इन्जिनियरिङ पढ्न चाहनेहरुको साथी यु-थिंकक्रेजी

<p>काठमाडौं । रुची र सोख उस्तै । काम र मेहनत उस्तै । ओमशिब रौनियार र रोहन रौनियार केही वर्षदेखि निकै मेहनत गरिरहेका छन् । कहिलेकाहीँ काम गर्दा रात बितेको थाहा नै हुँदैन्, भाई रोहन भन्छन् । स्वास्थ्यको पनि त ख्याल गरेर काम गर्नुपर्यो नि भन्ने सन्दर्भमा रोहनले आफूहरु रातभरी मेहनत गर्ने कुरामा अभ्यस्त भइसकेको बताउँछन् [&hellip;]</p>

काठमाडौं । रुची र सोख उस्तै । काम र मेहनत उस्तै । ओमशिब रौनियार र रोहन रौनियार केही वर्षदेखि निकै मेहनत गरिरहेका छन् । कहिलेकाहीँ काम गर्दा रात बितेको थाहा नै हुँदैन्, भाई रोहन भन्छन् । स्वास्थ्यको पनि त ख्याल गरेर काम गर्नुपर्यो नि भन्ने सन्दर्भमा रोहनले आफूहरु रातभरी मेहनत गर्ने कुरामा अभ्यस्त भइसकेको बताउँछन् ।

सर्लाहीको ब्रम्हपुरीमा जन्मिएका रौनियार दाजुभाईमध्ये दाजु अहिले सिए पढ्दैछन् भने भाईले भर्खरै साइन्स विषयमा प्लस टु सकेका छन् । रौनियार दाजुभाईका अनुसार दुबैले प्लस टु सम्मको अध्ययनमा ए प्लस श्रेणी हासिल गरेका छन् । प्लस टु पश्चात अब आफ्नो अध्ययनको रुची आर्टिफिसियल इन्टेलिजेन्स भएको भाई रोहनको भनाई छ ।

आफ्नो अध्ययन निरन्तरताको बाबजुद रौनियार दाजुभाइको भविष्यसँग जोडिएका सुन्दर सपना धेरै छन् । तर, अहिले उनिहरुले दुईवटा कुरामा बढी केन्द्रित भएर काम गरिरहेका छन् । आफ्नो बुवाले पैसाको कारणले एसएलसीपछिको शिक्षा पढ्न नपाएको र शिक्षक पेसाको क्रममा बाजुरासम्म पुग्नुपरेको कुराले आफुहरुलाई मर्मकासाथ छोएको उनिहरुको भनाई छ ।

रौनियारका बुवाले बाजुराको शिक्षक जागिर झण्डै २० वर्ष अगाडिदेखि काठमाडौं आएर घडीको व्यवसाय गर्न शुरु गरेका थिए । सोही क्रममा उनले आफ्ना दुबै छोरालाई पनि काठमाडौं ल्याएर पढाउन शुरु गरेको दाजु ओमशिवको भनाई छ । ‘बुवाले पहिला मलाई ल्याउनुभयो अनि भाइलाई ल्याउनुभयो । हामी दुबैले एसइई सम्मको शिक्षा ललितपुरको सरकारी विद्यालय प्रगति शिक्षक सदनबाट गर्यौं,’ उनले भने ।

रौनियार दाजुभाइको डिजिटल शिक्षा अवधारणामा उनकै शिक्षक विमर्श पन्तको पनि साथ रहेको छ । भविष्यमा जोडिएका रोजगार र सामाजिक सहयोगजस्ता कार्यक्रमहरुलाई पाइपलाइनमा राखेर अहिले रौनियार दाजुभाईले शिक्षा क्षेत्रमा क्रान्ति ल्याउनको लागि आफुहरु लागिपरेको बताउँछन् ।

इन्जिनियर पढ्ने विद्यार्थीहरुको साथी यु-थिंकक्रेजी (U-THINKCRAZY)

अहिलेको समयमा सायदैले मात्रै सोच्छन् की मानिसहरुले सर्वसुलभ ढंगले, सस्तोमा गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्न सकुन् । तर यसको अपवाद भएका छन्, रौनियार दाजुभाइ ।

इन्जिनियर पढ्न चाहने सबै नेपाली विद्यार्थीहरुलाई आफ्नै घरमा बसेर बृजकोर्स पढ्न सहयोग गर्ने कार्यक्रम उनीहरुले सञ्चालन गरिरहेका छन् । पढ्न सहयोग गर्ने मात्रै होइन्, हजारौं विद्यार्थीहरुको सपनालाई साकार पार्न सहयोग पनि गरिसकेका छन् उनीहरुले ।

