काठमाडौं, ३१ साउन । सोमबार सेयर बजारमा ३९ दशमलब १२ अंकको गिरावट आएको छ । परिसूचक दोहोरो अंकले घटेर १६९४ दशमलब ८१ अंकमा पुगेको छ । सो दिन १४१ कम्पनीको २४ लाख १७ हजार कित्ता सेयर १ अर्ब १९ करोड २९ लाख रुपैयाँमा किनबेच भएको छ ।
दोहोरो अंकले घटेको बजारमा दुई कम्पनी हाम्रो विकास बैंक र सिद्धार्थ विकास बैंकको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सबैभन्दा बढी नेपाल ग्रामीण विकास बैंकका लागानीकर्ताले करिब ९ प्रतिशत गुमाएका छन् । त्यस्तै, रिडि हाइड्रोपावर विकास कम्पनी राप्ती भेरी विकास बैंकका लागानीकर्ताले करिब ८ प्रतिशत गुमाएका छन् ।
सोमबार बजारमा सबै समूहमा रातो रङ देखिएको छ । सबैभन्दा बढी बीमा समूहको परिसूचक २३४ अंकले ओरालो लागेको छ । त्यस्तै होटल, हाइड्रोपावर, बैंकिङ र विकास बैंक समूहको परिसूचक दोहोरो अंक क्रमशः ७६, ४९, ४० र ३७ अंकले घटेको छ । अन्य समूहको परिसूचक भने सामान्य अंक क्रमशः ९ र ३ ले घटेका छन् ।