बैंकर जोडीः श्रीमान फर्ष्ट म्यान, श्रीमती सेकेण्ड म्यान र राष्ट्र बैंकले खोसेको पद

<p>काठमाडौं । अमेरिकन प्रशिद्ध संगीतकार ड्यूक एलिंगटनले भनेका छन्, ‘समस्या भनेको राम्रो गर्ने अवसर हो ।’ हरेकको जीवनमा विभिन्न आरोह, अवरोह तथा समस्याहरु आउँछन् । ती समस्याहरुलाई अवसर ठानेर जसले आफुलाई थप परिस्कृत गर्छ उसले नै एकदिन अवश्य सफलता हात पार्छ । भनिन्छ नि, ‘सत्यलाई नकार्न सकिँदैन’ सफलता वा असफलता पनि सत्य हो । त्यो [&hellip;]</p>

काठमाडौं । अमेरिकन प्रशिद्ध संगीतकार ड्यूक एलिंगटनले भनेका छन्, ‘समस्या भनेको राम्रो गर्ने अवसर हो ।’ हरेकको जीवनमा विभिन्न आरोह, अवरोह तथा समस्याहरु आउँछन् । ती समस्याहरुलाई अवसर ठानेर जसले आफुलाई थप परिस्कृत गर्छ उसले नै एकदिन अवश्य सफलता हात पार्छ । भनिन्छ नि, ‘सत्यलाई नकार्न सकिँदैन’ सफलता वा असफलता पनि सत्य हो । त्यो सत्यलाई अगाडि आत्मसाथ गरेर जसले अगाडि बढ्छ उसलाई लक्ष्य भेटाउन धेरै समय कुर्नु पर्दैन ।

आजभन्दा २० वर्ष अगाडि रसुवाकी सरिता ढकाललाई पनि यस्तै लाग्थ्यो । प्लसटुको पढाई सकेर काम खोज्दै गरेका ती पल हुन् वा काम पाइसकेपछि पनि राति अबेरसम्म दुर्गम गाउँठाउँमा टर्च बालेर काम गर्दाका ती दिनहरु सरितालाई हिजो जस्तै लाग्छ ।

कमै काम गर्नु परोस्, सुविधा सम्पन्न ठाउँमा काम पाइयोस्, सँगै काम गर्ने सहकर्मीहरुले साथ दिउन्, सकेसम्म कामबाट चाँडै घर जान पाइयोस् भन्ने सबैको इच्छा आकांक्षा र रहर अवश्य नै हुन्छ । तर, सरिता ढकालले भने अहिलेसम्म त्यस्तो अनुभव गर्न पाएकी छैनन् ।

विवाह नगर्दै सिउँदोमा सिन्दुर भर्नुको बाध्यता होस्, आफैले अफिसमा कुच्चो लगाएका दिनहरु हुन् वा सँगै काम गर्ने सहकर्मीहरुले सरितालाई आफ्नो टीममा नराखेको दुःखदायी क्षणहरु नै किन नहुन् ती हरेक दुःखदायी क्षण र चुनौतिहरुले उनलाई थप पाठ सिकायो । ती चुनौति र समस्याहरु उनका लागि अवसर बने ।

सरिता ढकाल हाल साधना लघुवित्त वित्तीय संस्थाकी सहायक महाप्रबन्धकमा कार्यरत छिन् । यो पदमा पुग्न उनले २०  वर्ष संघर्ष गर्नु पर्यो । वि.स २०३९ सालमा रसुवा जिल्लाको बेद्रावतीमा जन्मिएकी ढकाल मध्यमवर्गीय परिवारको सदस्य थिइन् । रसुवाकै निलकण्ठ माध्यामिक विद्यालयबाट २०५५ सालमा एसएलसी (हालको एसईई) पास गरेकी उनले नुवाकोटको चण्डेश्वरीबाट मानविकी संकायमा प्लसटु पूरा गरिन् ।

