हामी मध्ये धेरै घमण्डी छौं । यस्तो त नलेखेको भए पनि हुन्थ्यो नी यसले भन्नुहोला यो तपाईंको मनको कुरा हो । तर, मेरो भोगाई र अनुभवले यही नै देखाउँछ । तसर्थ जे देखें जे अनुभव गरें त्यही लेखे रिसानी माफ होस् ।
१९५८ मा माओत्से तुङ ले ५ वर्ष माथिका सबै जनतालाई देशैभरबाट भँगेरा उन्मूलन गर्न उर्दी लगाए । भँगेराले धान खाएर धानको उत्पादन कम भयो भनेर माओत्से तुङले अर्डर दिएपछि सबै जनता मिलेर भँगेरालाई उन्मुलन गराए तर भँगेरा उन्मुलन भएकै वर्षमा धान उत्पादनमा कमी आयो । आफुले गरेको निर्णय गरकै वर्षमा धान उत्पादन कमी भयो । त्यसपछि माओले कृषि विज्ञहरु बोलाई अनुसन्धान गराए र अन्त्यमा कृषि विज्ञहरुले माओलाई भँगेरामा आएको कमिका कारण धान उत्पादन कम भएको बताए ।
भँगेराले धान खाने कीरालाई नी आफनो आहारा बनाई खाँदो रहेछ भन्ने विज्ञहरुबाट थाहा पाएपछि उनले रुसबाट भँगेरा झीकाई आफनै देशमा भँगेराको उत्पादन गर्ने कार्यलाई तिब्रता दिएका थिए । तर माओ नमुरेन्जेलसम्म भँगेराहरु हानिकारक होईन रहेछन भनेर जानकारी पनि जनतालाई दिइएन ।
हामीहरुले ईतिहास पढ्यौं । घरमा बस्दा बाउ बाजेले भन्ने र प्रयोग गर्ने शब्दहरु सुन्यौं । हामी त हिग नभए नी हिग बाधेको टालो हो, कार्यालयको हाकीम पो हो त, विर गोर्खाली पो हौं त, फलानाका सन्तान पो हौं त, फलानो पार्टीको पो हौं त भन्ने घमण्डले म को हो भनेर आफुले आफुलाई चिन्न छाडीसकेका छौं । सबै कुरा मैले भनेकै हुनुपर्छ, मैले मात्र जानेको छु र अन्तिम सत्य पनि यही हो भनेर भनिरहँदा मभन्दा बाहिर पनि विचारहरु र सत्यहरु छन जुन मैले पनि आत्मसाथ गर्नु पर्छ भन्ने सोच्ने बानीको विकास हामीले कहिल्यै गरेनौं । जे जती कामहरु भएका छन् ती सबै कामहरु मेरै कारण र मैले नै गर्दा भएको हो । म नभए त कहाँ यस्तो हुन्थो र ति कामहरु भन्ने सोचको विकासका कारण घमण्ड बढेको छ । खाली मेरै कारण भन्ने र अरुको केही पनि अर्थ नै छैन जसरी हामीले आफुले आफुलाई विकास गरिरहेका छौं ।
सधैं घरको पूजाकोठामा बालीने बत्तीले सधैं आफ्नो उज्यालोको प्रशांसा गर्थियाे । र छेउमै बलेको अगरबत्तीलाई आफ्नो प्रसंशा गर्दै भन्थ्यो, मैले गर्दा त तिमी देखिएका छौ नत्र तिमी कहाँ देखीन्थ्यौ र मैले गर्दा तिम्रो भाउ बढाईदिएको छु, अन्धकार हटाएको छु जसका कारण तिमीलाई पनि मानिसहरुले देखिरहेका छन भन्दै अगरबत्तीलाई हरेक हिसाबमा कमजोर देखाई हेपीरहन्थ्यो ।
तर अगरबत्ति सुनेर मुस्कुराइ रहन्थ्यो एक दिन पुजा पश्चात पुजारीले ढोका बन्द गर्न बिर्सीएछन र सानो हावाले बत्तीलाई निभायो र पुजा कोठा अन्धकार छायो र अगरबत्तिले नम्र हुँदै मुख खोलेर भन्यो, ‘हावाको सानो झोकले तिमीलाई सिध्याइदियो तर म त्यहि हावाको माध्यमबाट चारैतिर मीठो सुगन्ध छरिरहेको छु । तिमीले उज्यालो पारिरहँदा मैले पनि त सुगन्ध छरिरहेको थिए तर मैले कहिल्यै आफुले आफुमा घमण्ड गरिन ।’ यो कथाकाे साराशं पनि यहि हो की हामी सबै एक अर्काका परिपुरक हाैं । हामी एकले अर्काको महत्व बढाईरहेका छौ भन्ने जान्न जरुरी छ । खाली अरुलाई दोष थुपार्ने र आफु चाँहि दुधले नुहाएको जस्तो गर्ने हामीहरुको दैनिकी छ ।
कर्मलाईभन्दा धर्मलाई बढि विश्वास गर्ने हामी मन्दिरमा लाईनमा बसेर पुजा अर्चना गरी भगवानका विचारलाई आत्मसाथ गर्दै गर्दा जीवनको प्रगति पनि लाईनमा बसी अनुसासित भई अरुको भावनालाई कदर गर्दै जिवनमा कर्म गर्नुपर्दछ भन्ने कुराको ख्याल गर्न जरुरी छ जसले आफु र समाज दुवैलाई अगाडी बढाउन सहयोग गर्दछ ।