रौनियार दाजुभाईमध्ये भाई रोहनको नेतृत्वमा U-THINKCRAZY  नामको युट्युब च्यानल सञ्चालन गरिएको छ । गतसाल सोही च्यानल मा २ हजार १२ जना विद्यार्थी जोडिएर इन्जिनियरिङको ब्रिजकोर्स अध्ययन गरे । अध्ययन गरेकामध्ये २ हजार जना विद्यार्थीहरुले स्वदेश तथा विदेशका इन्जिनियरिङ पढाई हुने कलेजको प्रवेश परिक्षामा नाम निकाल्न सफल भएका थिए ।

रोहनका अनुसार ३ सय विद्यार्थीले छात्रवृत्तिमा नाम पनि निकाल्न सफल भएका छन् । गतसाल युट्यूब च्यानलमा जोडिएर पढ्ने विद्यार्थीहरुलाई कुनै शुल्क कायम गरिएको थिएन् । आफ्नो अध्ययन पुरा गरिसकेपछि विद्यार्थीहरुले स्वइच्छाले आफुहरुलाई सहयोग गरेको रौनियार दाजुभाई बताउँछन् ।

U-THINKCRAZY युट्यूब च्यानलमा गतसाल प्रसारण भएका भिडियोमा धेरै विद्यार्थीहरुले कमेन्ट गरेका छन् । विद्यार्थीहरु आफुहरुको अनलाईन भिडियो कक्षाबाट खुसी भएर प्रतिक्रिया दिएको भन्दै रोहनले भिडियोका कमेन्टहरु देखाए । विद्यार्थीहरुले भिडियोमा नै ‘आफुहरुलाई सहयोग पुगेको कारणले आर्थिक सहयोग गर्न चाहेको’ कमेन्ट गरेका छन् ।

अहिले कक्षा १२ पढ्ने विद्यार्थीहरुको परीक्षा सकिन लागेको छ । कक्षा १२ सम्मको पढाईलाई स्कुलस्तरको मानिन्छ । त्यसपछि मात्रै विद्यार्थीहरुले आफ्नो रुची र व्यवहारिक आवश्यकता अनुरुपको विधालाई छनौट गर्दछन् ।

‘धेरै विद्यार्थीहरुको इन्जिनियरिङ पढ्ने चाहना हुन्छ । तर सबै सँग धेरै पैसा हुँदैन् । होस्टल बसेर अनि ४०/५० हजार खर्च गरेर बृजकोर्स पढ्ने क्षमता पनि सबैको हुँदैन,’ रोहन भन्छन् ।

यो वर्षमा इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीहरुलाई लक्षित गरेर U-THINKCRAZY ले नयाँ स्किम ल्याएको छ । जुन स्किम सर्वशुलभ, गुणस्तरीय र सबैभन्दा सस्तो हुने रोहन भन्छन् । ‘हामीले वास्तवमा निःशुल्क नै अध्यापन गर्ने कार्यक्रम सञ्चालन गर्न खोजेको हो, तर यसको प्राविधिक र शिक्षक व्यवस्थापनको लागि केही रकम खर्च गर्न पर्ने भएकाले न्यूनतम रकमको प्रस्ताव गरेका छौं,’ रोहनले भने । अहिले भौतिक कक्षा र युट्यूब दुबै कक्षाको व्यवस्था गरेको रोहन बताउँछन् ।

‘हामीले भौतिक कक्षा र युट्यूब च्यानल लाइभको अलावा अन्य समयमा पनि विद्यार्थीका जिज्ञासाहरुलाई विभिन्न सामाजिक सञ्जालका मेसेजहरुमार्फत् सम्बोधन गरिरहेका छौं,’ रोहन भन्छन, ‘हामीले विद्यार्थीहरुको समय र पैसा दुबैलाई ध्यान दिएर उनिहरुको सफलतालाई मुख्य केन्द्रमा राखेर कक्षा सञ्चालन गर्छौैं ।’

आफुहरुसँग जोडिएर पढ्दा विद्यार्थीहरुले होस्टलमा लाग्ने खर्च, यातायात खर्च र समय खर्च गर्न नपर्ने उनको भनाई छ । ‘हामीले पैसा नभएका सबै विद्यार्थीहरुलाई आफुहरुसँग जोडिएर पढ्न भन्छौं, हामीले उहाँहरुलाई सफलताको प्रयास मात्रै होइन्, सफल नै गराएर छाड्छौं,’ रोहनले भने ।