एसएलसीसम्म मध्यमस्तरकी विद्यार्थीको रुपमा चिनिने उनले प्लसटुमा कलेज टप गरिन् । ‘एसएलसी दिएपछि म विभिन्न तालिमहरुमा व्यस्थ हुन्थें, मसँग खासै समय हुन्थेन, कलेज जानलाई समय पनि हुँदैनथ्यो तर, पनि कलेज टप हुँदा खुशी लागेको थियो,’ उनले स्कुले जीवन स्मरण गर्दै सुनाइन् ।

प्लसटुपछि काम

सरिताले प्लसटु सकेपछि अब काम गर्नु पर्छ भन्ने योजना बनाइन् । उनी पढाईमा मात्र फोकस नभई जब करियरमा बढी रुची देखाउन थालिन् । एसएलसी पास भएपछि हाउसहोल्ड सर्भिसको कामसँगै लिट्रेसी सम्बन्धि तालिम लिएकी थिइन् । सो तालिमले उनलाई एक अर्कासँग बोल्न नडराउने बनायो । उनी निडरका साथ अरुसँग बोल्ने भइसकेकी थिइन् ।

‘मलाई सानैदेखि जागिर खाने खुब रुची थियो, जसलाई भेट्दा पनि जागिर मिलाई दिनु भन्थें, यसैक्रममा एक जना दाईले बारामा डिप्प्रोक्स नेपालमा काम छ जान्छौं भन्नुभयो, म पनि हुन्छ भनेर गएँ, सोही संस्थाबाट मेरो जब करियर सुरु भयो,’ उनले भनिन् ।

ढकालले काम शुरु गरेको संस्था डिप्रोक्स नेपालले माइक्रोफाइनान्सको सेवा सुविधा दिन्थ्यो । संस्थाले उनलाई प्रशिक्षार्थी कर्मचारीमा राख्यो । उनले त्यहाँ ७ वर्ष पुरा काम गरिन् । यो अवधिमा उनी प्रशिक्षार्थी कर्मचारीबाट सिनियर मोटिभेटरसम्म बन्न सफल भएकी थिइन् ।

टीम पाटर्नरसँगै प्रेम, त्यसपछि विवाह

डिप्रोक्स नेपालमा सरितासँगै काम गर्थे लमजुङका रेशम न्यौपाने । सँगै काम गर्दा सरिता र रेशमको आत्मियता बढ्यो । एउटै पद भएर पनि हुन सक्छ उनीहरुको सामिप्यता झन् बढ्यो ।

‘डिप्रोक्समा हुँदा मलाई कसैले पनि टीममा राख्न मान्नु भएको थिएन, एउटा टीममा दुई जना हुनु पर्नेमा मेरो टीममा म एक्लै थिएँ, पछि म आवद्ध भएको तीन महिनापछि एक जना सर (रेशम न्यौपाने) मेरो पोष्टमै आवद्ध हुनुभयो, एउटै पोष्टमा भएपछि हामीबीचको नजिकता बढ्दै गयो, एक अर्कालाई बुझ्ने मौका पनि पायौं, हामी यतिसम्मको डिसिप्लेनमा थियौंकी खाना पनि कहिल्यैसँगै खादैनथ्यौं, सँगै खाना खाएपछि भोलि केही अफ्ठ्यारो पर्छ की भनेर म आफै सजक बनेको थिएँ, त्यसैले म छुट्टै खाना बनाएर खान्थें भने उहाँ होटलमा गएर खानुहुन्थ्यो, मैले पनि खाना खाउँ भनेर प्रस्ताव राख्न सकेको थिइनँ तर, पछि एकदिन उहाँ बिरामी पर्नु भयो, अरु टीमका साथीहरुले होटलको खानाले उहाँलाई टाइफाइड भयो, अब सँगै खाना खाने गर्नुस् भनेपछि मात्रै हामीले सँगै खाना खान थालेका हौं,’ उनले विगत सम्झिदै भनिन् ।

