काठमाडौं । शिक्षाविद्हरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) को औचित्यमाथि प्रश्न गरेका छन् । एसईईको संरचना एसएलसीको भन्दा फरक नभएकाे बताउँदै उनीहरूले एसईईकाे औचित्यमाथि प्रश्न गरेका हुन् ।
शिक्षाविद् प्रा.डा विनय कुमार काैसियत एसईईलाई खारेज गर्नुपर्ने बताउँछन्। काैसियत संविधानले कक्षा १२ सम्म विद्यालय भनेर तोकेपछि पनि एसईई संचालन गर्नुको अर्थ नभएकाे तर्क राख्छन् ।
‘ऐनले १२ कक्षासम्मलाई विद्यालय शिक्षा भनेकाे छ, एसईई संरचना एसएलसीभन्दा केही फरक छैन, त्यसलै यसलाई तत्काल खारेज गरिनुपर्छ,’ उनले विकासन्युजसँग भने ।
विदेशमा पनि विद्यालय शिक्षा भनेपछि बीचमा राष्ट्रिय स्तरको बोर्ड नहुने उनी बताउँछन् । ‘कक्षा १२ लाई एसईई मान्नुपर्छ, कक्षा १० र ११ मा लिइने परीक्षालाई सामान्य रुपमा संचालन गरी कक्षा १२ लाई विद्यालय तहको अन्त्यकाे रुपमा लिनुपर्छ,’ उनले थपे ।
कक्षा ८ मा जिल्लास्तरीय परीक्षा लिएजस्तै कक्षा १० को परीक्षा प्रदेशस्तरीय बनाउनुपर्ने उनकाे भनाइ छ ।
तर, प्याब्सनका पूर्वअध्यक्ष टिकाराम पुरी एसईई खारेज गरे त्यसले नेपालको शिक्षालाई बिगार्ने बताउँछन् । राष्ट्रिय स्तरको परीक्षाको रुपमा संचालन भइरहेको एसईई खारेज भए यसको असर विपन्न परिवारलाई पर्ने उनी बताउँछन् ।
‘अहिले पनि कक्षा १० को नतिजा पाएपछि आर्मी, प्रहरी, खरिदारको लागि प्रतिस्पर्धा गर्न पाइन्छ, कक्षा १० पास गरेर सेवा क्षेत्रमा प्रवेश गर्न चाहने धेरै मानिसहरू छन्, विशेष गरेर विपन्न परिवारका विद्यार्थीहरूलाई एसईई खारेज भए अफ्ठ्यारोमा पर्छन,’ उनले भने ।
अहिले पनि नेपालमा धेरैको पारिवारिक अवस्था कक्षा ११ र १२ पढ्ने भएको बताउँदै उनी एसईई खारेज गर्ने विषय सही नभएकाे बताउँछन् । कक्षा १० मा एसईई हुँदा विद्यार्थीको ध्यान पढाइमा केन्द्रित हुने र यसलाई कम ठान्न नहुने उनकाे भनाइ छ ।
यस्तै, एनप्याब्सनका पूर्वअध्यक्ष टिकाराम पुरी एसईई परीक्षा तत्काल खारेज गर्न नमिल्ने बताउँछन् । ‘जसरी कक्षा १२ मा गएर मात्र राष्ट्रियस्तरको परीक्षा संचालन गर्नुपर्छ भनेर भनिएको छ, त्यो व्यावहारिक रूपमा हालको लागि असम्भव छ,’ उनले भने ।
‘अहिले पनि धेरै विद्यार्थी र अभिभावकको लागि कक्षा १० भनेको टर्मिनेटिङ्ग एक्जाम हो, सबै विद्यालयमा ११ र १२ कक्षा संचालनमा छैन, कुनै पनि विद्यार्थी कक्षा ११ र १२ मा जाँदा एउटा राष्ट्रिय स्तरको परीक्षाको नतिजा त आवश्यक पर्छ,’ उनले भने ।
बत्तिसपुतलीस्थित अंकुर विद्यालयका संयोजकसमेत रहेका सापकोटा १० पछि धेरै विद्यार्थीहरू थप अध्यनको लागि बसाइँसराइ गर्ने गरेको हुँदा सबै विद्यालयमा कक्षा ११ र १२ संचालन नभएसम्म एसईई खारेज गर्न नमिल्ने बताउँछन् । वैशाख ९ गतेदेखि एसईई परीक्षा संचालन हुँदैछ । यस वर्ष एसईईमा ५ लाख ८ हजार परीक्षार्थी सहभागी हुने प्रारम्भिक अनुमान छ ।