सैनिक कल्याणकारी कोषको मौज्दातमा दुई अर्ब ७१ करोड रुपैयाँ वृद्धि

<p>काठमाडौं, ३१ साउन । नेपाली सेनाद्वारा सञ्चालित सैनिक कल्याणकारी कोषको मौज्दात रकम ३३ अर्ब छ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा कोषको मौज्दात रकम ३० अर्ब ३४ करोड ६६ लाख रुपैयाँ  थियो । एक वर्षको अवधिमा कोषको मौज्दातमा झन्डै रु दुई अर्ब ७१ करोड वृद्धि भएको छ । सैनिक कल्याणकारी कोषका अनुसार बैंक [&hellip;]</p>

काठमाडौं, ३१ साउन । नेपाली सेनाद्वारा सञ्चालित सैनिक कल्याणकारी कोषको मौज्दात रकम ३३ अर्ब छ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा कोषको मौज्दात रकम ३० अर्ब ३४ करोड ६६ लाख रुपैयाँ  थियो । एक वर्षको अवधिमा कोषको मौज्दातमा झन्डै रु दुई अर्ब ७१ करोड वृद्धि भएको छ । सैनिक कल्याणकारी कोषका अनुसार बैंक मौज्दात र लगानीसमेत गरी ३७ अर्ब रुपैयाँको हाराहारीमा यथार्थ मौज्दात पुगेको छ ।

लेखा परीक्षण गर्नुअघि गएको असार मसान्तसम्ममा उक्त कोषमा यथार्थ मौज्दात ३६ अर्ब ५३ करोड ९७ लाख ५५ हजार रुपैयाँ थियो । सैनिक कल्याणकारी कोषको रकम नेपाली सेनाको बहालवाला तथा भूपूको स्वास्थ्य, शिक्षा, आर्थिक राहत र आवास तथा बिमाजस्ता कल्याणकारी कार्यमा खर्च हुँदै आएको छ ।

कल्याणकारी कोषअन्तर्गत हाल आठ महाविद्यालय, मेडिकल र नर्सिङ कलेज सञ्चालनमा छन् भने पोलिटेक्निक इन्स्टिच्युट पनि सञ्चालनको तरखरमा रहेको छ । कोषबाट बहालवाला तथा भूपूको औषधोपचार, बिमा, आवास, निवृत्तिभरणलगायत शैक्षिक संस्था सञ्चालन गर्न वार्षिक दुई अर्ब ५० करोड रुपैयाँ खर्च हुने गरेको छ । आम्दानी भने वार्षिक रुपमा दुई अर्ब ७५ करोड रुपैयाँको हाराहारीमा हुँदै आएको छ ।

सैनिक कल्याणकारी कोषको रकम ‘क’ वर्गका २९ वटा बैंक तथा वित्तीय संस्थानमा रहेको सहायकरथी गौरव तण्डुकले जानकारी दिए । नेपाली सेना शान्तिस्थापनार्थ कार्यका लागि संयुक्त राष्ट्रसङ्घमा सहभागी भएबापत प्राप्त करिब रु एक करोड २४ लाख एक हजारबाट २०३२ सालमा सैनिक कल्याणकारी कोष स्थापना भएको थियो ।

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका बैंक तथा संस्थामा रहेको ८२ करोड रुपैयाँ  निक्षेपमध्ये अब साँवा २७ करोड ४९ लाख रुपैयाँ असुलउपर गर्न बाँकी रहेको बताइएको छ । शान्तिसेनामा भाग लिएबापत प्राप्त हुने, बैंक तथा वित्तीय संस्थामा निक्षेप गरिएको रकमको ब्याज, विद्यार्थीको शुल्क, परिवार आवास भाडा, विदेशी मुद्रा सटही प्रिमियम, पेट्रोल पम्पबाट प्राप्त हुने सहयोग, वीरेन्द्र सैनिक र नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त हुने शुल्क कोषको नियमित आयस्रोत हुन् ।

नेपाली सेनाले उक्त कोषबाट भूकम्पपीडित बहालवाला तथा भूपू गरी ४२ हजार ६२१ घरपरिवारलाई दुई अर्ब ४९ करोडभन्दा बढी रुपैयाँ राहत रकम वितरण गरेको थियो । रासस

Share News