दिनहरु बित्दै गए । सरिता र रेशमको साथ प्रगाढ हुन थाल्यो । दुवै जनाले एकअर्कालाई प्रेम गर्न थालिसकेका थिए । सरिता र रेशमले नजिक हुँदा मात्रै नभई टाढा हुँदा पनि एक अर्कालाई राम्रोसँग कियरिङ र सियरिङ गर्न थाले । एक अर्कालाई आँट भरोसा दिन थाले ।

‘काम गर्दै जाँदा हाम्रो सामिप्यता बढ्दै गयो, एक अर्कालाई राम्रैसँग बुझ्न थाल्यौं, मैले पनि उहाँलाई आँट भरोसा दिन थालें, उहाँ विराटनगर हुँदा म काठमाडौं सरुवा भएको थिएँ, यति लामो दुरि हुँदा पनि हामीले एक अर्कालाई नजिकबाट बुझिरहेका थियौं, कुनै काम गर्न एक अर्कालाई म छु भन्दै हौसला दिन थाल्यौं, यतिसम्मकी सरले मैले भनेको कुनै पनि कुरालाई ‘नो’ भन्न सक्नुहुन्थेन, उहाँबाट मैले शुरुवातदेखि नै अहिलेसम्म पनि त्यो किसिमको सपोर्ट पाइरहेको छु,’ ढकालले भनिन् ।

प्रेम भएको ४ वर्षपछि मात्रै उनीहरु विवाह बन्धनमा बाँधिए । जतिबेला सरिता २३ वर्षकी थिइन् । एकअर्कालाई राम्रोसँग बुझ्ने भएकाले विवाह बन्धनमा बाधिएको उनले सुनाइन् । सँगै काम गर्दाको टीम पाटर्नरलाई लाइफ पाटर्नर बनाउन पाउँदा उनी अहिले खुशी छिन् ।

विवाह नहुँदै सिन्दुर लगाएका ती दिन

कयौं दिनहरु दुर्गम गाउँमा गएर भोकै बस्नु परेका अनभुवहरु सरितासँग प्रशस्त छन् । वित्तीय संस्थामा धेरै नै दुःख गरिएका दिन सम्झदै उनले भनिन्, ‘अहिले अफिस समय ८ बजेदेखि बनाइएको छ, पहिला त बिहान ७ बजेनै अफिस पुगेर बेलुका ९/१० बजे मात्र फर्किन्थ्यौं, फिल्डको कामको लागि कतै गाउँ जानुपर्ने छ भने झोलामा टर्च बोकेर ४/५ घण्टा उकालो हिँडेर भए पनि पुग्थ्यौं,’ उनले भनिन् ।

त्यति मात्रै होइन अविवाहित अवस्थामै सिउँदोमा सिन्दुर लगाउनु पर्ने नमिठो अनुभव उनीसँग छ । पहाडकी छोरी ढकालले तराईंमा करिब ७ वर्ष आफ्नो कलिलो जीवन बिताइन् ।

‘म १६/१७ वर्षकी थिएँ, विवाह भएको थिएन, तर तराईंमा सबैले विवाह भएको छ भनेर सोध्थे, म भइसकेको छ भन्थें । किनकी मलाई अफ्ठ्यारो हुन्छ भनेर विवाह भएको छ भन्न लगाइएको थियो, अनि विवाह भएको मान्छेको खाली सिउँदो हेर्न हुँदैन भनेर त्यहाँका महिलाहरुले दैनिक सिउँदोमा सिन्दुर लगाउँथे, म विवश भएर सिउँदो थाप्थें, त्यो मेरो जीवनकै नमिठो अनुभव थियो,’ उनले निराश हुँदै सुनाइन् ।

उनले फिल्डमा जाँदा सिन्दुर लगाउने र अफिसमा फर्केपछि पानीले पखाल्ने गरेको बताइन् । तर, आफुले जस्तो सुकै पीडा भोगेपनि निरन्तर काममा लागि परेको सुनाइन् ।

