इच्छाराजले अजय सुमार्गीलाई १ अर्ब २५ करोडमै बेचेका हुन् ‘सिभिल लक्जरी’ ? बैंकिङ च्यानलमा देखिएन

<p>काठमाडौं । सिभिल बैंक र सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङले व्यवसायी अजयराज सुमार्गीलाइ ‘सिभिल लक्जरी रेसिडेन्सी’ बिक्री गर्दा बैंकिङ करोबार नभएको देखिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान टोलीले तामाङमाथि अनुसन्धान गर्दा उनले सो रेसिडेन्सी व्यवसायी सुमार्गीलाई बिक्री गर्दा बैंकिङ च्यानलमार्फत कारोबार नभएको देखिएको हो । सिभिल बचत तथा ऋण [&hellip;]</p>

काठमाडौं । सिभिल बैंक र सिभिल बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङले व्यवसायी अजयराज सुमार्गीलाइ ‘सिभिल लक्जरी रेसिडेन्सी’ बिक्री गर्दा बैंकिङ करोबार नभएको देखिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान टोलीले तामाङमाथि अनुसन्धान गर्दा उनले सो रेसिडेन्सी व्यवसायी सुमार्गीलाई बिक्री गर्दा बैंकिङ च्यानलमार्फत कारोबार नभएको देखिएको हो ।

सिभिल बचत तथा ऋण सहकारी संस्थाको बचतकर्ताको रकम हिनामिना तथा फिर्ता नगरेको आरोपमा थुनामा रहेका तामाङमाथि विभागको अनुसन्धान टोलीले अनुसन्धान गर्दा सो विषय फेला पारेको हो ।

‘आर्थिक संकट भएको भन्दै तामाङले १ अर्ब २५ करोड रुपैयाँमा सीटीसी मल पछाडि निर्माणाधीन अवस्थामा रहेको ‘सिभिल लक्जरी रेसिडेन्सी’ बिक्री गरेको देखियो तर, सो रकम बैकिङ च्यानलमार्फत भएको देखिँदैन, यसमा केही गडबड हुन सक्ने हाम्रो अनुमान छ,’ तामाङको अुसन्धानमा खटिएका एक अनुसन्धान अधिकारीले भने ।

ती अनुसन्धान अधिकारीका अनुसार सो रेसिडेन्सी मुक्तीश्री हस्पिटालिटीलाई बिक्री गरेको देखिएको छ । सो कम्पनी व्यवसायी अजय सुमार्गीका नाममा दर्ता छ । उनीहरुले सो रेसिडेन्सी कम मूल्यमा खरिदबिक्री गरी कर छलेको हुन सक्ने विभागको आशंका छ । तामाङमाथि अनुसन्धान भइरहेको छ ।

सुरुमै साढे ३ अर्ब रुपैयाँ लगानी लाग्ने बताउँदै आएका तामाङले निर्माण सम्पन्न नहुँदै बिक्री गरेका थिए । विभिन्न कम्पनीहरुले सो रेसिडेन्सी खरिद गर्न इच्छुक भएता पनि अन्तिममा सुमार्गीलाई कम मूल्यमा किन बिक्री गरे भन्ने विभागको चासोको विषय बनेको छ ।

उसो त यसअघि पनि सिभिल लक्जरी अपार्टमेन्ट खरिदबिक्री गर्दा करोडौँ रुपैयाँ पुँजीगत लाभकर छली भएको विषय उठेको थियो । तर, कुनै पनि निकायले त्यसतर्फ ध्यान दिएको थिएन । डिल्लीबजार मालपोत कार्यालयबाट रजिष्ट्रेसन पास गर्दा कारोबार मूल्य लुकाएर १० करोड बढी करछली गरेको हुन सक्ने ती अनुसन्धान अधिकारीको भनाई छ । तथापि विभागले सो विषयमा अनुसन्धान गर्न भने बाँकी नै छ ।

‘१ अर्ब २५ करोड रुपैयाँमा खरिद बिक्री भएको भएपनि त्यो सबै रकम बैंकिङ च्यानलमार्फत आएको छैन, त्यसले पनि झन शंका उत्पन्न गराएको छ, खरिद गरेको भनिएकोमध्ये पनि ७०/८० करोड रुपैयाँ मात्रै बैंकिङ च्यानलमा आएको छ,’ यस विषयमा पनि हामी अनुसन्धान गर्दैछौं,’ स्रोतले भन्यो ।

बढीमा खरिद बिक्री गरेर राजश्व कम तिर्नैका लागि यस्तो गरेको हुन सक्ने स्रोतको भनाई छ ।

सिभिल लक्जरी रेसिडेन्सी वेवारिसे

तामाङले व्यवसायी सुमार्गीलाई बिक्री गरेको एक वर्ष भइसक्दा पनि अहिले सिभिल लक्जरी रेसिडेन्सी वेवारिसे अवस्थामा छ । ११ तलेको सो भवनको निर्माण रोकिएको छ । अहिले झट्ट हेर्दा सो भवन वेवारिसे जस्तै देखिन्छ ।

सिभिल ग्रुपले सुरुमा ३ अर्ब ५० करोड रुपैयाँ लगानीमा सिभिल होटल संचालनमा ल्याउने योजनाका साथ सुरु गरेको थियो । २ सय २५ बेड क्षमताको होटल सञ्चालन गर्ने उद्धेश्यले सुरु भएको निर्माण कार्य पूरा नहुँदै बिक्री गर्नु परेको तामाङको बयान छ । सो रेसिडेन्सीको क्षेत्रफल ६ रोपनी रहेको बुझिएको छ ।

विभागले सो विषयमा पनि छलफल गरिरहेको स्रोतको भनाई छ । गत साता मात्रै विभागले तामाङको लगानी रहेको एउटा हाउजिङ भेटाएको थियो । अझै उनको सम्पत्ति कति छ भनेर विभागको अनुसन्धान टोलीले खोजिरहेको छ ।

सिभिल बचत तथा ऋण सहकारी संस्थामार्फत बचतकर्ताको रकम फिर्ता नगरेको आरोपमा प्रहरीले गत असोजमा १८ मा तामाङलाई पक्राउ गरेको थियाे । उनी आवद्ध सहकारीले २ हजारभन्दा बढी बचतकर्ताको करिब साढे ७ अर्ब रुपैयाँ फिर्ता नगरेको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेका थियाे । अहिले उनी थुनामा नै छन् । उनकी श्रीमती, छोरी र सहकारीका कर्मचारीहरु अहिले फरार छन् ।

Share News