संचयकोषले जग्गा किन्न ५० लाखसम्म सापटी दिने, व्याजदर ७.९ प्रतिशत

<p>काठमाडौं । कर्मचारी संचयकोषले संचयकर्तालाई जग्गा खरिद गर्न पनि सापटी दिने भएको छ । यसअघि नयाँ घर किन्न तथा बनाउनेका लागि मात्रै सापटी दिने गरेको कोषले अबदेखि भने जग्गा किन्न पनि सापटी दिने भएको हो । कोषको केही दिन अघि बसेको संचालक समिति बैठकले संचयकर्ता सापटी कार्यविधि संशोधन गर्दै जग्गा खरिद गर्नको लागि पनि सापटी [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । कर्मचारी संचयकोषले संचयकर्तालाई जग्गा खरिद गर्न पनि सापटी दिने भएको छ । यसअघि नयाँ घर किन्न तथा बनाउनेका लागि मात्रै सापटी दिने गरेको कोषले अबदेखि भने जग्गा किन्न पनि सापटी दिने भएको हो ।

कोषको केही दिन अघि बसेको संचालक समिति बैठकले संचयकर्ता सापटी कार्यविधि संशोधन गर्दै जग्गा खरिद गर्नको लागि पनि सापटी दिने बाटो खुल्ला गरेको हो । कोषले दिने सापटी कोषका संचयकर्ताको लागि मात्रै हो ।

एक बर्ष नियमित कोष कट्टी गरेका र उमेर वा पदावधिको आधारमा २ बर्ष सेवा बाँकी रहेका संचयकर्तालाई जग्गा खरिद गर्न सापटी दिन लागिएको कोष स्रोतले जानकारी दियो ।

जग्गा खरिद गर्नको लागि सापटी दिन योग्य संचयकर्तालाई १० वर्ष अवधिको तलब वा ५० लाख रुपैयाँसम्मको सापटी दिइने कोषले जानकारी दियो । यसरी किनिएको जग्गा भने संचय कोषमा धितोको रुपमा राखिनेछ ।

‘खरिद गर्न खोजिएको जग्गा पास गर्नेुअघि नै संचयकर्ताले हामीलाई आवश्यक कागजपत्रसहित जानकारी गराउनु पर्नेछ, कोषले सापटी दिनको लागि आवश्यक प्रक्रिया पूरा गरेपछि जग्गा विक्री गर्ने व्यक्ति वा कम्पनीलाई हामीले दिने सापटी बराबरको रकम दिने भनेर पत्र दिन्छौं, त्यही पत्रका आधारमा जग्गा पास गर्न मिल्छ, संचयकर्ताको नाममा जग्गा आइसकेपछि जग्गा विक्री गर्ने व्यक्तिलाई हामीले भुक्तानी गरिदिन्छौं,’ कोष स्रोतले भन्यो ।

कोषले संचयकर्तालाई घर खरिद गर्नको लागि दिने सापटीमा पनि यही विधि अपनाउँदै आएको छ ।

कोषबाट लिइएको सापटी रकम भुक्तानी अवधि भने १० वर्षको हुनेछ । सापटी भुक्तानीको लागि वार्षिक वा तीन तीन महिनामा किस्ता बुझाउन सकिनेछ । यस्तो सापटीको व्याजदर अहिले वार्षिक ७.९ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाले दिने कर्जाको व्याजदर दोहोरो अंकमा पुगेको अहिलेको अवस्थामा कोषले दिने सापटी रकमको व्याजदर निकै कम हो ।

Share News