महेश शर्मा ढकाल, बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत,ग्लोबल आईएमई बैंक लि.
ग्लोबल आईएमई बैंक लिमिटेडका बरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले बैकिङ क्षेत्रमा अढाई दशक सेवा गरिसक्नु भएको छ । नेपाल बैंकबाट बैंकिङ करिअर शुरु गर्नुभएका ढकाल कमर्ज एण्ड ट्रष्ट बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, टुरिजम डेभलपमेन्ट बैंक, मेगा बैंक नेपाल हुँदै अहिले ग्लोबल आईएमई बैंकमा नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । पछिल्लो समय समग्र अर्थतन्त्र धर्मराएको छ । व्यापार घाटाबाट सरकार डराएको छ । केही वस्तुको आयात रोकिएको छ भने केहीमा कडाई गरिएको छ । बैंकहरुले नयाँ कर्जा प्रवाह लगभग रोकेका छन् । कर्जा र निक्षेपको व्याजदर निरन्तर बढिरहेको छ । प्रस्तुत छ यिनै समयमा केन्द्रीत भएर ढकालसँग गरिएको विकास वहस ।
समग्र अर्थतन्त्र पनि दवावमा छ । सरकारले आयात नियन्त्रणका केही विधि अपनाएको छ । यसले बैकिङ क्षेत्रमा कस्तो असर पार्छ ?
तत्कालको लागि यसले सकारात्मक असर पार्छ । किनकी बैदेशिक व्यापार घाटा डरलाग्दो रुपमा बढेर गएको छ । यस अवस्थामा कुनै न कुनै विधिबाट सुधारको प्रयास हुनुपर्दथ्यो । अहिले सरकारले जे जस्तो बस्तु आयात असार मसान्तसम्मको लागि रोकेको छ, त्यो तत्कालका लागि नभई नहुने बस्तु पनि होइन । हिरा, सुन, गाडी, मोवाइल केही समयपछि किनौला भनेर पर्खन सकिन्छ । एक डेढ महिनामा यसको नतिजा सकारात्मक नै हुनेछ ।
न्यून व्याजदर वा अधिक व्याजदर पनि बैकिङ क्षेत्रको समस्या भयो । कि निक्षेपकर्ताले हामी मर्कामा पर्यौ भन्ने कि ऋणीले हामी मर्कामा पर्यौं भन्ने समस्या सधैं छ । किन यस्तो भैरहेको छ ?
कोडिभ महामारी पछि बैंकमा अलि धेरै व्याज अस्थिर रहेको छ । यसमा कुनै एउटा बैंकको हात छैन । समग्र बजारको अवस्थाले व्याजदर निर्धारण गर्छ । व्याजदर बढ्ने वा घट्ने भन्ने कुरा माग आपूर्तिले निर्धारण गरेको हुन्छ । विगत दुई वर्षयता कर्जाको माग धेरै बढेको छ । निक्षेप बृद्धि अपेक्षकृत हुन सकेनन् । बैंकले अहिले नै निक्षेपमा ११ प्रतिशत व्याज दिएको अवस्थामा कर्जाको व्याज त्यसभन्दा माथि हुने नै भयो ।
नेपाल राष्ट्र बैंकका नीति निर्देशनहरुले वित्तीय क्षेत्रलाई नियन्त्रित क्षेत्र जस्तो बनायो भन्ने विज्ञहरुको भनाई आइरहेका छन् । तपाईंहरु अभ्यासकर्ताले कस्तो अनुभव गर्नु भएको छ ?
केही हदसम्म अव्यवहारिक नियमहरु बनेको हो कि भन्ने हामीलाई पनि अनुभूति हुन्छ । जस्तै, उर्जामा निश्चित प्रतिशत लगानी गर्नैपर्छ भनिएको छ । तर विद्युत प्राधिकरणले नयाँ परियोजनाको लागि पीपीए नै गरेको छैन भने कसरी नयाँ परियोजना आउँछन् र बैंकले लगानी गर्ने भन्ने समस्या छ । कृषिमा पनि निश्चित प्रतिशत लगानी गर्नैपर्छ भनिएको छ । तर त्यो क्षेत्रबाट कर्जाको माग नै छैन । बैंकले खोजी खोजी कर्जा प्रवाह गर्दा त्यसमा ओभर फाइनान्सिङको समस्या आउन सक्छ । कृषिमा भनिएको कर्जा अरु क्षेत्रमा जाने जोखिम पनि हुन्छ ।
ग्लोबल आईएमई बैंकको सबल पक्ष के के हुन् ?
