
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा अधिकांश वाणिज्य बैंकहरूको खुद तरल सम्पत्ति (एनएलए) सीमाभन्दा तल झरेको छ । नेपाल राष्ट्र बैंकले न्यूनतम खुद तरल सम्पत्ति २० प्रतिशतभन्दा माथि हुनुपर्ने व्यवस्था गरे पनि अहिले अधिकांश बैंकहरूको एनएलए घटेको हो ।
तरलता अभावको कारण बैंकहरूको खुद तरल सम्पत्ति (एनएलए) २० प्रतिशतभन्दा पनि कम हुन भएको हो । अहिले बैंकहरू तरलताको समस्या भोगिरहेका छन् । बैंकहरूले चेक साट्न आउनेलाई भुक्तानी दिने प्रयोजनको लागि कम्तीमा २० प्रतिशत एनएलए राख्नुपर्ने राष्ट्र बैंकको व्यवस्था छ ।
२७ वटा वाणिज्य बैंकहरूको औसत एनएलए २१.३९ प्रतिशत भए पनि ६ वटा वाणिज्य बैंकहरूको भने २० प्रतिशतभन्दा कम देखिएको हो । खुद तरल सम्पत्ति कम हुने बैंकहरूमा सनराइज, सिद्धार्थ, कुमारी, नेपाल एसबीआई, सेञ्चुरी र प्राइम कमर्सियल बैंक छन् ।
यी बैंकहरूको खुद तरल सम्पत्ति क्रमशः १९.०४ प्रतिशत, १९.०२ प्रतिशत, १८.२३ प्रतिशत, १८.१४ प्रतिशत, १८.०८ प्रतिशत र १५.९१ प्रतिशत रहेको छन् ।
खुद तरल सम्पत्ति बढी हुने बैंकको अग्रस्थानमा नेपाल चार्टर्ड बैंक छ । यस बैंकको एनएलए ३३.१८ प्रतिशत छ भने एभरेष्ट बैंकको २९.४४ प्रतिशत, नेपाल इन्भेष्टमेन्टको २४.७२ प्रतिशत, नेपाल बंगलादेश बैंकको २४.५३ प्रतिशत, एनएमबी बैंकको २२.७८ प्रतिशत र नबिल बैंकको २२.७२ प्रतिशत र एनसीसी बैंकको २२.५७ प्रतिशत एनएलए छ ।

यस्तै, २१ प्रतिशतको हाराहारीमा खुद तरल सम्पत्ति हुने बैंकको संख्या चारवटा छ । २१ प्रतिशतको हाराहारीमा खुद तरल सम्पत्ति हुने बैंकहरूमा कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु र माछापुच्छ्रे बैंक रहेका छन् ।
नेपाल राष्ट्र बैंकले न्यूनतम २० प्रतिशत तोकेको एनएलए हुने बैंकहरूको संख्या पनि १० वटा छ । सिभिल, सानिमा, नेपाल बैंक, मेगा, सिटिजन्स, हिमालयन, एनआईसी एसिया, ग्लोबल आईएमई, बैंक अफ काठमाण्डू र लक्ष्मी बैंकको खुद तरल सम्पत्ति २० प्रतिशतको हाराहारीमा छ । अब्बल ठानिएका कतिपय बैंकहरू नै अहिले एनएलएको संकटमा देखिएका छन् ।
नेपाल राष्ट्र बैंकका सूचना अधिकारी नारायण पोखरेलले नेपाल राष्ट्र बैंकले खुद तरल सम्पत्ति न्यूनतम २० प्रतिशत कायम गर्ने व्यवस्था गरेको बताउँदै बैंकहरूले सोही अनुसार काम गर्नु पर्ने बताए ।
‘अहिले धेरै बैंकहरूको एनएलए घटेको छ, हामीले एनएलए घटेका बैंकहरूलाई सचेत पनि गराएका छौं, कतिपय बैंकहरूलाई पत्र नै पठाएका छौं,’ उनले भने ।