काठमाडौं, २८ साउन । उपप्रधान तथा अर्थमन्त्री कृष्णवहादुर महराले अर्थमन्त्रालयको अनुभव प्राप्त गरिसकेका पूर्वअर्थसचिव र पूर्वअर्थमन्त्रीसँग छलफल गरेर अगाडि बढ्ने नीति लिएका छन् । गत आर्थिक बर्षको आर्थिक बृद्धिदर ०.७७ प्रतिशत रहेको, भूकम्प र नाकाबन्दीको कारण अर्थतन्त्र कमजोर बनेको, चालु आर्थिक बर्षको महत्वाकाक्षी बजेटका कारण मूल्य बृद्धि नियन्त्र र आर्थिक विकास हासिल गर्नु चुनौतिपूर्ण बनेको जस्ता कारणले अर्थतन्त्र कठिन अवस्थामा पुगेको विश्लेषण गर्दै यसवाट निकास पाउने विकल्प निकाल्न यस्तो छलफल गरिएको हो ।
मन्त्री महराले विहिवार पूर्वअर्थसचिवहरुसँग अवको बाटो र योजना कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल गरेका थिए । उनले त्यस्तो छलफलवाट प्राप्त सुझावहरुलाई प्रभावकारी कार्यान्वयन गरेर आर्थिक विकास र समृद्धिको लक्ष्य प्राप्त गर्ने गरी अर्थमन्त्रालय अगाडि बढ्ने बताए ।
छलफलमा पूर्व अर्थ सचिवहरु हिमालय शमसेर ज.ब.रा., डा. भेषबहादुर थापा, डा. भोजराज पोखरेल, भानु प्रसाद आचार्य, युवराज भुषाल र कृष्णहरी बाँस्कोटा लगायत सहभागी थिए । सहभागी पूर्वसचिवहरुले बिगतका आफ्ना अनुभवका आधारमा अर्थ मन्त्रालयले चाल्नुपर्ने कदमका बारेमा सुझाब दिएका अर्थमन्त्रालयका सुचना तथा संचार विज्ञ त्रिभुवन पौडेलले जानकारी दिए ।
सुझावपछि अर्थमन्त्री महराले प्राप्त सुझाबलाइ अर्थ मन्त्रालय संचालन गर्नका लागि सहयोगी हुने वताए । आफुले पूर्व अर्थमन्त्रीहरुसँग समेत छलफल गरीरहेको जानकारी दिदै सबैसँग सल्लाह गरेरै अगाडी बढ्ने आफ्नो योजना रहेको जानकारी दिए ।
‘सवैको सल्लाह लिएर मात्रै म अगाडि बढ्छु, एक्लै हिड्ने मनस्थितिमा अर्थमन्त्रालय र ब्यक्तिगत रुपमा म छैन,’ पूर्वसचिबहरुको सुझाव सुनेपछि मन्त्री महराले भने । एक अर्काे प्रसंगमा उनले पूर्ववर्ती सरकारले ल्याएको बजेटप्रति आफू पूर्वाग्राही नभएको पनि बताए ।