सबैभन्दा सबल पक्ष हाम्रो पुँजी हो । कुनै पनि कम्पनी जति धेरै पुँजी भयो, त्यति धेरै बलियो हुन्छ । यसको शाखा देशभर रहेको छ । यसको रेमिट्यान्स नेटवर्क पनि देश विदेशमा रहेको छ । विदेशमा बैंकको सम्पर्क कार्यालय नै ३ वटा खोलिसकेका छौं । बिजनेश पनि ठूलो छ । सरकारलाई दिने राजश्व पनि ठूलो छ । यस बैंकमा कर्मचारीको संख्या पनि ठूलो छ ।
मर्जपछि बैंक ठूलो भयो । यसमा सिनर्जी इफेक्ट कहाँ कहाँ देखिएको छ ?
सिनर्जी इफेक्ट धेरै नै राम्रो देखिएको छ । यो बैंक देशको सबैभन्दा ठूलो बैंकको रुपमा उदाएको छ । तीन हजारभन्दा बढी कर्मचारी भएका छन् । बिजनेश ३०० अर्ब रुपैयाँभन्दा बढी छ । सरकारलाई वार्षिक रुपमा ठूला मात्रामा कर तिरेको छ । देशको ७७ जिल्लामा बैंकको उपस्थिति छ । समग्रमा बैंकले धेरै राम्रो सिनर्जी पाएको छ ।
मर्जपछि बैंकका ग्राहक, कर्मचारी, सेयरधनीमा सन्तुष्टि कति छ ?
हामीले सर्भेहरु नै गरेका छौं । सबै स्टेक होल्डरको सन्तुष्टिको लेवल माथि गएको छ । देशभर नेटवर्क भएको, सबै किसिमका आधुनिक बैकिङ सुविधा उपलब्ध भएको छ । बैंकले नयाँ नयाँ र बजारमा उत्कृष्ट प्रडक्टहरु ल्याएको छ । त्यसबाट पनि ग्राहकलाई बढी लाभ भएको छ । ठूलो रकममा बैकिङ कारोबार गर्ने ग्राहकलाई सजिलो हुँदै गएकोले ग्राहकहरुमा सन्तुष्टि बढ्ने नै भयो । बैंक ठूलो भएपछि सञ्चालन लागत कम हुने, बेसरेट कम हुने भएकोले त्यसको लाभ बैंकका ऋणीहरुले पाएका छन् । उच्च स्तरको प्रविधि बैंकले प्रयोग गरेकोले सेवाको गुणस्तर पनि धेरै राम्रो छ । सानो विकास बैंकको कर्मचारी हुनु र ग्लोबल आइएमई बैंकको कर्मचारी हुनुमा कर्मचारीमा पनि सन्तुष्टि बढ्ने नै भयो । सामाजिक मर्यादा नै उच्चस्तरको हुन्छ । कर्मचारीको मनोबल र आत्मविश्वास बढेको पाएका छौं । लगानीकर्ताहरुको लगानी पनि सुरक्षित भएको छ । प्रतिस्पर्धामा संस्था टिकाउन कठिन हुने हो कि, लगानी जोखिममा पर्ने हो कि भन्ने चिन्ता गर्नुपर्ने अवस्था छैंन । बैंकले हरेक वर्ष लगानीकर्तालाई सन्तोषजनक लाभांश पनि दिँदै आएको छ । त्यस्तै, नियामक संस्थाहरु, अन्य स्टेकहोल्डरहरु पनि ग्लोबल आईएमई बैंकको नजिताबाट सन्तुष्ट नै रहेको हामीले पाएका छौं ।
संस्था जति ठूलो भयो जोखिम त्यति नै धेरै बढ्छ भन्ने मान्यता पनि छ । ठूलो भएकोले जोखिम बढ्यो भन्ने बैंकले अनुभूति गरेको छ ?
संस्था ठूलो हुँदै गर्दा जोखिम बढ्छ । त्यसप्रति बैंक सचेत छ । कर्जा जोखिमको साथै सञ्चालन जोखिम पनि बढेर गएको छ । प्रविधिमा आधारित कारोबारमा नयाँ नयाँ जोखिम श्रृजित हुन्छ । धेरै कर्मचारी, धेरै शाखा भएकोले जोखिम फैलिएको हुन्छ । तर यस्ता जोखिम न्यूनीकरण गर्न हामीले बलियो प्रणाली बनाउँदै जानुपर्छ । जोखिम कम गर्ने विधिहरुको पनि विकास भैरहेको छ ।
विश्वमा प्रविधिमा केन्द्रित केही ठूला कम्पनीहरु असफल भएका छन् । बैकिङ क्षेत्रमा पनि प्रविधिको प्रयोग बढाउँदै गर्दा जोखिम पनि बढ्ने हो कि ?