‘म अरुले के भन्छ भनेर पछि लागिन, त्यो सुन्ने समय पनि हुँदैनथ्यो, अरुले सुनाउँदा पनि वास्ता गरिनँ, भन्नेले भनिराखुन्, दुनियाँमा कसैले कुरा सुनेर हिड्नु हुँदैन र विश्वास पनि गर्नुहुँदैन, मलाई लाग्थ्यो मान्छेको जति सोचाईं हुन्छ, त्यति नै भन्ने हुन्, उनीहरुलाई जस्टिफाई दिइरहन जरुरी छैन, आफुले गल्ती गरेको बेलामा जस्टिफाई दिनु पर्ला नत्र आवश्यक छैन,’ उनी आत्मविश्वासका साथ भन्छिन् ।

विकास बैंकमा पनि काम

डिप्रोक्स नेपालमा ७ वर्ष काम गरेको अनुभव बटुल्दै उनी पोखरा पुगिन् । उनी २०६७ साल बैशाख १ गतेदेखि कास्कीको साउँखोलामा शाखा रहेको मुक्तिनाथ विकास बैंकमा आवद्ध भइन् । त्यसपछि, डेढ वर्षपछि डेभिडफलमा रहेको सोही बैंकको शाखामा जोडिन पुगिन् । उनले करिब ७ वर्ष जति सोही शाखामा रहेर काम गरिन् । असिस्टेन्टको रुपमा गएकी उनी जुनियर अफिसर हुँदै सिनियर अफिसरसम्म भइन् । र, पछि उनी सुभरभिजन विभागमा तानिइन् । त्यतिबेला उनले बैंकको काठमाडौंमा रहेको ११ वटा शाखाको मनिटरिङ्ग गर्थिन् ।

मुक्तिनाथ विकास बैंकमा काम गर्दा पनि धेरै कुराहरु सिकेको उनी सुनाउँछिन् । सो बैंकमा कामा गर्दा सरिताले छोराको जन्म दिइन् । सानो छोरालाई पिठ्युँमा बोकर बैंकमा काम गर्दाको अनुभव पनि उनीसँग छ ।

‘छोरो सानो थियो, कति मिटिङहरुमा छोरोसँगै हुन्थ्यो, बिहान ७ बजे अफिस जानुपर्ने हुन्थ्यो, बिहान ७ बजे नै बच्चा छोडेर अफिस जान्थें, १३ वर्षको नानीलाई बच्चा जिम्मा लगाएर फिल्ड जान्थें, अनि कसैले फोन गर्दा पनि मन झसंग हुन्थ्यों, कतै बच्चालाई केही भइहाल्यो की भन्नलाई फोन आएको हो की भन्ने जस्तो अवस्था पनि हुन्थ्यो,’ पहिला गरिएका ती संघर्षलाई सम्झिँदै ढकालले भनिन्- ‘म परिवासँग थिइनँ, साथीको रुपमा मसँग दिदीको छोरी थिइन्, उनले नै बाबु हेर्थिन्, बाबुलाई निमोनिया हुँदा पनि म उनकै भरमा छोडेर अफिसको काममा लागि परेको थिएँ, त्यतिबेला पनि धेरै नै संघर्ष गरियो ।’

सरिताले मुक्तिनाथमा काम गर्दै गर्दा रेशम पनि डिप्रोक्स नेपालबाट मुक्तिनाथ विकास बैंकमा आए । त्यहाँ केही समय काम गरेर उनी चौतारी माइक्रोफाइनान्समा गए । हाल उनी साधना लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत (सीईओ)को रुपमा कार्यरत छन् ।

श्रीमान फर्ष्ट म्यान, श्रीमती सेकेण्ड म्यान

मुक्तिनाथ विकास बैंकमा काम गरेपछि सरिताले साधना लघुवित्त वित्तीय संस्थामा काम थालिन् । उनले २०७४ साल कात्तिक २३ गते सो संस्थामा नियुक्ति पाइन् ।

