काठमाडौं, २४ साउन । साउन १२ गते १८८१ अंकमा पुगेर नेप्से परिसूचकमा इतिहासकै सर्वाधिक उचाई कायम भएको थियो तर साउन २४ गते आईपुग्दा बजार ओरालो लागेर १६७५ दशमलब ९१ अंकमा आईपुगेको छ । पछिल्लो ७ वटा कारोबारमा नेप्से परिसूचक २०२ दशमलब २१ अंकले घटेको छ ।
त्यसो त पछिल्लो आठ दिनको कारोबारमा भने बजार २०६ अंकले घटिसकेको छ । पुँजी बजार साउन १३ गतेदेखि नै ओरालो लाग्न थालेको थियो ।
एक साता अघि लगानी कर्ता कहाँबाट आएका थिए र अहिले कहाँ गए भन्ने जिज्ञासा उत्पन्न भएको छ । तर नियामक निकायसँग यसको चित्त बुझ्दो जवाफ भेटिन्न ।
यस्ता छन बजार घट्नुका कारणहरु
धितोपत्र बोर्डको लगाम
नेपाल धितोपत्र बोर्डले बजार अनावश्यक रुपमा बढेको भनेर पटक पटक सचेत गराउँदै विज्ञप्ति प्रकाशित गर्दै आएको थियो । पछिल्लो पटक बोर्डका अध्यक्ष रेवत बहादुर कार्कीले नियमित पत्रकार भेटघाट कार्यक्रममा बजार अश्वभाविक रुपमा बढेको र साना लगानी कर्ता जोखिममा परेको बताएका थिए । त्यसको केहि दिनपछि बजारका बारेमा एउटा लेख नै लेखेका थिए । त्यहि लेखका कारण बजार ओरालो लाग्न थालेको आरोप लगानी कर्ताहरुको छ ।
ब्रोकरको बदमासी
सेयर बजारका पण्डितहरुका अनुसार बजार अनावश्यक रुपमा बढ्नुका पछाडी सेयर ब्रोकरहरुको ठुलो भूमिका थियो । ब्रोकरहरुले आफन्तहरुका नाममा कारोबार गरिरहेका थिए । पछिल्लो समय धितोपत्र बोर्डले ब्रोकरको कारोबारमाथी निगरानी बढाएपछि उनीहरु भटाभट सेयर बिक्रि गर्न लागिपरेका छन् । माग भन्दा आपुर्ति बढी भएपछि बजार घट्ने नै भयो ।
कालोधनको सकस
सेयर बजारमा कालोधन लगानी भएको भन्दै बोर्डले छानविन समिति नै बनाएर अध्ययन गरिरहेको छ । त्यसकारण श्रोत खुलाउन नसकेका सम्भावित कालोधन वाला लगानी कर्ता सुरक्षित तवरले सेयर बेचेर अवतरणको प्रयास गरिरहेका छन् ।
ठुला लगानी कर्ताको चलाखी
नेप्से परिसूचक १५०० अंक नाघेपछि ठुला लगानी कर्ता बाहिरिईसकेको स्वंय लगानी कर्ताहरुले दावी गरेका थिए । ब्रोकर एसोसियसनका पुर्व अध्यक्ष नरेन्द्र सिँजापतिले लाली गरासँ लाइफ इन्स्योरेन्स कम्पनीको सेयर किनिदिनु पर्यो भन्दै लगानी कर्ता आएको बताएका थिए । यसले पनि बजारमा नयाँ लगानी कर्ता ठुलो मात्रामा भित्रिएको पुष्टि हुन्थ्यो । नयाँ र बजार नबुझेका लगानी कर्ता भित्रिएपछि बढेको बजार ओरालो लाग्नु स्वभाविक नै देखिन्छ ।