किसानलाई नक्कली बीउ दिएको काष्ठमण्डप ट्रेडले पौने २ करोड क्षतिपूर्ति तिर्दै, कुन ठाउँमा कहिले वितरण ?

<p>काठमाडौं । धानमा दाना नलागेर पीडित बनेका काठमाडौं उपत्यकाका तीन जिल्लाका किसानलाई बीउ आयातकर्ता कम्पनीले राहत दिने तयारी थालेको छ । चीनियाँ डीआई २८ जातको हाइब्रिड धानको बीउ आयात गर्न अनुमति पाएको काष्टमण्डप ट्रेड पोइन्टबाट तीन जिल्लाका किसानलाई क्षतिपूर्ति भराउने सरकारले निर्णय अनुसार आयातकर्ता कम्पनीले क्षतिपूर्ति दिन लागेको हो । कम्पनीले ७ हजार ७ सय [&hellip;]</p>

काठमाडौं । धानमा दाना नलागेर पीडित बनेका काठमाडौं उपत्यकाका तीन जिल्लाका किसानलाई बीउ आयातकर्ता कम्पनीले राहत दिने तयारी थालेको छ ।

चीनियाँ डीआई २८ जातको हाइब्रिड धानको बीउ आयात गर्न अनुमति पाएको काष्टमण्डप ट्रेड पोइन्टबाट तीन जिल्लाका किसानलाई क्षतिपूर्ति भराउने सरकारले निर्णय अनुसार आयातकर्ता कम्पनीले क्षतिपूर्ति दिन लागेको हो ।

कम्पनीले ७ हजार ७ सय रोपनी क्षेत्रफलमा लगाइएको धानको प्रतिरोपनी २ हजार २५० रुपैयाँको दरले क्षतिपूर्ति दिन लागेको हो ।

गत मंसिर १ गते धानमा बाला नलागेका किसानलाई बीउ आयातकर्ता कम्पनीले नै क्षतिपूर्ति भुक्तानी गर्न बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र काठमाडौंले निर्णय गरेको थियो ।

बीउ बिजनको प्रयोगबाट हुने हानी नोक्सानीको क्षतिपूर्तिसम्बन्धी निर्देशिका–२०७३ अनुसार सरकारले किसानलाई क्षतिपूर्ति दिलाउन पहल गरेको हो । ऐनअनुसार गलत बीउ बिक्रीका कारण किसानलाई हानी नोक्सानी पुगे बिक्रेतालाई क्षतिपूर्ति भराउने व्यवस्था छ ।

प्रारम्भीक डाटा अनुसार भक्तपुरको चाँगुनारायण ६, सूर्यविनायक ४ र ७, ललितपुर तथा काठमाडौंको बूढानीलकण्ठ, गोकर्णेश्वर तथा कीर्तिपुर लगायतका स्थानका किसानले लगाएको धानमा यस वर्ष बाला नलागेको पाइएको कृषि ज्ञान केन्द्र ललितपुरले जनाएको छ ।

केन्द्रका प्रमुख कृष्णभद्र अधिकारीका अनुसार भित्रि मधेशको समुद्री सतहबाट ७ सय मिटरसम्मका लागि सिफारिस गरिएको धान किसान र बीउ बिक्रेताको असावधानीका कारण काठमाडौं उपत्यकामा लगाइएको पाइएको थियो नेपाल कृषि अनुसन्धान परिषद् नार्कको प्रारम्भिक अनुसन्धानमा पाइएको थियो ।

‘हामीले पिडित किसानलाई पहिचान खुलाउने नागरिकताको प्रतिलिपी, जग्गाधनी प्रमाणपत्र, बीउ खरिद भएको एग्रोभेट बिक्रेताको नाम, ठेनामा र खरिद भएको बिल लगायत पेश गर्न आग्रह गर्दै सूचना जारी गरेका थियौँ । पिडित किसाले बुझाएको विवरण अनुसार तीन जिल्लामा ७ हजार ७ सय रोपनी जग्गामा लगाइएको धानमा बाला नलागेको पाइयो’, उनले भने, ‘किसानले दिएको विवरणका आधारमा हामीले बीउ आयातकर्ता कम्पनीका सहयोगमा भोलीबाट क्षतिपूर्ति रकम वितरण सुरु गछौँ ।’

बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्रले धानमा बाला नलागेर क्षति भोगेका किसानको एक रोपनी खेतमा १९५ किलो धान उत्पादन हुने अनुमानका आधारमा क्षतिपूर्ति रकम २ हजार २५० रुपैयाँ निर्धारण गरिएको जनाएको छ ।

केन्द्रले एक रोपनी खेतमा १९५ किलो धान फल्ने आधारमा सोको मूल्य ४ हजार पाँच सयको ५० प्रतिशत किसानलाई राहत दिन निर्णय गरिएको जनाएको हो ।
सरकारले किसानसँग छलफल नै नगरी क्षतिपूर्ति रकम निर्धारण गरेको भन्दै पिडित किसानले विरोध गरेका छन् ।

किसानहरुले काँठ क्षेत्रमा हाइब्रिड जातको धान लगाउँदा एक रोपनीमा मात्रै ८ देखि ९ मुरी र टाइचिन लगाए ६ मुरी धान फल्ने दाबी गरेका छन् । उनीहरुले मुरीलाई किलोमा हिसाब गर्दा प्रतिरोपनी ५ सयसम्म धान फल्ने अनुमान गरेका थिए ।

कहिले हुन्छ क्षतिपूर्ति रकम वितरण ?

कृषि ज्ञान केन्द्रले तीन जिल्लाका विभिन्न स्थानका किसानलाई क्षतिपूर्ति रकम वितरण गर्न मिति नै तोकेको छ । केन्द्रले तोकेको मिति अनुसार काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाबाट सुरु गर्ने जनाएको छ ।

काठमाडौँको बुढानिलकण्ठ नगरपालिकाका किसानलाई पुस १२ गते, किर्तिपुर नगरपालिकाका किसानलाई पुस १३ गते, चन्द्रागिरी नगरपालिकाका किसानलाई पुस १४ गते, गोकर्णेश्वर कागेश्वरी मनोहरा नगरपालिकाका किसानलाई १६ गते , शंखरापुर नगरपालिकाका किसानलाई पुस १८ र १९ गते तथा टोखा नगरपालिकाका किसानलाई २० र २१ गते राहत रकम वितरण गरिने गर्नेछ ।

यस्तै, ललितपुर जिल्ला अन्तरगत ललितपुर महानगरपालिकाका किसानलाई पुस २२ र २३, गोदावरी नगरपालिकाका किसानलाई पुस २५ देखि २७ तथा महालक्ष्मी नगरपालिकाका किसानलाई पुस २८ र २९ गते राहत वितरण गर्ने भएको हो ।

भक्तपुर तर्फ चाँगुनारायण नगरपालिकाका किसानलाई माघ २ देखि ५ गते, सूर्यविनायक मध्यपुर थिमी नगरपालिकाका किसानलाई माघ ६ देखि ११ गते राहत वितरण गरिने छ ।

Share News