सीसीएमसीसीको सिफारिसमा विद्यालय सञ्चालकको असहमति, भन्छन्ः विकल्प बिनै हतारियो सरकार

<p>काठमाडौं । विद्यालय सञ्चालकहरुले सरकार विद्यालय बन्द गर्न हतारिएको आरोप लगाएका छन् । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसमा असहमति जनाउँदै विद्यालय सञ्चालकहरुले सरकारले विकल्प नै नखोजि हतारिएर विद्यालय बन्दको सिफारिस गरेको बताएका छन् । आईतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि माघ १५ गतेसम्म विद्यालयमा हिउँदे बिदा दिन [&hellip;]</p>

काठमाडौं । विद्यालय सञ्चालकहरुले सरकार विद्यालय बन्द गर्न हतारिएको आरोप लगाएका छन् । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसमा असहमति जनाउँदै विद्यालय सञ्चालकहरुले सरकारले विकल्प नै नखोजि हतारिएर विद्यालय बन्दको सिफारिस गरेको बताएका छन् ।

आईतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि माघ १५ गतेसम्म विद्यालयमा हिउँदे बिदा दिन सिफारिस गरेको थियो । बैठकले देशभरिका १० कक्षासम्मका विद्यालयमा माघ १५ सम्म हिउँदे बिदा दिन संघीय मामिला मन्त्रालयलाई सिफारिस गरेको थियो ।

यता विद्यालय सञ्चालकहरु भने त्यसमा असन्तुष्ट देखिन्छन् । सरकारले १३ वर्षभन्दा माथिका बालबालिकालाई कोरोना विरुद्धको खोप वितरण गर्न सुरु गरेको समयमा नै विद्यालय बन्दको सिफारिस हुँदा सरकार सरकार बीच नै समन्वय नपुगेको उनीहरुको भनाई छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन, नेपाल (एनप्याब्सन) र निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) का अधिकारीहरुले अन्य विकल्पको खोजि नै नगरी सरकार विद्यालय बन्द गर्न हतारिएको बताए ।

एनप्याब्सनका अध्यक्ष रितुराज सापकोटा कोरोना विरुद्धको खोप अभियान सञ्चालन भएको समयमा नै विद्यालय बन्दको सिफारिस हुँदा विद्यार्थीहरु खोप पाउनबाट बन्चित हुने अवस्था देखिएको बताउँछन् ।

‘सरकारले नै १३ वर्षमाथिका सबै विद्यार्थीलाई खोप लगाउने भनेर विद्यालयबाट विद्यार्थीको तथ्यांक लगेको छ । तथ्यांक लगेपछि यही समयमा विद्यालय बन्द गर्न सिफारिस हुँदा विद्यार्थीलाई कसरी खोप लगाउने । काठमाडौं उपत्यकामा त भरखर खोप अभियान सुरु भएको छ, विकटका जिल्लामा अझै खोप पुगेको छैन्’, उनले भने, ‘शिक्षा मन्त्रालयबाट हामीलाई केही जानकारी आएको छैन, सिफारिस भएको भन्ने मैले पनि सुनेको छु, अब विद्यार्थीलाई कसरी खोप लगाउने भन्ने अन्योल बढेको छ ।’

प्याब्सनका अध्यक्ष टीकाराम पुरी विद्यालय बन्द गर्न सरकार हतारिएको बताउँछन् ।

‘नेपालमा पटक पटक कोरोना संक्रमितहरु बढ्ने र घट्ने भएको छ । फेरी पनि कोरोना फर्किन्छ र सावधानि अपनाउनुपर्छ भन्ने तर्फ सरकारले ध्यान नै दिएन’, उनले भने, ‘अहिलेसम्म विद्यार्थीले खोप पाएका छैनन्, खोप छ तर सिरिन्ज नभएर वितरणमा समस्या भयो भनिएको छ, हाम्रो माग विद्यालय बन्द भन्दा पछि विद्यार्थीलाई खोप दिनुपर्छ भन्ने हो ।’

सरकारले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सिफारिस गरेको समयभित्र सम्पूर्ण विद्यार्थीलाई खोपको व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए । सरकारले विद्यालय बन्द गर्ने बाहेक अन्य सावधानिहरुको खोजी गर्नुपथ्र्याे गरेन, समस्या पर्नासाथ बन्दभन्दा अरु विकल्पको खोजि नहुँदा विद्यार्थी मारमा परे’, उनले भने ।

उनले निजी विद्यालयले स्वास्थ्यका सम्पूर्ण सावधानिहरु अपनाएको भन्दै सरकारी तर्फबाट हुनेपर्ने कुनै काम नभएको आरोप लगाए ।
‘कोरोना संक्रमितकोे संख्यामा बढ्दै गयो भने विकल्प भनेकै विद्यालय बन्द गर्नु हो । बालबच्चाको स्वास्थ्यमा खेलवाड नगरी विद्यालय बन्द गर्नुपर्छ तर सरकारले अन्य केही काम नगरी बन्द मात्र गर्ने गरेको छ’, उनले भने ।

उनले सरकारले खोप दिएमा विद्यालय बन्द भएपनि खोपको व्यवस्थापन प्याब्सनले गर्ने बताए ।

Share News