता पर्दछ । केन्द्रले अहिलेसम्म १ करोड ८० लाख किताब छापिसकेको छ । बाँकी पुस्तक छपाईको क्रममा रहेको महानिर्देशक झाले बताए ।
‘किताब छपाई अन्तिम चरणमा छ, ९० प्रतिशत बिक्री वितरण भइसक्यो, १० प्रतिशत जति बाँकी छ,’ महानिर्देशक झाले भने, ‘अहिले दैनिक रुपमा छपाई र वितरणको काम भइरहेको छ ।’ उनका अनुसार अहिलेसम्म विद्यालयमा भने ७५ देखि ८० प्रतिशत मात्रै किताब पुगेको छ ।
किताब छपाईमा भन्दा पनि वितरण प्रकृयामा ढिलाई भएको हुँदा समस्या भएको झा बताउँछन् । अहिले ७७ वटै जिल्लामा किताब पुगीसकेको तर पूर्वदेखि पश्चिमसम्मका केही जिल्लाबाट फोन आइरहेको उनी बताउँछन् ।
समयमै किताब नपुगेर तेह्रथुम, सिराहा, उदयपुर, दाङ, धनगढी र डोल्पा लगायतका जिल्लाबाट अहिले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा फोन आइरहेको छ । दाङ र धनगढीमा केन्द्रले अहिले केही ट्रक किताब पठाइरहेको र बाँकी पुग्ने क्रममा रहेको महानिर्देशक झाले विकासन्यूजलाई बताए ।
उनका अनुसार डोल्पाका बिक्रेताले आफ्नो प्रति लगेका छैनन्, त्यसबाहेक कर्णाली प्रदेशमा झण्डै ९० प्रतिशत किताब पुगेको छ । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा केन्द्रले निर्वाचनको लागि मतपत्र छपाईको काम गरेको थियो । मतपत्र छपाइको कामले गर्दा भने किताब छपाइको काममा समस्या नभएको महानिर्देशक झाले बताए । उनका अनुसार निर्वाचनमा कर्मचारी खटिनुपरेको र समयमा कागज आपुर्तिमा भएको समस्या कारणले मात्रै यसपटकको किताब छपाई र वितरणमा ढिलाई भएको उनको भनाई छ ।
केन्द्रमा आउने कागज आपुर्तिकर्ताले भारतबाट ल्याउने गरेको र कोभिड महामारीले गर्दा कागज समयमा नै आउने कुरामा समस्या भएको झाले बताए ।
‘कागजको सप्लाइमा कमी भयो, तालिका अनुसार कागज आएन, त्यसले गर्दा प्रभाव पर्यो, कोरोना र रुस/युक्रेन युद्धको कारणले विश्वभरी नै कागज उत्पादन प्रभावित भयो, कागजलाई चाहिने कच्चापदार्थमा समस्या भयो,’ महानिर्देशक झाले भने ।