सानो घरमा लिफ्ट नभए पनि हुन्छ तर धेरै तला भएको ठूला भवनमा लिफ्ट राख्नैपर्छ । कहिलेकाँही लिफ्टमा समस्या देखिन्छन् । समस्या हुन्छ भन्दै १८/२० तलाको घरमा लिफ्ट नराखी हुँदैन । तसर्थ मलाई के लाग्छ भने समस्या समाधान गर्दै प्रविधिमैत्री सेवामा जोड दिनुको विकल्प छैन । प्रविधिमा आधारित सेवालाई पस्कदै पनि जानुपर्छ । त्यसबाट सिर्जना हुने जोखिम व्यवस्थापनको लागि पनि बैंक तथा कुनै पनि कम्पनीले लगानी बृद्धि गर्दै जानुपर्छ ।
२० वर्षअघि तपाईं नेपाल बैंकमा काम गर्दै गर्दा टोकन सिस्टम थियो, डड्डा सिस्टम थियो । अहिले ती सबै प्रणालीको अन्त्य भएको छ । २० वर्षपछि बैकिङ सेवा कस्तो स्वरुपमा विकास होला ?
२० वर्षअघि नेपाली बैंकहरुको कारोबार डड्डा पल्टाएर हुन्थ्यो । बैंकका कर्मचारीहरुले पालै पालो डड्डामा विवरण लेखेर, कैफियत जनाएर कारोबार हुन्थ्यो भने अहिले कम्प्यूटरबाट, मोवाइलबाट, इन्टरनेटको माध्यमबाट डिजिटल्ली कारोबार हुन्छ । तर डिजिटल्ली कारोबार गर्न बैंकहरुले जे जस्तो तयारी गरेका छन्, जुन जुन सुविधा दिएका छन्, त्यसको उपभोग गर्न सबै ग्राहकहरु तयार भएका छैनन् । उनीहरुमा जानकारीको अभाव पनि छ, प्रयोग गर्ने साधारण ज्ञानको पनि अभाग देखिन्छ । त्यसैले उपभोक्तालाई जागरुक गर्ने, उनीहरुलाई डिजिटल्ली कारोबार गर्न अभ्यस्त बनाउने कार्यमा सबै बैंकहरुले मिहेनत गर्नुपर्छ । बैंकमा नआई गर्न सक्ने कारोबारका लागि पनि ग्राहकहरु बैंक धाइरहनु भएको छ । यसमा परिवर्तन जरुरी छ ।
अबको २० वर्षपछि कुनै पनि बैंकिङ कारोबारको लागि बैंकमा जानु नपर्ने अवस्था आउनसक्छ । त्यतिबेला बैंकिङ साक्षरता बढ्छ । प्रविधिको प्रयोगका मानिसहरु अव्यस्त हुनेछन् । खाता खोल्न पनि घरबाटै सकिन्छ । कर्जा माग गर्न पनि घरबाटै गर्न सकिन्छ । औठाछापको चलन हट्ने छ । बायोमेक्ट्रिक प्रणालीमा हामी जानेछौं । २० वर्षपछि बैंकमा ग्राहक लाइन बसेको देख्नु पर्दैन । त्यतिबेला बैंकका साना साना आउटलेट रहलान्, तर ठूलो शाखाहरु हुने छैनन् ।
अहिले बैंकमा उपस्थिति नभई घर वा अफिसबाटै कुन कुन बैंकिङ कारोबार गर्न सकिन्छ ?
इन्टरनेटको माध्यमबाट एउटा खाताबाट अर्को खातामा पैसा पठाउन सकिन्छ । अरुको खातामा भुक्तानी गर्न सकिन्छ । मोवाइल बैंकिङको लागि एप डाउनलोड गर्ने, पिन नम्बर परिवर्तन गर्ने, आफ्नो खातामा कति रकम छ जानकारी लिने, चेक बुकको लागि अनुरोध गर्न सकिन्छ । खातामा व्याज कति आयो हेर्न मिल्छ । अरुले खातामा पैसा पठायो कि पठाएन हेर्न मिल्छ ।
डिजिटल कारोबारमा उपभोक्ताले कस्तो कठिनाई भोगेका छन् ?