गतवर्षको बृजकोर्स अध्यापनपछि विद्यार्थीहरुले गरेको स्वेच्छिक सहयोग र आफ्नो खेत बेचेर रौनियार दाजुभाईले सुकेसरी शिक्षा प्राइभेट लिमिटेड दर्ता गरेर सञ्चालन गरेका छन् । विद्यार्थीहरुलाई अनलाइनबाट सजिलोसँग पढाउन सजिलो होस भन्ने हेतुले उनीहरुले झण्डै ८ लाख बराबरको डिजिटल बोर्ड र नयाँ प्रविधिको क्यामेरा जडान गरेर अफिस सेटअप गरेका छन् ।

प्रायःजसो इन्स्टिच्युट ४०/५० हजारको हाराहारीमा शुल्क लिएर पढाउने इन्जिनियरिङ ब्रिजकोर्सको शुल्कमा आफुहरुले क्रान्ति नै ल्याएको रोहनको भनाई छ । अहिले आफुहरुले कार्यालय खर्च व्यवस्थापनको लागि मात्रै प्रति विद्यार्थी अनलाईनतर्फ ४५ सय रुपैयाँ र अफलाईनतर्फ १० हजार रुपैयाँ शुल्क लिने उनी बताउँछन् । उनका अनुसार सोही शुल्कमा नै अध्ययन ट्याक्टिस, बुक, नोट, दैनिक तथा मासिक टेस्ट र निरन्तर ७ दिन नै मेसेन्जरबाट निरन्तर प्रतिक्रियाको व्यवस्था गरिएको छ ।

कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई (टि शिक्षा) T-SIKSHA कार्यक्रम

रौनियार दाजुभाईको शिक्षा सम्बन्धी नयाँ अवधारणा हो T-SIKSHA कार्यक्रम । यो अवधारणा मुलतः अहिलेको सूचना प्रविधिसँग जोडिएको छ । रौनियार दाजुभाईले यो अवधारणा पहिलो चरणमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई टार्गेट गरेर कार्यान्वयन गर्न लागिएको बताउँछन् ।

T-SIKSHA मा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले पढ्ने सबै पुस्तकलाई एनिमेसन भिडियोमा कन्भर्ट गरेर विद्यार्थीहरुलाई एपको रुपमा उपलब्ध गराइन्छ । अहिले यो एप निर्माणको नेतृत्व रौनियार दाजुभाईका शिक्षक बिमर्श पन्तले गरिरहेका छन् । ‘पाठ्यपुस्तकलाई विद्यार्थीको रुचीका आधारमा एनिमेशनमा कन्भर्ट गरिरहेका छौं । जसले गर्दा विद्यार्थीले आफ्नो पाठ्यपुस्तकलाई सजिलैसँग बुझ्न र सम्झन सक्छन्,’ पन्त बताउँछन् ।

एप्लिकेसन निर्माणसँगै सो एप्लिकेसन नेपालभरिका विद्यालयहरुलाई हस्तान्तरण गर्ने कार्यक्रम पनि उनिहरुले बनाएका छन् । सुगम ठाउँका विद्यार्थीहरुकालागि अनलाइन एप्लिकेसन र दुर्गमका विद्यार्थीहरुकालागि अफलाइन एप्लिकेसन बनाएको T-SIKSHA का प्रमुख पन्त सुनाउँछन् । सो एप्लिकेसन गरिब विद्यार्थीहरुलाई निःशुल्क र अन्य विद्यार्थीहरुलाई २ सय पचास रुपैयाँमा प्रदान गर्ने कार्यक्रम तय गरिएको पन्तको भनाई छ ।

अहिले धेरै विद्यालयहरुले आफुहरुसँग एमओयू गर्ने क्रम रहेको र सो प्रोजेक्टले नेपालको शिक्षामा ठुलो रुपान्तरण ल्याउने रौनियार दाजुभाई बताउँछन् । T-SIKSHA प्रोजेक्टमार्फत् विद्यार्थीहरुले किताबभन्दा सस्तोमा एनिमेसन भिडियो प्राप्त गर्ने र सो विधिबाट अध्ययन गर्दा विद्यार्थीको अध्ययन क्षमता पनि वृद्धि हुने उनीहरुको दाबी छ ।

Share News