
सांकेतिक तस्वीर
काठमाडौं । काठमाडौं महानगरले काठमाडौंको टेकुमा बहुतले स्मार्ट सवारी पार्किङ बनाउने तयारी गरेको छ । महानगरले आफ्नै स्वामित्वमा रहेको ७ रोपनी जग्गामा बहुतले पार्किङ स्थल बनाउने तयारी अगाडि बढाएको हो ।
स्मार्ट सवारी साधन पार्किङ निर्माण गर्नको लागि महानगरले अहिले बोलपत्र आव्हान गरेको छ । टेकु, त्रिपुरेश्वर, न्यूरोड क्षेत्रको अनियन्त्रित तथा अस्तव्यस्थ पार्किङलाई व्यवस्थित बनाउनका लागि महानगरले आफ्नै जग्गामा सवारी पार्किङ बनाउने योजना बनाएर काम अगाडि बढाएको महानगरका भौतिक विकास विभागका प्रमुख राम थापाले बताए ।
उनका अनुसार काठमाडौं महानगरपालिकाले काठमाडौंको विभिन्न ठाउँमा सवारी साधन पार्किङ स्थल बनाउने योजना बनाए पनि जग्गा अभाव, योजना अनुसारको जग्गा नपाइने लगायतका कारणले सवारी पार्किङ निर्माण हुन नसकेको बताए ।
उनका अनुसार बहुतले स्मार्ट सवारी पार्किङ ७० करोड रुपैयाँ लागतमा बन्नेछ । उनले २ वर्षमा स्मार्ट सवारी पार्किङको काम सक्ने महानगरको योजना रहेको बताए ।
कस्तो बन्दैछ स्मार्ट पार्किङ ?
अहिले काठमाडौंमा बहुतले स्मार्ट पार्किङको निर्माण गर्ने क्रम बढेको छ । केही दिन अगाडि मात्रै भाटभटेनीले नेपालको पहिलो स्मार्ट पार्किङ निर्माण सम्पन्न गरेको छ भने अन्य निजी कम्पनीहरुले पनि बनाउने तयारी गरिरहेका छन् ।
‘काठमाडौं महानगरपालिकाले पनि ६ तलेको स्मार्ट पार्किङ निर्माण गर्नेछ, अहिले काठमाडौंमा पार्किङको राम्रो सुविधा नै छैन, टेकु, त्रिपुरेश्वर, न्यूरोड लगायतका ठाउँमा भइरहेको अव्यवस्थित पार्किङलाई व्यवस्थित बनाउन महानगरले यो पहल गरेको हो, यो पार्किङ बनेपछि केही मात्रामा भएपनि अव्यवस्थित पार्किङ केही सहज हुनेछ,’ थापाले विकासन्युजसँग भने ।
उनका अनुसार पार्किङमा साढे ३ सय वटा गाडी र ६ सयभन्दा बढी मोटरसाइकल पार्किङ गर्न सकिनेछ । सवारी साधन पार्किङ गर्न सहज गर्नका लागि लिफ्टको पनि सुविधा हुनेछ । लिफ्ट मार्फत नै गाडी चढाउने सकिनेछ । बिचैमा बिजुली गए पनि सवारी साधन पार्किङमा बाधा नहोस् भन्नका लागि र्याम पनि निर्माण गरिने उनले बताए ।
उनले पार्किङ स्थल निर्माण भइसकेपछि काठमाडौं महानगरले सेवाग्राहीबाट पैसा उठाउनेछ । तर, शुल्क भने हालसम्म तोकेको छैन । महानगरले लैनचौरमा पनि पार्किङ बनाउने तयारी गरिरहेको उनको भनाई छ ।