धेरैलाई डिजिटल्ली कारोबार कसरी हुन्छ भन्ने सामान्य जानकारी पनि छैन । कति मानिसहरु डिजिटल्ली कारोबार गर्ने क्रममा बीचमा रोकिएको पाउँछौ । त्यसमा कतिपय अवस्थामा इन्टरनेट सेवा अवरोधले पनि समस्या भएको देखिन्छ भने कतिपय अवस्थामा प्रक्रियागत ज्ञानको कमी छ । युजरनेम र पासवर्ड बिर्सने, अरुलाई सेयर गर्न नमिल्ने ओटीपी अरुलाई सेयर गर्ने समस्या छ ।
बैकहरुले अंग्रेजी भाषा प्रयोग गरेकाले भाषाको पनि समस्या छ कि ?
खाता खोल्ने वा कर्जा लिने प्रक्रियामा प्रयोग हुने डकुमेन्टहरुमा नेपाली र अंग्रेजी दुबै भाषा हुन्छ । त्यसमा भाषाको समस्या छैन । सफ्टवेयर वा मोवाइल एपको निर्माताहरुले अंग्रेजी भाषा नै राखेका हुन्छन् । बैंकहरुले पनि सफ्टवयेर तथा एपहरु बाहिरबाट किन्ने हो । सिस्टमले नेपाली भाषा नबुझ्ने भएकोले त्यसमा नेपाली भाषा राख्न कठिन छ । मलाई लाग्छ, नेपाली समाजको हरेक परिवारमा कोही न कोही अंग्रेजीको सामान्य ज्ञान भएको व्यक्ति हुनुहुन्छ । छोराछोरी वा नातिनातिनाको सहयोगमा पनि डिजिटल्ली कारोबार गर्न सकिन्छ ।
एउटा खाता खोल्दा वा कर्जा आवेदन गर्दा ५/१० पेजको फारमहरु भर्नुपर्ने, धेरै ठाउँमा हस्ताक्षर गर्नुपर्ने, धेरै ठाउँमा ल्याप्चे लगाउनु पर्ने अवस्थाको अन्त्य कहिले हुन्छ ?
एउटा व्यक्तिको बारेमा ज्यादै धेरै विवरण लिँदैमा, धेरै ठाउँमा हस्ताक्षर गर्दैमा, धेरै ठाउँमा ल्याप्चे लगाउँदैमा त्यो कारोबार राम्रो हुन्छ, त्यस्ता व्यक्तिबाट कर्जा असुली हुन्छ भन्ने कुरामा म पनि विश्वास गर्दिन । तर हामीले नियामकले तोकेका मापदण्डहरुको पालना गर्नुपर्छ । नियम कानुन मान्नुपर्छ । केवाईसी लिनुपर्छ । राष्ट्रिय परिचयपत्र बनाएपछि भने यस्तो फर्म धेरै छोटो हुनेछ । त्यतिबेला राष्ट्रिय परिचयपत्र नम्बरबाट धेरै जानकारी लिन सकिन्छ ।
तर पछिल्लो समय बैंकको निक्षेपको वृद्धि भन्दा कर्जाको वृद्धि अलि बढी छ । बैंकको इपिएस पनि घट्दो छ । सेयर मूल्य पनि घट्दो छ । किन यस्तो भएको ?
यो अवस्था ग्लोबल आईएमई बैंकको मात्र होइन । पुरै बैकिङ क्षेत्रको समस्या हो यो । सेयर मूल्यमा बैंकको नियन्त्रण हुँदैन । क्रेता र बिक्रेताबीच किनबेन गर्न तयार भएको मूल्यमा बैंकको कुनै भूमिका हुँदैन । बैंकको प्रफर्मेन्सले भने सेयरको मूल्यलाई प्रभावित गरेको हुन्छ । सँगै, कुनै पनि कम्पनीको सेयरको उपलब्धता कति छ भन्ने कुराले पनि मूल्यमा असर पारेको हुन्छ । ग्लोबल आईएमई बैंकको पुँजी नै ठूलो भएकोले सेयरको आपूर्ति पनि बढी हुँदा मूल्यमा त्यसको असर परेको हुन्छ ।
तपाईंको मिडिया मार्फत म के भन्न चाहान्छु भने ग्लोबल आईएमई बैंक बलियो छ । यस बैंकको बिजनेश राम्रो छ । बैंकले सेयरधनीलाई दिँदै आएको बोनस पनि औसतभन्दा राम्रो छ । बैंकको ब्राण्ड इमेज पनि राम्रो छ । बैंकको भविष्य पनि राम्रो छ । देशकै पहिलो ठूलो बैंकको रुपमा उदाउँदै गरेकोले यो बैंकको सेयर मूल्य पक्कै पनि माथि जाने विश्वास हामीले गरेका छौं ।