काठमाडौं २४ असार। अनलाईन मार्फत पर्यटन सम्वन्धि सूचना तथा जानकारी दिने बेलायतको ‘रफ गाइड्स’ले तयार पारेको विश्वमा घुम्नैपर्ने १० देशको सूचिमा नेपाल पहिलो स्थानमा परेको छ।
लन्डनमा कार्यालय रहेको ‘रफ गाइड्स’ ले ३४ वर्षदेखि विश्वभरका पर्यटकका लागि ‘गाइड बुक’ तयार पार्ने काम गर्दै आएको छ ।
सन् २०१६ का लागि रफ गाइड्सले तयार पारेको उत्कृष्ट घुम्नुपर्ने देशको सूचीमा दक्षिण एसियाबाट नेपाल र श्रीलंका परेका छन् । श्रीलंकाले उत्कृष्टको १० औं स्थान ओगटेको छ ।
त्यसैगरी दोस्रो स्थानमा कोलम्बिया, तेस्रोमा क्युबा, चौथोमा जोर्डन र पाँचौं स्थानमा अल्बानिया परेका छन् । त्यस्तै, छैठौं स्थानमा रोमानिया, सातौंमा एल साल्भाडोर, आठौंमा वेल्स, नवौंमा केन्या र दसौंमा श्रीलंका परेको छ।
‘भूकम्पले थलिएपनि नेपालको पर्यटन उद्योग फेरि उदाएको छ’ रफ गाइड्सले भनेको छ ‘हजारौं मान्छे घरबारविहीन भए र दैनिक जीवन पूर्ण रूपमा सामान्य अवस्थामा फर्किसकेको पनि छैन।’
यहाँको ऐतिहासिक सम्पदास्थल विस्तारै पुनर्निर्माण हुँदैछन्। पदयात्रा मार्गहरू पुनः खुला भइरहेका छन्। रफ गाइड्सले भनेको छ ‘नम्र तथा मृदुभाषी नेपाली विस्तारै सामान्य अवस्थामा फर्किन थालेका छन्।’ पर्यटकले खर्च गर्ने डलर स्वतन्त्र होमस्टेमा मात्र नभई स्थानीय तहमै खर्च हुने र त्यसको लाभ सबैले पाउने नेपालका टुर तथा ट्राभल कम्पनीले आश्वस्त पार्दै आएको रफ गाइड्सको भनाइ छ ।
‘विश्वको सर्वोच्च शिखर सगरमाथादेखि बाघ, हात्ती र गैंडाको बासस्थान समथर तराईसम्मका विविध भौगोलिक परिदृश्यबाट पर्यटक नलोभिने प्रश्नै आउँदैन’ रफ गाइड्सले भनेको छ ‘त्यसकारण सन् २०१६ मा घुम्न जाँदै हुनुहुन्छ भने नेपाल तपाईंको पहिलो छनोट हुनैपर्छ।’