‘मलाई मुक्तिनाथ विकास बैंकमा सबै कुराले राम्रै थियो तर, सरलाई साधना लघुवित्त वित्तीय संस्थामा सीईओमा अफर आयो, उहाँलाई त्यो अफर आईसकेपछि दुबैजना जानुपर्छ भन्ने भयो, फर्ष्ट म्यान सफल हुनुमा सेकेन्ड म्यानको हात पनि ठूलो हुन्छ भन्ने भयो, र सोही मान्यता अनुरुप नै हामी हुर्किसकेको संस्थाबाट भर्खर जन्मिएको संस्थामा आवद्ध भयौं,’ उनले भनिन् ।

त्यतिबेला उनका श्रीमान र उनको धेरैले आलोचना गरे । राम्रो संस्था छोडेर किन भर्खरको संस्थामा गएको भनेर प्रश्न पनि गरे । तर, उनीहरु दुवै जनाले निरन्तर आफ्नो काम गरिरहे ।

‘धेरैले तिमीहरुले जुवा खेलेको हो, स्थापना भइसकेको संस्था छोडेर एकैपटक नजाओ, एकैपटक जाँदा गाह्रो हुन्छ भने धेरै साथीहरुले भन्नु भएको थियो, तर एक युगमा एकपटक मात्रै समय आउँछ, समय आएको बेलामा जोखिम लिनै पर्छ भनेर हामी अघि बढ्यौं, श्रीमानले पनि अहिले अलि बेला भएको छैन, दुई चार वर्षपछि मात्रै जानेकी भन्नु भएको थियो । तर, मैले होइन अब पनि बेला नभए कहिले हुन्छ, अब अघि बढ्नु पर्छ, म छु, साथ दिन्छु भनेर संस्थामा आईयो,’ उनले भनिन् ।

‘हामी आउँदा संस्था सानो थियो, सबै जिम्मेवारी नै हामीलाई नै दिएको छ भन्ने हुन्थ्यो, मैले कुच्चो लगाउँदै जाने र सीईओ (श्रीमान)ले पुछ्दै जानेसम्मको पनि काम गर्यौं, यति संघर्षपछि हामीले खोलेको पहिलो वर्षको ८ महिनामै संस्थालाई नाफामा लियौं, थोरै जनशक्तिबाट हामीले धेरै काम लियौं, पहिला शाखा खोज्नको लागि ७/८ घण्टा हिँडेर गइन्थ्यो, त्यसपछि बल्लतल्ल एउटा मोटरसाइकल किनेका थियौं, अहिले ६५ लाखको गाडी छ, मान्छे पिच्छे नै मोटरसाइकल त नर्मल भइसक्यो,’ उनले पहिलेको दुःख र अहिलेको सफलता सुनाउँदै भनिन् ।

उनका अनुसार साधनाको ९३ वटा शाखा छन् । हाल संस्थामा ४५० हाराहारीको कर्मचारी छन् । ‘संस्थामा पहिलो नियुक्ति मेरो थियो भने उहाँको सेकेन्ड नियुक्ति हो्, त्यतिबेला ६ वटा ब्रान्च थियो । धेरै संघर्ष गरेर शाखा खोल्यौं, अहिले ६ अर्ब बराबरको लगानी छ, एक लाख हाराहारीमा ग्राहक छन्,’ उनले भनिन् ।

‘म कहिले कता त कहिले कता पुगिरहेको हुन्छु, आधि अफिसमा हुन्छु भने आधि फिल्ड, ब्रान्च सुपरभिजन, ट्रेनिङ्ग तिरै हुन्छु । मैले यहाँ आएको पहिलो दुई वर्षजति सबै डिपार्ट हेर्थें, उनले भनिन्,‘अहिले विशेष गरी तालिम, एचआर र प्रशासन गरी तीन वटा डिपार्ट हेर्छु ।’ आएर धेरै संघर्ष गरेर संस्थालाई नेशनल लेभलको बनाइयो । अहिले संस्थाको सबै स्ट्रक्चरहरु राम्रो छ ।’

