काठमाडौं, ३ भदौ । अरनिको यातयात सेवा समितिले गाडी चलाउदै आएको रामेछाप, दोलखा, ओखलढुंगालगायतका ग्रामीण क्षेत्रको यातयात ठप्प भएको छ । काभ्रे जिल्ला प्रशासनले रोड परमिट विना विपी राजमार्गमा गाडी चलाउन नदिने भनेपछि समितिले सवै क्षेत्रको गाडी बन्द गरेको हो ।
समितिले ५ बर्षदेखि अबैध रुपमा विपी राजमार्ग हुदै रामेछाप र ओखलढुंगाका विभिन्न स्थानमा गाडी चलाउदै आएको थियो । ५ बर्षदेखि आफूहरुले निर्वाध रुपमा गाडी चलाउदै आएको सडकमा विहिवार काभ्रे प्रशासनले अचानक अवरोध गरेपछि परमिट नभएको जति सवै क्षेत्रमा गाड नचलाइएको समितिका अध्यक्ष जीतवहादुर भारतीले बताए ।
‘५ बर्षदेखि गाडी चलाउदै आएको विपी राजमार्गमा विहिवार प्रहरीले परमिट नभएको भन्दै गाडी चलाउन दिएन, परमिट त्यो सडकमा मात्रै होइन अन्यत्र पनि छैन, त्यसैले सवै ठाउको गाडी चलाएनौं,’ अध्यक्ष भारतीले भने ।
समितिले रामेछापको मन्थली, धोवी, सिरिसे, ढाँडे, मालुखोला, गोठापानी, सैपू, दुरागाउ, रामेछाप, सालू, देउराली, साधुटार लगायतका क्षेत्रमा विपी राजमार्ग हुदै परमिट विना नै गाडी चलाउदै आएको छ । यस्तै साघुटार हुदै ओखलढुंगाको सिंहदेबी, रानीवन, घेराखोरी र फेदीगोठसम्म जाने गाडी पनि सोही रुट भएर जाने गरेको थियो ।
अरनिको यातयातको एकाधिकार रहेको यी क्षेत्रमा अन्य समितिका बस चल्ने गरेका छैनन् । यीमध्ये केही क्षेत्रमा सानो गाडीहरु भने चल्ने गरेका छन् ।
परमिट नभएको भन्दै विपी राजमार्गमा गाडी चलाउन नदिने भएपछि आफूले सव संचालन गर्दै आएका ग्रामीण सडकमा पनि गाडी नचलाइएको समितिले जानकारी दिएको छ ।
‘परमिटै चाहिने हो भने विपी राजमार्गको मात्र होइन, काठमाडौंवाट चरिकोट हुदै जिरीसम्म जाने वाहेकको परमिट हामीसँग छैन, यसैले यतिन्जेल परमिट नचाहिने अहिले किन चाहियो ? यसकारण हामीले परमिट भएको ठाउवाहेकमा गाडी चलाएनौं,’ भारतीले भने ।
आफूहरुलाई परमिट विना गाडी चलाउन नदिने हो भने गाडी नै नचलाउने धम्की अरनिकोले दिएको छ । शुक्रवार विहान अरनिकोले सम्बन्धि जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएर विपी राजगमार्गमा आफूलाई गाडी चलाउन दिन वा अल्टिमेटम दिएको छ । तत्काल परमिट नदिए सवै क्षेत्रमा गाडी बन्द गर्ने समितिको भनाइ छ ।
अरनिकोले यसअघि विपी राजमार्गमा पटके परमिटको आधारमा यात्रुवस चलाउदै आएको थियो । पटक परमिटको आधारमा यात्रुवस चलाउन नपाइने यातयात ब्यवस्था विभागले प्रष्ट पारिसकेको छ ।
यातयात ब्यवस्था विभागको प्राविधिक टोलीले विपी राजमार्गमा १८ सिटभन्दा माथि क्षमताको गाडी चलाउन नमिल्ने प्रतिवेदन दिएको विभागले जानकारी दिएको छ । अरनिकोले अहिले चलाउदै आएका गाडी भन्दा बढी क्षमताका हुन् । विपी राजमार्गमा गाडी चलाउन दिनै पर्ने अरनिकोको दबाब र प्राविधिक रुपमा ती गाडी चल्न नसक्ने प्रशासनको अडानका कारण सो क्षेत्रका हजारौं यात्रु अलपत्र परेका छन् ।