वाशिङ्गटन डिसी । नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) ले यस वर्षको इन्जा बौद्धिक अनुसन्धानवृत्ति बरिष्ठ पत्रकार कपिल काप्ले र त्रिभुवन विश्वविद्यालयका पत्रकारिता विषयका उप–प्राध्यापक देवराज अर्याललाई प्रदान गर्ने निर्णय गरेको छ ।
पत्रकारिता तथा आमसञ्चार क्षेत्रका बौद्धिक अनुसन्धाताहरूलाई अध्ययन अनुसन्धानमा सहयोग पु¥याउने उद्देश्यले इन्जाले यसै वर्षबाट यो बौद्धिक अनुसन्धानवृत्ति प्रदान गर्ने परम्पराको थालनी गरेको इञ्जा अध्यक्ष गुणराज लुइटेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा दर्शनाचार्य (एमफिल) को उपाधि हासिल गरी सोही विषयमा विद्यावारिधि गर्दै गरेका बरिष्ठ पत्रकार कपिल काफ्ले नेपाल समाचारपत्र राष्ट्रिय दैनिकका सम्पादक हुन् । उनी हाल नेपाल खुला विश्वविद्यालयमा प्राध्यापन गरिरहेका छन् ।
यसैगरी त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागमा उप–प्राध्यापकका रूपमा कार्यरत देवराज अर्यालले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा आमसञ्चार विषयमा राजनीतिक परिवर्तनमा मिडियाको भूमिकासम्बन्धी विषयमा केन्द्रित भई विद्यावारिधि गरिरहेका छन् ।
२०४३ सालमा नेपाल प्रेस इन्ष्टिच्यूटबाट १० महिने पत्रकारिता तालिम पूरा गरेसँगै कामना प्रकाशन समूहमा आवद्ध भएका काफ्लेले त्यही संस्थाबाटै आफ्नो परिचय बनाएका हुन् । हाल सो प्रकाशन गृहको राष्ट्रिय दैनिक नेपाल समाचारपत्रमा कार्यरत काफ्ले त्यसका संस्थापक सम्पादक पनि हुन् ।
सिनेमाका विषयमा केन्द्रित कामना मासिकमा रिपोर्टरबाट पत्रकारिताको अभ्यास थालेका काफ्ले छोटो समयमै त्यसका सम्पादक भए । विगत तीन दशकभन्दा लामो समयदेखि उनी विभिन्न मिडियामा सम्पादककै जिम्मेवारीमा छन् ।
२०५३ सालदेखि चितवनको नारायणी साप्ताहिकबाट पत्रकारिता शुरु गरेका अर्यालले २०५४ सालदेखि युगसम्वाद साप्ताहिकको सम्वाददाता, सहसम्पादक हुँदै २०५९ सालदेखि २०६३ सालसम्म कार्यकारी सम्पादकको जिम्मेवारी बहन गरेका थिए ।
उनले माउण्टेन टेलिभिजनमा २०७३ देखि २०७४ सालसम्म समाचार सम्पादकको रुपमा कार्य गरे ।
नेपाल पत्रकार महासंघको राष्ट्रिय परिषद सदस्य समेत रहेका अर्याल त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता विभागमा उपप्राध्यापकका रूपमा कार्यरत छन् ।
अमेरिकाको राजधानी वाशिङ्गटनमा मुख्यालय रहेको इञ्जा पत्रकारिता बौद्धिक अनुसन्धानवृत्तिको राशी जनही पाँच सय अमेरिकी डलर रहेको छ । इन्टरनेसनल मनिटरी फन्डको उच्च पदमा पुगेर सेवा गर्नु भएका अर्थ विद स्व. डा सुखदेव शाहको संस्मरणमा ईन्जासंग सहकार्य गर्दै उनकी धर्मपत्नी श्रीमती विजया शाहले स्थापना गरेको अनुसन्धानवृत्ति कोष अन्तर्गत यो अनुसन्धानवृत्ति प्रदान गरिएको कुरा इन्जाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।