श्रीमानलाई सीईओ बनाउने दृढता

सरिताका श्रीमान रेशम न्यौपाने पनि बैंकर नै हुन् । उनी हाल साधना लघुवित्तकै सीईओका रुपमा कार्यरत छन् । न्यौपाने सीईओ बन्नु पछाडिको महत्वपूर्ण पहल, योजना र निर्णय सरिताको छ । सुरुमा डिप्रोक्समा काम गर्ने उनीहरु त्यसपछि मुक्तिनाथमा पनि सँगै काम गरे ।

मुक्तिनाथमा काम गरेपछि न्यौपाने चौतारी माइक्रोफाइनान्समा आवद्ध भए । सो संस्थाबाट बाहिरिएर उनीहरु साधनामा काम गर्न थाले । साधनामा रेशम फष्ट म्यान बने भने सरिता सेकेण्ड म्यान । तर, राष्ट्र बैंकको एक नीतिले उनीहरुको पद बदलियो ।

‘मेरो त्यो बेलाको लक्ष्य सरलाई कुनै बलियो कम्पनीको सीईओ बनाउँछु भन्ने थियो, जुन मेरो प्रतिवद्धता नै थियो, र, पुरा पनि भयो, साधनामा आएपछि थुप्रै संघर्ष पनि गर्यौं, त्यतिबेला सर फर्ष्ट म्यान हुनुहुन्थ्यो भने म सकेण्ड म्यान, तर पछि नेपाल राष्ट्र बैंकले एउटै घर परिवारको फर्ष्ट म्यान र सेकेण्ड म्यान राख्न नमिल्ने नीति ल्याएसँगै अहिले सहायक महाप्रबन्धक पदमा छु, उहाँ सीईओ नै हुनुहुन्छ’ उनले सुनाइन् ।

ढकालले महेन्द्ररन्त कलेजबाट स्नातक तहको शिक्षा हासिल गरेकी छिन् । एजुकेशनबाट स्नातक गरेकी उनले सोसियोलोजि र आर एण्ड डीबाट एमबीए गरेकी छिन् । प्लसटुमा बेला बेलामा कलेज पुगेकी ढकालले स्नातकमा त कलेज समेत नदेखेको सुनाउँछिन् । सेल्फ स्टडीबाट नै उक्त शिक्षा हासिल गर्न सफल भएको उनले बताइन् ।

उनले आफुलाई पनि श्रीमानले धेरै साथ सहयोग गरेको सुनाइन् । उनले माइती पक्षबाट पनि धेरै साथ मिलेकै कारण आफु संघर्षको बाटोमा दौडिन पाएको बताउँछिन् । समाजले विभिन्न प्रश्नहरु उठाउने भएपनि आफ्नो काम र कर्तव्यमा अडिक रहेर काम गरे मात्रै सफलता पाइने उनले बताइन् ।

‘धेरैले त मलाई तपाईं कसरी यस्तो एक्टिभ हुनुभएको ? के खानुहुन्छ ? भनेर सोध्नुहुन्छ, मेरो जवाफमा काम गर्ने शरीरले होइन, दिमागलाई जसरी चलायो त्यसैगरी चल्ने म भन्छु, वास्तविकमा हो पनि, पहिलेदेखि नै मेरो मान्यता त्यहि नै थियो, सो मान्यताको कारणले होला कोभिड हुँदा पनि म २ देखि ३ दिनसम्म पनि सुतिन, जबकी मलाई ४ पटकसम्म कोभिड भएको थियो, यसको लागि आफ्नो आत्मबल बलियो हुनुपर्छ,’ उनले भनिन् ।

‘म दिनरात काम गरिरहेकी हुन्छु, दिनरात खट्दा तपाईंको श्रीमानसँग राम्रो सम्बन्ध छैन की, डिभोर्स भइसकेको हो की क्या हो पनि भन्थे, डेरामै बस्दा पनि बिहानै ७ बजेर निस्केर बेलुका ८/९ बजे आउँदा घरबेटीले गरेको चाल राम्रो छैननी भन्ने प्रश्न पनि सहनु पर्यो, केटी मान्छे यति रातीसम्म किन यसरी काम गर्ने भनेर एक किसिमको पीडाहरु दिन्थे,’ विवाहित भएपछिको त्यो पीडा सम्झँदै ढकालले भनिन् ।

महिलालाई सुझाव

सरिता ढकाल महिलाहरुलाई आर्थिक रुपमा एकदमै सबल हुनुपर्ने सल्लाह दिन्छन् । त्यसका लागि आफुले नै संघर्ष गर्नु पर्ने उनको भनाई छ ।

‘अब महिलाहरु आर्थिक रुपमा सबल हुनैपर्छ, अरु विकल्पै छैन । अहिले पनि कतिपय महिलाहरु घरेलु हिंसामा पीडित भएको सुनिरहेका हुन्छौं, आर्थिक रुपमा सबल नभएको कारणले नै महिलाहरु हेपिनु परेको हो, त्यसैले महिलाहरु पनि आर्थिक रुपमा सबल हुनै पर्छ, त्यसको लागि संघर्ष गर्नै पर्छ, संघर्ष गरेपछि अवश्य पनि सफल भइन्छ, पोजेटिभ थिङ्किङसँगै म गर्न सक्छु भन्ने भावना हुनु पर्छ,’ उनले भनिन् ।

वित्तीय संस्थामा २ दशक पार गरेकी ढकालले विभिन्न समयमा विभिन्न ठाउँका महिलाहरुसँग छलफल गर्न पाएको अवसर सुनाउँदै उनी भन्छिन्, ‘जीवनमा मान्छेलाई चान्स भनेको एकपटक मात्रै आउँछ, त्यो चान्स जतिबेला आएको छ, त्यसलाई गेन गर्न सकिएन भने पछि परिन्छ ।’

अब सीईओ बन्ने, संस्थालाई नम्बर वान बनाउने

ढकालले लघुवित्तको क्षेत्रमा दुई दशक पार गरिसकेकी छिन् । उनलाई यही क्षेत्रमा रहेर सामाजिक काम गर्न अझै पनि रहर छ । उनले अब आफ्नो सीईओ बन्ने लक्ष्य भएको सुनाइन् ।

‘म शुरुवात देखिनै सामाजिक क्षेत्रमा लागेको मान्छे, अबको जीवन पनि सामाजिक क्षेत्रमै बिताउँछु, मेरो श्रीमानलाई सीईओ बनाउने सपना थियो, त्यो पुरा गरें, अबको लक्ष्य भनेको आफु पनि कुनै संस्थाको सीईओ बन्ने नै हो, यसमा सरको फुल सर्पोट पाएको छु, उक्त सपना पुरा गर्न पनि सक्छु,’ उनले आफ्नो योजना सुनाइन् ।

यस्तै, उनले हाल आवद्ध संस्था साधना लघुवित्तलाई नम्बर वान बनाउने योजना रहेको सुनाइन् । ‘पिछडीएका महिलाहरुको जीवनमा आर्थिक सर्पोट गर्ने र यही साधनालाई नेपालको नम्बर वान माइक्रोफाइनान्स बनाउने लक्ष्य छ, साधनाको नामसँग मेरो नाम जोडिएको छ, करियर जोडिएको छ, यहाँको कर्मचारी नभई करियर सोचेर यो संस्थालाई एकदमै स्ट्रङ बनाउने र साधनाकै सीईओ बनेर संस्थालाई लघुवित्त क्षेत्रमध्येकै नम्बर वान बनाउने मेरो इच्छा छ,’ उनले भनिन् ।

Share News